एकैपटक दुई सचिव अनिवार्य अवकाशमा

१७ दिन अघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएका अर्जुन जङ्ग थापाले अनिवार्य अवकाश पाएका छन् । २४ आश्विन २०८० मा सचिव बढुवा भएका थापा ११ गते ५८ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मी पनि ५८ वर्षे उमेर हदका कारण कार्तिक ११ गतेदेखि अनिवार्य अवकाश पाएका छन्।
Advertisement 1
सचिव रेग्मी निजामती प्रशासनमा चीर परिचित नाम हो । उनी लेखक र गीतकार पनि हुन् । उनले त्रि. वि. वि. वाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । छिन्ह्वा विश्व विद्यालय बेजिंग अन्तर्राष्ट्रिय जनप्रशासनमा स्नातकोत्तर र अन्नामलाइ विश्व विद्यालय भारतवाट मूल्य शिक्षा र आध्यात्मिकतामा एम एस्सी गरेका छन् । उनले कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता विषयमा पी एच डी उपाधि हासिल गरेका छन् । संघीयता विज्ञ, कुशल प्रशासक रेग्मीले दर्जनौ पुस्तक र एक हजार भन्दा बढी लेखहरु प्रकाशन गरिरसकेका छन् । उनी जुन निकायमा कार्यरत रहन्छन् त्यहा केही न केही सुधारका संकेत देखिने गर्दछ र त्यसले सकारात्मक परिणाम पनि दिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख बन्दा लामो समयदेखि सुल्झन नसकेको र स्वास्थ्य सेवाको कर्मचारी समायोजन टुंग्याउने काम गरे । त्यहाँ रहँदा सरुवा र समायोजनमा अनलाईन प्रविधिको प्रयोगबाट सेवाग्राही काठमाण्डौ आउनु पर्ने हैरानी समाप्त भएको,रेग्मीकै अग्रसरतामा निजामती कर्मचारीहरुको विद्युतीय अभिलेख प्रणालीको विकास भएको हो भने,कम्पनी रजिस्टारको कार्यालयमा विद्युतीय अभिलेख प्रणालीको विकास र सुधारका चारखम्वे रणनीतिको कार्यान्वयन भएको थियो । उनी भन्सार विभागमा रहदा चीन तर्फका नाकाहरुको स्तरोन्नति र थप नाका खोल्ने वारेमा ल्हासा भन्सार संग सहमति बन्यो । यस्तै सम्पत्ती शुध्दीकरण अनुसन्धान विभागमा रहदा लामो समय अनिर्णित छानवीनहरुलाइ अन्तिम रुप दिइ मुद्दा दायर, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहदा तालिमको स्तर र प्रभावकारितामा वृध्दि तथा तालिम केन्द्रले आइएसओ प्रमाणपत्र प्राप्त गर्न पहल गरि प्रमाणपत्र प्राप्त गर्यो ।
युवा तथा खेलकुद मन्त्रालयमा रहदा युवा तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण काम गरेका थिए भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा रहदा बैज्ञानिक भूस्वामित्व को लागि भूमि बैंक र भूमि बजारको अवधारणाले राम्रै छलफल पाएको थियो । बेलावखत अर्थ सचिवको संभावित नामहरुमा उनको नाम पनि आउने गर्दछ तर सरुवाको लागि भनसुन नगर्ने र कसैको घरदैलो नचाहर्ने केही सीमित प्रशासकको कोटिमा उनि पनि पर्दछन् । सकभर कोही पनि सार्वजनिक खरिद अनुगमन कार्यालयमा जान चाहदैनन तर उनी यसपटक आफै चाहना राखेर उक्त कार्यालयमा सरुवा भएर गएका थिए ।
Advertisement 2
यससँगै रिक्त हुन पुगेका दुई सचिवका लागि पनि आज सिफारिस भई सकिएको छ ।