मुख्य सचिव पदकाे आकर्षण र आलोचनाहरु

कुमार दाहाल,सहसचिव

मुख्यसचिवको पद राजनीति र प्रशासनको मिलनबिन्दु हाे । यहीबाट राजनीतिले प्रशासनको विज्ञता र प्रशासनले राजनीतिको विश्वास प्राप्त गर्छ । सबै कर्मचारीको अपेक्षा र आकर्षण यही पद हाे ।‌ कर्मचारीले आफूलाई योग्य र विज्ञ बनाउने उत्प्रेरणा यही पदबाट प्राप्त गर्छ। सचिवहरु मन्त्रीका सल्लाहकार हुन र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो।

Advertisement 1

मुख्यसचिवको पद ‌मास्लोको आत्मसन्तुष्टिको अन्तिम बिन्दु हाे । विड्राे विल्सन राजनीति र प्रशासनको सम्बन्ध बिन्दु यही पदमा देख्छन्। राजनीतिबाट नछुट्टिएको जर्मनीको प्रशासन र विज्ञताबाट उचाइमा पुगेको भारतको प्रशासन दुबैमा याे पदको गरिमा उच्च छ। त्यसैले मुख्य सचिव पदको नियुक्ति बढुवा मात्र होइन। यसमा कर्मचारी र राजनीति दुवैको चासो हुन्छ। यो पदमा कस्तो व्यक्ति पुग्नुपर्छ भन्ने संसारमा आफ्नै मान्यता छन ।अमेरिकामा बढुवाबाट यो पदमा कर्मचारी पुग्दैनन्। राष्ट्रपतिले सोझै नियुक्ति गर्छन ।जसलाई स्पाेइलl सिस्टम भनिन्छ। फ्रान्समा ६५ वर्ष कर्मचारीको उमेर अवधि छ। तर मुख्यसचिवको पद त्यो भन्दा माथि सम्म रहन सक्छ। किनकि मुख्य सचिवको पद उमेरभन्दा विज्ञता र योग्यताको विषय बढी हाे।

नेपालमा मुख्यसचिवको पदमा सचिवहरु मध्ये बढुवाबाट नियुक्ति गरिन्छ। र मुख्यसचिव ५८ बर्ष वा सेवा अवधि तीन वर्ष सम्म बहाल रहन्छन् । अहिले मुख्य सचिवको पदमा नियुक्तिका चर्चा चल्न थालेको छ। याे पदमा नियुक्तिका थुप्रै प्रतिस्पर्धी हिजो पनि थिए आज पनि छन । तर , सरकारले एकाध बाहेक मुख्यसचिव पदमा नियुक्ति गर्दा समग्र प्रशासनको मर्म, धर्म, कर्म र विश्वासलाई जित्न सकेकाे छैन । यो पदको नियुक्तिमा पनि गणेश प्रवृत्ति हावि छ। पद, योग्यता र बिशेषज्ञताकाे मर्यादा नाघेर नियुक्ति गर्दा केही वरिष्ठ सचिवहरुले राजीनामा दिएका उदाहरण थुप्रै छन्। मुख्य सचिवको पदमा नियुक्ति गर्दा केही वरिष्ठ सजिबन भोलिपनि राजीनामा दिनेछन्। र उनीहरुले भन्नेछन् कि मर्यादाक्रम भत्कियो।

Advertisement 2

योग्य, विज्ञ ,अनुभवी , तथस्ट र, राजनीति नेतृत्वको विश्वास जित्ने ब्याक्ती यो पदमा नपुगुन्जेल यस्ता गुनासा र प्रश्नहरु दाेहाेरि रहन्छन्। किनकि मुख्यसचिवको पद वृतिविकास र प्रतिष्ठाको पद मात्र होइन। यो समग्र प्रशासनको उत्प्रेरणा हाे। यो पदमा नियुक्ति गर्दा राजनीतिक चेत प्रष्ट हुन जरुरी छ।

सचिव र मुख्य सचिव जस्तो उच्च पदले काठमाडौँ भञ्ज्याङ भन्दा बाहिरको कर्मचारीको मर्का बुझेको हुनुपर्छ। यस क्षेत्रमा अनुभव गरेको हुनुपर्छ। मर्का सुनिदिने र प्रत्यक्ष अनुभूत गराइदिने नेतृत्व अहिले चाहिएको छ।तर उच्च पदहरु अवकाश पछि पनि राजदूत र राजनीतिक नियुक्ति खाने प्रलोभनले आफ्नो दायित्व बिर्सिन्छन। प्रोटोकलको हिसाबले तलका पदहरुमा जागिर खानुभन्दा समाजको सम्मानित व्यक्ति हुनु कति आनन्द होल ? याे आजको प्रशासनिक नेतृत्वको ठूलो समस्या हो। अवकाशपछि आफ्नो योग्यताको कहिँ न कहिँ प्रयोग गर्नैपर्छ ।तर पद खानकै लागि आफ्नो कर्तव्य भुल्दाको समस्या नेतृत्व वर्गमा नयाँ होइन ।

Advertisement 3

संघीयतामा तीन तहको कर्मचारी नीति छ । शिक्षा, स्वास्थ्य, महिलाका कर्मचारीहरुको दरबन्दी र पद कहाँ छ टुंगो छैन। अहिले कर्मचारीको संख्या कति पुगेको छ? अभिलेख प्रणाली कमजोर छ। कुन कर्मचारीलाई कहाँ सरुवा गर्नुपर्छ सरुवा नीति छैन ।मानव स्रोत व्यवस्थापन योजना छैन । राजनीतिले पनि सही सल्लाह पाएकै छैन।।अवकाशको उमेर पर्देश पिच्छे फरक छन। विभिन्न सेवा समूहमा वृत्तिविकासका अवसर फरक छन्। भ्रष्टाचार उच्च छ । कहि कर्मचारीकोे कुटिएका छन् । कतै हेपिएका छन् । कहि कालोमोसो दलिएका छन् ।तर यसको संरक्षक सचिव सहसचिव, मुख्यसचिव हामी कोही बोल्दैनौ । यस्ता विकृतिहरुको जिम्मेवारी निजामती सेवाकाे उच्च पदले लिनु पर्ने हैन ? । किनकि यो संस्थागत खराबी आउनुमा कर्मचारी प्रशासनकै थुप्रै कमजोरी छन।

ट्रेड युनियन एति हावी छ कि उनीहरुले निष्पक्षता र प्रतिबद्धता भुली सके। ट्रेड युनियनका पदाधिकारीहरु राजनीतिज्ञ जस्तै छन्। निजामती सेवामा कहीँ पनि सन्तुष्टि छैन। काम हुने ठाउँमा कर्मचारी छैनन् ।काम नहुने ठाउँमा कर्मचारी छन्। कार्यबोझ अनुसार कर्मचारी छैनन्। सिंहदरबारभित्रका कर्मचारी काम नपाएर बसेका छन् ।स्थानीय तहमा कर्मचारी कम छन् ।सरुवा हुनलाई नै रकम बुझाउनुपर्छ। राजनीतिक आस्था चाहिन्छ। यसता विकृति कम गर्न मुख्य सचिव पदको भुमिका के छ ?स्पष्ट भएमा मुख्यसचिव प्रतिको अास्था बढेर जान्छ। कर्मचारीले अहिले अभिभावक चाहेका छन्।

मुख्यसचिव पदकाे आकर्षण पद र प्रतिष्ठामा छैन। जिम्मेबारी, उत्तरदायित्व, तटस्थता र नतिजामा छ । त्यसैले यो पदलाई उमेर वर्ष भित्र राख्नु हुँदैन । कोही योग्य छ भने ६० वर्षपछि पनि नियुक्ति दिन सकिन्छ। मुख्यसचिवको पदलाई २ वर्ष र सचिवको तीनवर्ष राख्दा खासै फरक पर्दैन। किनभने ती पदहरु टिकिरहने पद होइनन् । जीवनभरिको अनुभवलाई छोटो समयमा नतिजामा अनुभूति दिने पद हुन। यी पदहरूले तल्ला पदहरूकाे वृत्तिविकास लाई सहज बनाउनुपर्छ। किनकि हाम्रो संगठनको ढाँचा पिरामिड प्रकृतिको छ। लामो अवधिसम्म टिक्ने पदले तल्ला पदहरूकाे वृतिविकासमा ठूलो समस्या पार्छ। माथिल्लो पदले विज्ञ र सन्तुष्टि दियो भने तल्ला पदहरू स्वत उत्प्रेरित हुँदै जान्छन्। यो व्यवस्थापनको मान्यता हो ।

मुख्यसचिवको पद सामान्यज्ञ र विशेषज्ञको पदभन्दा माथिल्लो पद हाे। यो पदले राजनीतिको धर्म ,प्रशासन र यसभित्रका कर्मचारीको मर्म बुझेकै हुनुपर्छ । जिल्ला, प्रदेश, स्थानीय तहकाे फरक बुझेको हुनुपर्छ। कमसेकम नीतिमा आफ्ना कामहरूको अनुभव समेटिनुपर्छ। राजनीतिले यो पदमा नियुक्ति गर्दा कुन पार्टीको वा कुन समर्थनको वा कसरी भक्तिगान आउँछ भन्ने हेर्नुभन्दा कसरी काम गर्छ र विगतमा कति नतिजा दिएको छ , हेर्नैपर्छ। आजसम्म नेतृत्वमा बढुवाको समस्या यही छ।

मुख्य सचिवको पदमा नियुक्तिमा व्याक्तिको योग्यतालाई लिनुपर्छ। उत्तराधिकार योजना हुनुपर्छ। तब मात्र नेपालको निजामती सेवा र समग्र कर्मचारीतन्त्र योग्य हुन सक्छ ।मुख्यसचिवको पद समग्र कर्मचारीतन्त्रलाई सम्मान दिने र सम्मानित हुनुपर्छ। मन्त्रिपरिषदमा जाने प्रस्तावहरुलाई हेर्ने, लेख्ने र व्याख्या त सहसचिव उपसचिवले पनि गर्नसक्छन् । त्यो भन्दा माथि समग्र गवर्नेंन्सको उचाईलाई महसुस गर्ने ब्याक्ती याे पदले प्राप्त गरेमा हामी विश्व प्रशासन र राष्ट्रिय प्रशासनको विश्वास जित्न सक्छौं ।र हाम्रा नीति, योजना, कार्यक्रम हरु प्रभावकारी हुन्छन्। ।कमसेकम नेतृत्वप्रति एउटा कर्मचारी शिर झुकाउन बाध्य हुन्छ ।

प्रकाशित :२०८० जेष्ठ ३१, बुधबार २०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry