नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्दै, गाउँपालिकाबाटै जग्गा प्रशासनका सेवा सुरु

बाँके। भौगोलिक विकटता र कमजोर यातायात पहुँचका कारण सामान्य जग्गासम्बन्धी कामका लागि समेत जिल्ला सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता झेल्दै आएका बाँकेको नरैनापुर गाउँपालिकाका नागरिकले अब आफ्नै पालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा पाउने भएका छन्।

Advertisement 1

गाउँपालिकाले बिहीबारदेखि छुट्टै भूमि व्यवस्थापन शाखा स्थापना गरी जग्गा पास, कित्ताकाट र नामसारीलगायत सेवा सञ्चालनमा ल्याएको हो। देशभर स्थापना भएका भूमि व्यवस्थापन शाखामध्ये नरैनापुर ३४औँ शाखा बनेको गाउँपालिकाले जनाएको छ।

भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि वर्षौंदेखि जग्गासम्बन्धी सामान्य कामका लागि समेत नेपालगञ्ज धाउनुपर्ने स्थानीयको बाध्यता कम हुने अपेक्षा गरिएको छ। विशेषगरी भौगोलिक रूपमा विकट र सदरमुकामबाट टाढा रहेका बस्तीका नागरिकलाई यसबाट प्रत्यक्ष राहत पुग्नेछ।

Advertisement 2

सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासनसम्बन्धी सेवा गाउँपालिकामै सुरु गरिएको बताउनुभयो। अब जग्गा पास, कित्ताकाट र नामसारीका लागि सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले आवश्यक संस्थागत तथा प्राविधिक व्यवस्थापन पूरा गरी देशभरको ३४औँ भूमि व्यवस्थापन शाखाका रूपमा नरैनापुरमा सेवा सञ्चालन गर्न सफल भएको बताउनुभयो। आगामी दिनमा सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो।

Advertisement 3

शाखा सञ्चालनको अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षितसहित अर्का सेवाग्राहीलाई लालपुर्जा प्रदान गरिएको थियो। दीक्षितले गाउँपालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा पाउने व्यवस्था सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

सडकसँगै प्रशासनिक पहुँच विस्तार

नरैनापुर कुनै समय बाँके जिल्लाकै विकट गाउँपालिकाका रूपमा चिनिन्थ्यो। कमजोर सडक पूर्वाधार र भौगोलिक कठिनाइका कारण यहाँका नागरिकले सरकारी सेवा लिनसमेत लामो दूरी पार गर्नुपर्ने अवस्था थियो। पछिल्लो समय सडक सञ्जाल विस्तारसँगै सदरमुकामसँगको आवागमन सहज बन्दै गएको छ।

भौतिक पूर्वाधारको विकाससँगै सरकारी सेवा पनि स्थानीयस्तरमै विस्तार हुन थालेपछि नरैनापुरको प्रशासनिक पहुँचमा परिवर्तन देखिन थालेको छ। गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुँदा नागरिकको यातायात खर्च, समय र प्रशासनिक झन्झट घट्ने बताउनुभयो।

भूमि प्रशासनसँगै करदाता सेवा केन्द्र पनि

नरैनापुर गाउँपालिकाले छोटो समयमै दुई महत्वपूर्ण सरकारी सेवा स्थानीयस्तरमा विस्तार गरेको छ। केही दिनअघि मात्रै गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको थियो। करसम्बन्धी कामका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सुरु गरिएको उक्त केन्द्रपछि अहिले भूमि प्रशासनसम्बन्धी सेवा पनि थपिएको हो।

यसले स्थानीय सरकारबाटै नागरिकलाई सेवा उपलब्ध गराउने प्रयासलाई थप गति दिएको छ। जग्गा प्रशासन र करसम्बन्धी कामका लागि सदरमुकाममा निर्भर रहनुपर्ने अवस्था क्रमशः घट्दै जानु दुर्गम क्षेत्रका नागरिकका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

स्थानीय तहमा सेवा विस्तार हुनु नागरिकलाई सुविधा थपिनु मात्र होइन, राज्यको उपस्थिति गाउँबस्तीसम्म पु¥याउने प्रशासनिक विकेन्द्रीकरणको अभ्यास पनि हो। यद्यपि, सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति, प्रविधि, पारदर्शिता र नियमित सेवा प्रवाह सुनिश्चित गर्नु गाउँपालिकाका लागि उत्तिकै महत्वपूर्ण हुनेछ।

सेवा शुभारम्भ कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष मनोज शर्मा, अलेपा सागर आचार्य, सूचना प्रविधि अधिकृत जुना शाही, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो।

नरैनापुरमा सडक पहुँचसँगै सरकारी सेवाको विस्तार हुन थालेपछि स्थानीय नागरिकको सदरमुकाममाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ। गाउँमै जग्गा प्रशासनदेखि करदाता सेवासम्म उपलब्ध हुन थालेको यो प्रयासले दुर्गम बस्तीमा स्थानीय सरकारको सेवा प्रवाह कति प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि नयाँ उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित :२०८३ कार्तिक २० गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]