समायोजन संशोधन :- केन्द्रका ६०० कर्मचारीको रोजाई प्रदेश / स्थानीय तह,अधिकांशको छनोट काम कम हुने कार्यालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायाजन संशोधन प्रक्रिया शुरु गरेको छ ।
गत २ भदौको मन्त्रिपरिषद्ले यससम्बन्धी नीतिगत निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा मन्त्रालयले समायोजन संशोधन तथा मिलानसम्बन्धी कार्यविधि बनाएको हो ।
Advertisement 1
हालै मात्र समायोजन संशोशन मापदण्ड स्वीकृत गरी केन्द्रमा कार्यरत कर्मचारीलाई प्रदेशमा पठाउने तथा अन्तरप्रदेश÷अन्तरस्थानीय तहबीच समायोजन मिलान गर्न लागिएको छ ।केन्द्रमा कार्यरत झण्डै साढे ६ सय कर्मचारीले प्रदेश र स्थानीय तहमा जाने रुची देखाएका छन् । सरुवा हुन चाहेको कार्यालयको सहमति लिएरै धेरै कर्मचारीले निवेदन दिएका छन् ।
तर यो संशोधन मापदण्डप्रति कर्मचारीहरुले आपत्ति जनाउन थालेका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश वा संघमा आउन नदिने गरी कर्मचारी समायोजन मिलान मापदण्ड तयार पारेको भन्दै त्यहाँ खटिएका कर्मचारीहरुले आलोचना गरिरहेका छन् ।
मन्त्रालयले तयार पारेको मापदण्डमा, एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान हुन पाउने उल्लेख गरिएको छ ।
Advertisement 2
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन संशोधनका लागि अनलाइनबाटै निवेदन लिन थालेका छ ।
समायोजन संशोधन गर्न चाहने कर्मचारीहरुले adjustment.mofaga@ gmail.com मा मेल गर्नुपर्नेछ ।
अहिले यसरी अनलाइनबाट समायोजन संशोधनका लागि दैनिक सरदर ५० का दरले निवेदन आइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो बीचमा झण्डै एक हजार बढी निवेदन आइसकेको छ ।
रमाइलो चाहिँ प्राप्त निवेदनहरु केलाउँदा सेवाग्राहीको अत्याधिक चाप हुने कार्यालयमा जान खोज्ने कर्मचारीको निवेदन ज्यादै न्यून छ ।
मन्त्रालयमा सरुवाका लागि निवेदन दिनेमध्ये धेरैले कामको चाप नहुने कार्यालय रोजेका छन् ।
विगतमा मालपोत, यातायात, अध्यागमन, जिल्ला प्रशासनजस्ता सेवा दिने कार्यालयमा सरुवा हुन कर्मचारीको मारामार हुन्थ्यो । अहिले ठीकविपरीत अवस्था देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजीव पोखरेल बताउँछन् ।
सरुवाको चाप धेरैजसो उपत्यकामै छ । दुर्गम र प्रदेश २ मा कार्यरत धेरै कर्मचारीले उपत्यका तथा आसपासका जिल्लामा सरुवा माग्दै निवेदन दिएका छन् । दुर्गममा भन्दा प्रदेश २ मा कर्मचारीहरू छिटो सरुवा माग्ने गरेका छन् ।