कुशल प्रशासक डा दामोदर रेग्मीको निजामती यात्रा :- शाखा अधिकृतदेखि सचिवसम्म

निजामती सेवामा प्रवेश गर्ने हर कोहीको लक्ष्य हुन्छ,सो सेवाको उच्च ओहदा अर्थात सचिवसम्म बन्ने तर सबैले यो लक्ष्य भेट्टाउदैनन् । सेवा प्रवेश गरेको २३ बर्षपछि यो लक्ष्यमा पुग्न सफल भएका छन् डा दामोदर रेग्मी ।

Advertisement 1

बिहिबारको मन्त्रिपरिषद्का बैठकले बरिष्ठ सहसचिव डा दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको छ । पाल्पा,उसै पनि निजामती सेवाका लागि उर्वरभूमि । सोही जिल्लाको तानसेन,बर्तुंगमा जन्मिएका रेग्मी निजामती सेवाको उच्च ओहदामा पुग्न सफल भएका छन् ।

बुवा गणेश प्रसाद रेग्मी सरकारी सेवामा,पिताकै पदचाप पछ्याउँदै उनी पनि सरकारी सेवामा प्रवेश गरेका हुन् ०५५ सालमा । शाखा अधिकृतबाट निजामती सेवामा होमिएका रेग्मी २३ बर्षपछि निजामती सेवाको उच्च ओहदमा पुग्न सफल भए ।यो अवधिमा रेग्मी बढुवा भएर उपसचिव,सह सचिव हुँदै दर्जनौं सरकारी निकायमा काम गरे । कहिँ कतै आफ्नो छवि धुमिल हुन दिएनन्,बरु सेवाक्रममा जहाँ जहाँ जोडिए,जागिरे मानसिकता त्यागेर ती क्षेत्रमा आमूल परिवर्तनका लागि सक्दो पहल गरेका छन् उनले ।

Advertisement 2

मध्यम वर्गीय परिवारमा जन्मिएका उनले सेन मा वि तानसेनबाटै फलामे ढोका अर्थात एस एल सी तह पार लगाए,त्रिभुवन बहुमुखी क्याम्पस तानसेन वाट आइ एस सी,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौबाट अर्थशास्त्र र गणितमा बी ए,त्रि वि वि वाट जनप्रशासनमा स्नातकोत्तर गरे । सरकारी सेवामा जोडिएपछि पनि अध्ययनलाई ब्रेक लगाएनन्,विट मारेनन् । उनी अध्ययनकै सिलसिलामा चीन पुगे र त्यहाँस्थित ,छिन्ह्वा विश्व विद्यालय बेजिंग  अन्तर्राष्ट्रिय जनप्रशासनमा स्नातकोत्तर गरे । अन्नामलाइ विश्व विद्यालय भारतवाट मूल्य शिक्षा र आध्यात्मिकतामा स्नातकोत्तर र हालसालै कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता विषयमा पी एच डी उपाधि हासिल गरेका छन् ।

०५५ सालमा निजामती शाखा अधिकृत खुला प्रतियोगिता भिडेर नाम निकालेका रेग्मीले ६ बर्षपछि नै उप सचिवमा बढुवा भए, आन्तरिक प्रतियोगितामार्फत त्यसको तीन बर्ष पछि नै सह सचिवमा नाम निकाले,२०६८ सहसचिव आन्तरिक प्रतियोगितामा प्रथम स्थान हासिल गरे ।
सह सचिव भएको १० बर्ष पछि उनी सचिव पदमा बढुवा भएका छन् ।
रेग्मी निजामती सेवामा आउनुपूर्व कर्मचारी संचयकोषमा कार्यरत थिए । जागिरे जीवनको सिलसिलामा प्रधान सहायक भएर कर्मचारी संचयकोष,शाखा अधिकृतका रुपमा वाणिज्य विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लामो समय व्यतित गरे ।
यस्तै उप सचिव हुँदा सामान्य प्रशासन मन्त्रालय, निजामती कितावखाना, संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालय,राष्ट्रिय योजना आयोगमा काम गरे ।
०६८ सालमा सह सचिव बढुवा भएसँगै गृह मन्त्रालय,निमित्त क्षेत्रीय प्रशासक क्षेत्रीय प्रशासन कार्यालय पोखरा, कम्पनी रजिस्टारको कार्यालय,अर्थ मन्त्रालय,राजस्व अनुसन्धान विभाग, भन्सार विभागमा काम गरेका उनी सम्पत्ती शुध्दीकरण अनुसन्धान विभागका महानिर्देशक भएर उल्लेखनिय काम गरे । यस्तै,सह महालेखा नियन्त्रक महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखा नियन्त्रक, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको रुपमा काम गरेका उनी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेर काम गरे । बर्ष दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनेका उनले त्यही अवधिमा लामो समयदेखि सुल्टन नसकेको स्वास्थ्य सेवाको कर्मचारी समायोजन टुंग्याउने काम गरे ।

Advertisement 3

त्यहाँ रहँदा सरुवा र समायोजनमा अनलाईन प्रविधिको प्रयोगबाट सेवाग्राही काठमाण्डौ आउनु पर्ने हैरानी समाप्त भएको,रेग्मीकै अग्रसरतामा निजामती कर्मचारीहरुको विद्युतीय अभिलेख प्रणालीको विकास भएको हो भने,कम्पनी रजिस्टारको कार्यालयमा विद्युतीय अभिलेख प्रणालीको विकास र सुधारका चारखम्वे रणनीतिको कार्यान्वयन भएको थियो । उनी भन्सार विभागमा रहदा चीन तर्फका नाकाहरुको स्तरोन्नति र थप नाका खोल्ने वारेमा ल्हासा भन्सार संग सहमति बन्यो । यस्तै सम्पत्ती शुध्दीकरण अनुसन्धान विभागमा रहदा लामो समय अनिर्णित छानवीनहरुलाइ अन्तिम रुप दिइ मुद्दा दायर,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहदा तालिमको स्तर र प्रभावकारितामा वृध्दि तथा तालिम केन्द्रले आइओएस प्रमाणपत्र प्राप्त गर्न पहल गरि प्रमाणपत्र प्राप्त गर्यो ।
संघीयता विज्ञ,कुशल प्रशासक रेग्मीले यो बीचमा दर्जन पुस्तक प्रकाशन गरिरसकेका छन् । उनका संघीय शासन प्रणाली, सुशासन र विकास, नेपालमा संघीयताका अवसर र चुनौतीहरु,प्रशासनमा व्यावसायिकता र सदाचारिता,शासकीय प्रबन्ध प्रशासन र व्यवस्थापन,शासन प्रणाली र सार्वजनिक मामिलाको व्यवस्थापन,नेपालको अर्थ राजस्व र वित्त व्यवस्थाका अलवा सहलेखनमा ३ वटा पुस्तक प्रकाशित भइसकेका छन् भने फुटकर लेखहरु ६ सयभन्दा बढी प्रकाशन भइसकेका छन् ।

 

 

 

 

प्रकाशित :२०७८ असार १८, शुक्रबार ०६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry