बागमतीमा कर्मचारीको वैयक्तिक विवरण राख्न सुरू
संघीय सरकारलाई चुनौती दिँदै बागमती प्रदेश सरकारले प्रदेशमा कार्यरत ९ जना कर्मचारीलाई वैयक्तिक संकेत नम्बर उपलब्ध गराएको छ । प्रदेश सरकारले पहिलो पटक प्रदेश किताबखानाको पीआइएस सिस्टममा विवरण भरेर ९ कर्मचारीलाई वैयक्तिक संकेत नम्बर उपलब्ध गराएको हो ।
Advertisement 1
बिहीबार प्रदेशका मुख्यमन्त्री शालिमकराम जम्मकट्टेलले वैयक्तिक विवरण अभिलेखको उद्घाटन गरेका हुन्। लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीलाई पिआईएस नम्बर हस्तान्तरण गर्दै मुख्यमन्त्रीले जम्मकट्टेलले वैयक्तिक विवरण प्रणालीको सुरूवात भएको बताएका हुन्। उनका अनुसार प्रादेशिक वैयक्तिक विवरण प्रणाली राख्ने बागमती प्रदेश देशकै पहिलो हो।
कर्मचारीको वैयक्तिक विवरण राख्ने प्रादेशिक वैयक्तिक विवरण प्रणाली (पिआइएस) पोर्टलको अभावमा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीको अभिलेख राख्ने काममा अन्योल आएको थियो । प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशमा प्रदेश लोक सेवा आयोग स्थापना भएर काम सुरु गरिए पनि प्रदेश किताबखाना कार्यान्वयनको पाटो थाती रहेको थियो । राष्ट्रिय किताबखाना (निजामती) ले प्रादेशिक पिआइएस पोर्टल बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै प्रदेशमै वैयक्तिक विवरणसहितको अभिलेख राख्ने बाटो खुलेको हो ।
Advertisement 2
बागमती प्रदेश सरकारले स्थापना गरेको किताबखानामा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरणको अभिलेखसमेत रहने भएको छ । प्रदेश सुशासन ऐन, २०७७ मा व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोगमार्फत प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त र बढुवा हुने कर्मचारीको अभिलेख राख्न प्रदेश किताबखाना (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ जारी गरी छुट्टै प्रदेश किताबखाना स्थापना गरेको हो ।