आठ सचिव सेवा निवृत्त हुदै
२०८० चैतभित्रै नेपाल सरकारका तीनजना बहालवाला सचिव सेवा निवृत्त हुदैछन् भने असार मसान्त सम्म पाँच जना बहालवाला सचिव जागिरबाट घर जाने भएका छन् । आगामी २०८० फल्गुण ६ गते निर्वाचन आयोगमा कार्यरत सूर्यप्रसाद गौतम सेवा निवृत्तको अन्तिम चरणमा रहेका छन् । उनी लगत्तै २०८० फागुन २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्यातर्फ कार्यरत रहेकी सचिव देवकुमारी गुरागाईं पनि ५८ वर्षे उमेरहदका कारण घर जाँदैछिन् । त्यसपछि २०८० चैत्र ११ गते हाल श्रम, रोजगार तथा सामजिक विकास मन्त्रालयमा कार्यरत सचिव केवल प्रसाद भण्डारी पनि सचिवको पाँचवर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त हुने तयारीमा रहेका छन्।
Advertisement 1
त्यसैगरी ०८१ वैशाख १७ गते तीनजना सचिवहरू सेवानिवृत्त हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला ०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।त्यसैगरी २०८१ वैशाख २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल, जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते सेवानिवृत्त हुनेछन् ।
यी तीनजना सचिव सेवा निवृत्त भएसँगै वरिष्ठ सहसचिवको लाइनमा बसेका कुन कुन सहसचिवहरुले सचिव बढुवामा बाजी मार्छन् होला भन्ने विषयमा निजामती प्रशासन सेवामा कौतुहलता पैदा भएको छ ।स्रोतले दिएको जानकारी अनुसार, हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको निमित्त प्रमुख सचिवको जिम्मेवारीमा रहेका हरि लम्साल र चुडामणि पौडेलले अव बढुवा हुने सचिव पदमा बाजी मार्ने छन् । लगत्तै भरखरै मात्र कोशी प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी दिएर खटाइएको केदारनाथ शर्मा सचिव बढुवाको लाइनमा रहेका छन् । त्यस्तै प्राविधिक तर्फ दीनानाथ मिश्र सचिव पद बढुवाको लाइनमा छन् ।