मन्त्रीको आडमा लियोजन अफिसरको मनपरी
एकातिर एक/दुई दिन हिमाल आरोहणको रोमाञ्चाक यात्राको अवसर पनि पाइने, अर्कोतिर तीनदेखि साढे तीन लाख रुपैयाँ पाउने भएपछि निजामती कर्मचारीहरूका लागि लियोजन अफिसर (सम्पर्क अधिकृत) हुन हरेक वर्ष होडबाजी नै हुने गर्छ। यस बर्ष पनि त्यस्तै होडबाजी चल्यो ।यस्तो अवसर अरु कर्मचारीले कहाँ पाउँछन कि त कर्मचारी ट्रेड युनियनको नेता हुनुपर्यो वा मन्त्रीका सचिवालयतिर बस्ने कर्मचारी हुनुपर्यो । शक्तिका आडमा सम्पर्क अधिकृत तोकिएका कर्मचारीहरु हिमाल आरोहण गर्न टोलीसँगै जाने र आधार शिविरसमेत नपुग्ने विकृती यस पटक पनि देखियो । बीचबाटोबाटै एक जना सम्पर्क अधिकृत हराएपछि पर्यटन विभागदेखि मन्त्रालयसम्म हलचल मच्चियो ।
Advertisement 1
सरकारले ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारीका रूपमा जानुपर्ने कानुनी व्यवस्था छ। यस पटक पनि गत वैशाख १० गते अमेरिकी नागरिक ड्यारेन जोनको टोलीले सेभेन समिट ट्रेक्समार्फत सगरमाथा आरोहणको अनुमति पाए । सेभेन समिट ट्रेक्स कम्पनीको सम्पर्क अधिकृत तोकिएका डिजन भट्टराई (उपसचिव) ।
त्यहाँ अमेरिकी नागरिकले ड्यारेन जोनले प्याराग्लाइडिङ गर्न खोजे तर कानुनअनुसार आरोहीले प्याराग्लाइडिङ गर्न चाहे आरोहणबाहेक थप ११ हजार डलर रोयल्टी तिरेर अनुमति लिनुपर्छ । नलिए अवैध कार्य हुने भएकाले कारबाहीयोग्य हुन्छ । तर, आरोहीका गतिविधि अनुगमन गरेर नियम–कानुन उल्लंघन गरेको पाइएमा कारबाही गर्ने र आरोहण व्यवस्थापनको जिम्मेवारीप्राप्त सम्पर्क अधिकृत आधार शिविरमा नहुँदा विदेशीले गरेको मनपरी रोक्ने कोही भएनन् ।
Advertisement 2
सम्पर्क अधिकृत नभएपछि नै अमेरिकी नागरिकले आधार शिविरमा बितण्डा मच्चाएको अधिकारीहरू बताउँछन् । शिविरबाट झरेलगत्तै ड्यारेनले ‘गिभ मी बियर’ भन्दै हो–हल्ला गरेका थिए । हिमाल सफाइ अभियानका लागि आधार शिविर पुगेको नेपाली सेनाले उनको प्याराग्लाइडिङ गियर जफत ग¥यो । स्रोतका अनुसार उनीहरूले नै पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेललाई ‘ड्यारेनको रवैया’बारे जानकारी गराएका थिए । त्योबेला सम्पर्क अधिकृत तोकिएका उपसचिव भट्टराई आरोहण दल र विभागका महानिर्देशकको सम्पर्कमै थिएनन् ।
हिमाल आरोहण गर्ने समूहले आरोहण गरेकोरनगरेको प्रमाणित गर्ने अधिकार लियोजन अफिसरलाई हुन्छ। लियोजन अफिसरले हिमाल आरोहण गरेको प्रमाणित गरेपछि मात्र त्यो समूहले हिमाल आरोहण गरेको कानुनी पुष्टि हुन्छ। जसले हिमाल आरोहण गरेको भने प्रमाणित गर्छ, ऊ आफैंले भने हिमाल आरोहण गर्दैन। लियोजन अफिसर बिरामी भएको जानकारी गराएर एकदुई दिनमै काठमाडौं फर्कन्छ।
विभागले सो आरोहण दलको लागि भनेर पर्यटनमन्त्री सुदन किराँतीको स्वकीय सचिव रहेका भट्टराईलाई सम्पर्क अधिकृत नियुक्त गरेको थियो । सम्पर्क अधिकृत भएबापत २५ सय डलरसमेत बुझिसकेका थिए । तर, डलर बुझेर पनि आधार शिविर पुगेर खटाएको काम गरेनन् । अनुमतिबेगर प्याराग्लाइडिङ गरेका विदेशी नागरिक ड्यारेनलाई पर्यटन मन्त्रालयले सगरमाथा आरोहणको लागि लिएको परमिट रद्द गरेर तत्कालै अमेरिका पठाइदिने बताएको थियो । तर भट्टराईले विभागलाई त्यस्तो कुनै कठोर निर्णय लिन दिएनन् । पर्यटनमन्त्रीलाई समेत प्रभावमा पारे । मन्त्रीको दबाबपछि ड्यारेनलाई तत्काल डिपोर्ट गर्ने बताउँदैआएको विभाग आफ्नो अडानबाट पछि हट्यो । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले अहिले आएर फेरि अर्को परमिट जारी गरेर सगरमाथा आरोहणको अनुमति दिइएको बताएका छन् ।
विगतमा आरोहीले अवैध गतिविधि गरेमा आरोहण रद्द गरेर नेपालबाट निकाला गरिदिएको विभागका पूर्वकर्मचारी बताउँछन् । त्यस्तो अवस्थामा आरोहण कम्पनीलाई पनि ठूलो जरिवाना गर्नेुपर्ने कानुनी व्यवस्था छ ।
Advertisement 3
वैशाख १० गते ड्यारेनले अनुमतिबिना प्याराग्लाइडिङ गरेको दुई दिनपछि सम्पर्क अधिकृत भट्टराई आधार शिविर पुगेर फर्किएको पर्यटन विभागका अधिकारीहरुको दाबी छ । तर विभागका अर्का कर्मचारी भन्छन्,डिजनजी नाम्चेभन्दा माथि उक्लिएका छैनन् । उनी तीन–चार दिन नाम्चेमै बसे । विभागले कसरी भन्न सक्छ सम्पर्क अधिकृतले फिल्डमै गएर रिपोर्टिङ गरे भनेर?’
सम्पर्क अधिकृतजस्तो व्यक्तिले गैरजिम्मेवार काम गर्न मिल्दैन, त्योपनि मन्त्रीको आडमा । हेलिकप्टर चढेर सोलु पुगे तर मोडलिङ गरेर फर्के । योभन्दा लाजमर्दो हर्कत के हुन्छ !,’ पर्यटन विभागकै अधिकृतले भने, ‘नामको मात्रै छानबिन समिति बन्यो । गहिरिएर अनुसन्धानसमेत गरेनन् । आधार शिविरमा पनि पुगेनन् ।’
सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही गरिनेछ । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो, भिडियो बुझाउनुपर्छ भनिएको छ । अघिल्लो पटक आधार शिविर नपुगेका १५ जना सम्पर्क अधिकृतलाई विभागले कारबाही गरेकोसमेत उनले जनाएका छन् ।
भट्टराईले भने आफू आधार शिविर पुगेको दाबी गरेका छन् । ‘आधार शिविरमा धेरै बसिन । एकडेढ घण्टा बसें । नाम्चेमा एक डेढ दिन बसें, अनि हेलिकप्टरबाट आधार शिविर गएँ ।’