अध्यागमनका अधिकांश सेवा पेपरलेस हुँदै, अब राहदानी बोकेर हिँड्नुपर्ने बाध्यता हट्दै

काठमाडौं। अध्यागमन विभागले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका अधिकांश सेवा कागजरहित (पेपरलेस) बनाउँदै लगेको जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक सेवाग्राहीलाई उपलब्ध गराइने अधिकांश सेवा डिजिटल प्रणालीमा आधारित बनाइएको जानकारी दिएका हुन्।
Advertisement 1
बुधवार विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक तिवारीले अब ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदनजस्ता कामका लागि सेवाग्राही भौतिक रूपमा विभागमै उपस्थित हुनुपर्ने अवस्था क्रमशः हट्दै गएको बताए।
उनका अनुसार भिसाका लागि आवेदनदेखि अन्य प्रक्रियासमेत अनलाइन माध्यमबाट अघि बढाउने गरी विभागले प्रणाली विकास गरिरहेको छ। विभागमा टिप्पणी उठाएर नीतिगत निर्णय गर्नुपर्ने अवस्थाबाहेक सेवाग्राहीसँग सम्बन्धित काम कागजमा नगर्ने अभ्यासतर्फ विभाग अघि बढेको उनको भनाइ छ।
अध्यागमन विभागले विदेशी नागरिकको पहिचान तथा विवरण मोबाइल एपमार्फत प्रमाणीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
Advertisement 2
विभागले अघि सारेको ‘पासपोर्ट फ्री ट्राभल’ अवधारणा कार्यान्वयनमा आएपछि विदेशी नागरिकले मोबाइल एपमा आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरेपछि प्राप्त हुने क्यूआर कोडमार्फत विभिन्न सेवा लिन सक्नेछन्।
हाल मनी एक्सचेन्ज, आन्तरिक हवाई टिकट खरिद, होटलमा चेक–इन तथा चेक–आउटलगायतका सेवामा सक्कल राहदानी देखाउनुपर्ने अवस्थाको विकल्पका रूपमा डिजिटल पहिचान प्रयोग गर्न सकिने व्यवस्था विकास गर्न लागिएको विभागले जनाएको छ।
Advertisement 3
यसबाट विदेशी नागरिकले नेपालमा बस्दा हरेक समय सक्कल राहदानी बोकेर हिँड्नुपर्ने झन्झट कम हुने विभागको अपेक्षा छ। सेवा प्रदायकले पनि मोबाइलमा रहेको क्यूआर कोडमार्फत सम्बन्धित व्यक्तिको आवश्यक विवरण तत्काल प्रमाणीकरण गर्न सक्नेछन्।
विदेशी नागरिकको आवागमन तथा गतिविधिको डिजिटल अभिलेख व्यवस्थापनका लागि विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयन गरिरहेको छ।
विभागका अनुसार हालसम्म १ हजार ६ सयभन्दा बढी सेवा प्रदायक संस्था उक्त प्रणालीमा आबद्ध भइसकेका छन्। प्रणालीमार्फत विदेशी नागरिकका करिब २ लाख ८० हजार गतिविधि ट्र्याक भइरहेको विभागले जनाएको छ।
त्यस्तै, विभागले सञ्चालन गरिरहेको ‘नेपाली पोर्ट’ प्रणालीबाट विदेशी नागरिकको वर्क परमिट, भिसा आवेदन तथा जारी, नेपाली नागरिकको आगमन तथा प्रस्थान अभिलेख र कालोसूची अद्यावधिकलगायतका कामको अनुगमन भइरहेको छ। विभागले पछिल्लो समय ई–भिसा कार्यान्वयनको प्रक्रियासमेत अघि बढाएको जनाएको छ।
पासपोर्ट फ्री ट्राभल प्रणाली लागू भएपछि मोबाइल एपमा रहेको व्यक्तिगत विवरण र क्यूआर कोड प्रयोग गर्दा सम्बन्धित विवरण विभागको केन्द्रीय प्रणालीसँग स्वतः जोडिने व्यवस्था मिलाइनेछ।
तर डिजिटल राहदानीको विकल्प प्रयोग गर्दा पहिचान दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले थप सुरक्षा प्रणालीसमेत राख्ने तयारी गरेको छ।
यसका लागि बायोमेट्रिक्स, पिन, ओटीपी, फेस आइडी तथा फेस रिकग्निसनजस्ता प्रविधिमार्फत प्रयोगकर्ताको पहिचान प्रमाणीकरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विदेशी नागरिकलाई सेवा उपलब्ध गराउने विभिन्न संस्थालाई समेत डिजिटल प्रणालीमा आबद्ध गराउँदै लैजाने विभागको योजना छ।
सेवा प्रवाहलाई व्यवस्थित बनाउन विभागले अपोइन्टमेन्ट प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।
महानिर्देशक तिवारीका अनुसार विभागले यसअघि नै समय लिएर सेवा लिन आउने व्यवस्था सुरु गरिसकेको भए पनि अपेक्षाअनुसार सेवाग्राहीले अपोइन्टमेन्ट लिन रुचि देखाएका छैनन्।
उनका अनुसार कुनै सेवाका लागि सयौँ व्यक्तिलाई सेवा दिने क्षमता हुँदाहुँदै अपोइन्टमेन्ट लिएर आउनेको संख्या निकै न्यून हुने गरेको छ। यसले कार्यालयको स्रोत व्यवस्थापनमा समेत समस्या पर्ने गरेको विभागको भनाइ छ।
त्यसैले दशैँ–तिहारपछि आपत्कालीन वा विशेष अनुरोधबाहेक अपोइन्टमेन्ट लिएर आउने सेवाग्राहीलाई मात्र सेवा दिने व्यवस्था लागू गर्नेबारे विभागले तयारी गरिरहेको महानिर्देशक तिवारीले बताए।
विभागले सेवाग्राहीको भीड घटाउनुका साथै कार्यालयमा अनावश्यक भौतिक उपस्थितिलाई कम गरेर सेवा प्रवाहलाई पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य लिएको छ।
महानिर्देशक तिवारीका अनुसार कार्यालयमा अनावश्यक रूपमा धेरै सेवाग्राही जम्मा हुँदा सेवा व्यवस्थापनसँगै सुशासनको जोखिमसमेत बढ्न सक्ने भएकाले डिजिटल सेवा र पूर्वनिर्धारित समय प्रणालीलाई प्रभावकारी बनाउन खोजिएको हो।
यससँगै अध्यागमन विभागले डिजिटल सेवा, कागजरहित प्रक्रिया र डिजिटल पहिचानलाई केन्द्रमा राखेर सेवा प्रवाहको स्वरूप परिवर्तन गर्ने दिशामा काम अघि बढाएको जनाएको छ।








