साइबर सुरक्षा जोखिमपछि ई–जीपीको नयाँ संस्करण सञ्चालनमा, सबै निकायलाई पुनः दर्ता हुन निर्देशन

काठमाडौं । साइबर सुरक्षा जोखिम देखिएपछि झण्डै दुई महिनादेखि प्रभावित सार्वजनिक खरिद प्रक्रिया नयाँ विद्युतीय प्रणालीमार्फत पुनः सञ्चालनमा आएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ संस्करणको विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) प्रयोगमा ल्याउँदै सार्वजनिक निकायलाई अबका सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बोलपत्र नयाँ प्रणालीबाट मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ।
Advertisement 1
कार्यालयले कात्तिक १७ गते जारी गरेको सूचनामार्फत निर्माण कार्य तथा मालसामान खरिदका बोलपत्र नयाँ प्रणालीबाट सञ्चालन गर्न भनेको हो। यसअघि प्रयोगमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि भदौ ११ गतेदेखि नयाँ बोलपत्र सूचना प्रकाशनमा रोक लगाइएको थियो।
पुरानो प्रणालीमा देखिएको सुरक्षा समस्याको विकल्प खोज्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले नयाँ सफ्टवेयर विकास गरेको हो। कार्यालयका अनुसार नयाँ प्रणाली पहिलो चरणमा कार्यान्वयनमा ल्याइएको छ।
Advertisement 2
नयाँ प्रणालीसँगै प्रयोगकर्ता पनि फेरिनुपर्ने
नयाँ प्रणाली सञ्चालनमा आएसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले पुरानो प्रणालीमा रहेका प्रयोगकर्ताले नयाँ प्रणालीमा आवश्यक प्रक्रिया पूरा गरेर मात्रै सेवा लिनुपर्ने अवस्था सिर्जना गरेको छ।
Advertisement 3
कार्यालयले सार्वजनिक निकायलाई पुरानो प्रणालीबाट नयाँ बोलपत्र प्रकाशन नगर्न स्पष्ट निर्देशन दिएको छ। अब निर्माण कार्य र मालसामान खरिदका सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ ई–जीपी प्रणालीबाटै प्रकाशन गर्नुपर्नेछ।










