यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक

भक्तपुर। यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ।
Advertisement 1
तालिकाअनुसार आगामी मङ्िसर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु हुनेछ। जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले मङ्सिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौँ र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुने जानकारी दिए।
पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० देखि १५ गतेसम्म मध्यपुरथिमिका विभिन्न स्थानमा जात्रा सञ्चालन हुनेछ। त्यसैगरी, पुस १७ देखि २१ गतेसम्म काठमाडौँको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा हुनेछ। नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले पुस ३० गतेदेखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौँ र गछें क्षेत्रमा जात्रा सञ्चालन हुने बताए।
Advertisement 2
माघ १५ देखि १८ गतेसम्म काठमाडौँको साँखु, माघ १९ र २० गते चाँगुनारायण तथा माघ २८ र २९ गते भक्तपुर नगरपालिका–६ स्थित महालक्ष्मी क्षेत्रमा जात्रा हुने तालिकामा उल्लेख छ। त्यस्तै फागुन महिनामा भक्तपुरका विभिन्न स्थानसँगै काभ्रेको साँगा र नालामा समेत जात्रा सञ्चालन हुनेछ। फागुन ६ र ७ गते साँगा तथा फागुन २८ देखि ३० गतेसम्म नाला क्षेत्रमा जात्रा हुनेछ।
चैत १ र २ गते धुलिखेल तथा चैत ३ गते काभ्रेको श्रीखण्डपुरमा जात्रा सञ्चालन हुनेछ। यसैगरी चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा सञ्चालन भएसँगै यस वर्षको सार्वजनिक जात्रा तालिका सम्पन्न हुनेछ। नवदुर्गा देवगणको जात्रा भक्तपुरको जीवन्त सांस्कृतिक एवं ऐतिहासिक सम्पदाका रूपमा परिचित छ। विभिन्न देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरेका देवगण नगर तथा विभिन्न बस्तीमा पुगेर नाच तथा जात्रा प्रदर्शन गर्ने परम्परा रहिआएको छ।
Advertisement 3
प्रत्येक वर्ष दसैँमा राष्ट्रपति दर्शन गर्न आउने भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) हो।









