धौलागिरिका ४ जिल्लाको पूर्वाधार विकास अब बेनीबाटै, संघीय डिभिजन कार्यालय सञ्चालनमा

म्याग्दी। धौलागिरि क्षेत्रका ४ जिल्लामा संघीय पूर्वाधार विकासका योजना सञ्चालन, अनुगमन र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ कार्यालय सञ्चालनमा आएसँगै म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनका लागि पोखरा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
Advertisement 1
संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको मातहत रहने गरी स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले उद्घाटन गरेका हुन्। कार्यालय जिल्ला समन्वय समिति म्याग्दीको भवनमा स्थापना गरिएको छ।
मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णयअनुसार बेनीमा डिभिजन कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर जनकराज पन्तले जानकारी दिए।
Advertisement 2
सरकारले प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णय गरेअनुसार म्याग्दीमा पनि कार्यालय स्थापना गरिएको पन्तले बताए। उनका अनुसार नयाँ संरचनाबाट वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक, स्थानीय सडक तथा सडक र झोलुङ्गे पुल निर्माण एवं स्तरोन्नतिका कार्यक्रम सञ्चालन हुनेछन्।
पूर्वाधार निर्माणलाई क्षेत्रीय तथा प्रादेशिक सन्तुलनसँग जोड्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी संरचनालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ।
Advertisement 3
चालु आर्थिक वर्ष २०८३/८४ मा यस डिभिजनमार्फत विभिन्न प्रकृतिका ३० वटा आयोजना तथा कार्यक्रम सञ्चालन हुने तयारी छ। तीमध्ये ११ वटा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, १५ वटा स्थानीयस्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधारसम्बन्धी कार्यक्रम, दुईवटा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र दुईवटा स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम रहेका छन्।
स्थानीय पूर्वाधार विकास विभागबाट योजना तथा बजेट बाँडफाँट भएपछि आयोजनाहरूको कार्यान्वयन प्रक्रिया अघि बढ्ने इन्जिनियर साधना तिवारीले बताइन्।
कार्यालयमा सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा प्राविधिक तथा प्रशासनिकतर्फ १४ जना स्थायी दरबन्दी कायम गरिएको छ। यसले ४ जिल्लामा सञ्चालन हुने योजनाको प्राविधिक निगरानी, कार्यान्वयन समन्वय र प्रशासनिक व्यवस्थापनलाई स्थानीय स्तरमै व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले यसअघि पोखरामा रहेको कार्यालयबाट धौलागिरि क्षेत्रका योजना छनोट, कार्यान्वयन, अनुगमन तथा गुनासो व्यवस्थापनमा व्यावहारिक कठिनाइ हुने गरेको बताए। बेनीमै कार्यालय स्थापना भएपछि चार जिल्लाका स्थानीय तह र सरोकारवालालाई संघीय पूर्वाधारसम्बन्धी काममा समन्वय गर्न सहज हुने उनको भनाइ थियो।
कार्यालय स्थापनाका लागि भूमिका निर्वाह गर्ने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री एवं म्याग्दीका प्रतिनिधिसभा सदस्य महावीर पुनसहित संघीय सरकारलाई उनले जिल्लावासीका तर्फबाट धन्यवाद व्यक्त गरे।
यसैबीच, म्याग्दीमा संघीय सरकारका अन्य विकाससम्बन्धी कार्यालय स्थापना गर्ने तयारी पनि भइरहेको छ। जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख डिलकुमारी खत्रीले कालीगण्डकी बेसिनमा नदी नियन्त्रण तथा बस्ती संरक्षणका आयोजना कार्यान्वयन गर्ने उद्देश्यले जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिइन्। त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पनि म्याग्दीमै स्थापना गर्ने तयारी रहेको उनले बताइन्।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले नयाँ कार्यालयले सञ्चालन गर्ने योजनाहरू जनअपेक्षाअनुसार गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। कार्यालय स्थापना हुनु मात्रै उपलब्धि नभई त्यसबाट नागरिकले प्रत्यक्ष लाभ पाउने गरी आयोजना कार्यान्वयन हुनुपर्ने उनको अपेक्षा थियो।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाको सहभागिता थियो।
धौलागिरिका ४ जिल्लालाई समेट्ने गरी बेनीमा संघीय पूर्वाधार विकास कार्यालय स्थापना हुनु प्रशासनिक पहुँच विस्तारको एउटा महत्त्वपूर्ण कदम हो। अब यसको प्रभावकारिता भने योजना छनोटमा स्थानीय आवश्यकताको सम्बोधन, बजेटको समयमै सुनिश्चितता, निर्माणको गुणस्तर र आयोजना सम्पन्न गर्ने गतिले निर्धारण गर्नेछ।








