‘लोकसेवा गुरु’को महापतन

भनिन्छ वेइमान र भ्रष्टाचारबाट आर्जित धनले ११ बर्षसम्म मोजमस्ती गर्न सकिएला र १२ बर्ष लागेपछि साउँ व्याजसहित भुक्तान गर्नुपर्दछ ।
यस्तै वेइमानबाट सम्पत्ति आर्जन गरेर बदनामी कमाएका पूर्व सहसचिव,जस्ले लेखेका पुस्तक पढेर वा घोकेरै धेरैले निजामती सेवामा नाम समेत निकालेका छन्,उनै लोकसेवाको गुरु चुडामणि शर्मा अहिले सावा र व्याज नै फिर्ता गर्नुपर्ने स्थितीमा पुगेका छन् ।

Advertisement 1

लोकसेवाको गुरुको रुपमा चिनिएका पूर्व सहसचिव चुडामणि शर्मालाई विशेष अदालतले फैसला सुनाएको छ,९ बर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना ।विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले राजस्व चुहावट मुद्दामा तत्कालीन अध्यक्ष लुम्बध्वज महत तथा सदस्यहरू चुडामणि शर्मा र उमेशप्रसाद ढकाललाई दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो ।

जसअनुसार महत र शर्मालाई ९ वर्ष तथा ढकाललाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ भने तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवानाको फैसला भएको छ । राजश्व चुहावटको मुद्धाको यो अहिलेसम्मकै ठूलो सजाय हो । राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने प्रावधान रहेको छ । सो अनुसार उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।
३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका हुन् । शर्मा यस अघि आन्तरिक राजश्व विभागको महानिर्देशक थिए । सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए ।

निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धीमाझ पुस्तक लेखकका रुपमा परिचित शर्माको विगत पनि राम्रो रहेन ।सुनसरीको प्रजिअ हुँदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशिल कालोबजारी मुद्दामा मिलेमतोमा मुछिए । ललितपुरको सिडिओ हुँदा गैरकानूनी रुपमा ढुंगाखानी सञ्चालनको अनुमती दिने निर्णयका कारण विवादमा तानिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीदेखि सम्पत्ति शुद्धीकरणको हाकिम भएर जहाँ जहाँ बसे,त्यही विवादमा फसे ।सम्पत्ति शुद्धीकरणमा रहँदा अधिकृत शम्भु चालिसे १० लाख रुपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडियो । आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेपछि शर्मा ३३ अर्ब रुपैयाँ पुजीगत लाभकर छली गरेको दुरसंचार कम्पनी एनसेललाई उन्मुक्ति दिन पनि मुख्य भुमिका निर्वाह गरेका आरोप लाग्दै आएको थियो ।
एकाथरीहरु शर्मामाथि प्रतिशोध सााधिएको आरोप लगाँउछन् । ६ बर्षदेखि तन्किदैं आएको मुद्धामा मंगलबार विशेष अदालतले ९ बर्ष कैद र साढे चार बर्व बिगो दावी गरेको भए पनि शर्मा लगायतका अरु दुई जनालाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न जाने बाटो भने खुलेको कानुन व्यवसायीहरुले बताएका छन् ।
स्याङ्जामा जन्मेका शर्माको काठमाडौंको बूढानिलकण्ठमा अलिसान बंगला ठडाएका छन् । उनको निवाससम्म पुग्न ५–६ वटा गेट पार गर्नुपर्छ । शर्माको घर करीव २५ रोपनी जग्गामा फैलिएको छ । सो घरमा शर्माले पत्नीलाई तरकारी किन्न जानका लागि ५० लाखको गाडी किनिदिएका चर्चा एक समय व्यापक थियो ।
प्रकाशित :२०८० असार ६, बुधबार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry