बाढीको कारण र समाधानका उपायहरु
बाढी र पहिरोले नेपालमा बर्सेनि ठूलो नोक्सान गर्दै आएको छ । जलवायु परिवर्तन र अव्यवस्थित बसोबासका कारण दिन प्रतिदिन बाढी पहिरोको प्रकोप बढ्दै गएको छ । छोटो समयमा भारी वर्षा हुनु नै यसको मुख्य कारण हो । नेपालमा २०६८ देखि यो अवस्था झन् बढ्दो छ । विगत केही वर्षको स्थितिलाई हेर्दा पनि अवस्था डरलाग्दो छ ।
२०७४ असार १७ गते सप्तरीका खाडो र मडुली खोलाले गर्दा विभिन्न गाउँहरु जलमग्न हुने गरी बाढी आएर धेरै नोक्सानी ग¥यो । त्यही वर्ष पर्वत, स्याङ्जा र कास्कीका विभिन्न गाउँहरुमा पहिरो गई धनजनको नोक्सानी ग¥यो । त्यसको एक महिनापछि श्रावण २७ गतेबाट तीन दिनसम्म लगातार परेको अविरल वर्षाले तराईका विभिन्न २६ जिल्लाहरुमा बाढीले ठूलो नोक्सान ग¥यो । एक सय पचास भन्दा बढी मानिसको ज्यान गयो ।
Advertisement 1
आठ अर्ब भन्दा बढीको बालीनाली नोक्सान भयो । हजारौं पशुपक्षीहरु बगे । सयौं हेक्टरमा बनाइका पोखरीका माछाहरु बगेर नष्ट भए । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा आदिको मात्र ८० प्रतिशत धानखेत डुबान र बाढीले नष्ट ग¥यो । तेह्र अर्बको माछा नष्ट भयो । करोडौंको तरकारी नष्ट भयो, अरबौंको धनमाल नष्ट भयो । सयौं किलोमिटर सडक भत्किए । सयौं पुलहरु बगायो । त्यो वर्षको बाढीले विराटनगरको विमानस्थल नै पुरिदियो र १० करोड भन्दा बढीको नोक्सानी भयो । हप्तादिन भन्दा बढी हवाई सुविधा नै ठप्प भयो । त्यति मात्र हैन बाढीले राष्ट्रिय निकुञ्जमा जनावर पनि प्रभावित भए । चितवनमा एउटा दुई वर्षको गैंडा म¥यो भने तीनबटा गैंडा बगेर भारत पुगे । बाँके राष्ट्रिय निकुञ्जमा रहेका ३० वटा कृष्णसार बाढीले गर्दा मरे । बाढीले सबैभन्दा बढी क्षति पूर्वी तराईका जिल्लाहरुमा गरेको भए तापनि बाढीको चपेटाले झापादेखि कञ्चनपुरसम्मको सिंगो तराई क्षेत्र नै प्रभावमा प¥यो ।
२०७६ साल असार र साउन महिनामा आएको बाढीले तराईका रौतहट, सिराहा, महोत्तरी लगायत विभिन्न जिल्लाहरुमा थुप्रै गाउँहरु जलमग्न भए र धनजनको ठूलो क्षति भयो । काठमाडौंका बागमती, विष्णुमती, टुकुचा, मनोहरा आदि खोलामा पनि बाढी आएर ठूलै नोक्सान भयो । त्यही समयमा गुल्मी लगायतका विभिन्न जिल्लाहरुमा पहिरो गई धनजनको नोक्सानी ग¥यो । सधैं झंै यो वर्ष पनि बाढी र पहिरोले बालीनालीको पनि ठूलो नोक्सान भएको छ । हजारौं पशुपक्षीहरु बगेका छन् । सयौं हेक्टरमा बनाइका पोखरीका माछाहरु बगेर नष्ट भएका छन् । रौतहटमा त ८० प्रतिशत गाउँ नै डुबानमा प¥यो । अरबौंको धनमाल नाश भयो ।
Advertisement 2
२०६६ पछिको तथ्यांकलाई हेर्दा २०६६, २०७१, २०७३ र २०७४ मा बाढी पहिरोको कारण नेपालमा मृत्यु हुनेको संख्या ४०० नाघेको भए तापनि अरु वर्ष हरुमा ४०० भन्दा कम रहेको तर विगत दुई वर्षमा यो संख्या ह्वात्तै बढेको छ । २०७७ मा बाढी पहिरोको कारण ५९० जना र २०७८ मा ४९० जनाको ज्यान गएको छ । २०७८ को असार ७ मा सिन्धुपाल्चोकको मेलम्ची बजारका पैंतालीस घरहरुमा क्षति भयो । असोजमा आएको बाढीले तराईका फाँटहरुमा पाकेको धानबाली नष्ट ग¥यो ।
पहाडहरुमा पहिरो आउने कारण त वन विनाश, अव्यवस्थित बसोबास, जथाभावी सडक निर्माण आदि हो भने तराईमा बाढीको प्रकोप हुनुको प्रमुख कारण भनेको चुरेको अत्यधिक दोहन नै हो । पूर्वी नेपालको चुरे पहाड अत्यधिक दोहनमा परेको छ । त्यहाँको जंगल फँडानीको कारण र बालुवा उत्खनन्का कारण चुरे पहाड नांगो भएको छ । यस्तो अवस्थामा वर्षामा परेको पानी जमीनले सोस्न नसकी सीधै खोलामा जान्छ र उक्त पानीले माटो, बालुवा, गिट्टी समेत बगाएर लैजान्छ । यसले गर्दा खोलामा पानीको आयतन बढ्न जान्छ र पानी खोलामा नअटी बस्तीतर्फ प्रवेश गर्दछ र बाढी आउँछ ।
Advertisement 3
खोलाखहरेहरुमा रहेका चट्टान र ठूला ढुंगाहरुले केही हदसम्म पानीको वेगलाई रोकेर जमीनमा पानी सोसिने अवस्था आउँथ्यो भने ती चट्टान र ढुंगाहरुलाई मानिसहरुले निकाली दिँदा पानीको बेगलाई रोक्ने र वर्षाको पानी जमीनमा सोसिने प्राकृतिक प्रक्रियामा नै प्रतिकूल प्रभाव पारेको छ । यसले बाढीको प्रकोपलाई बढाइदिन्छ । प्रत्येक वर्ष चुरे क्षेत्रको वन १.७ प्रतिशतका दरले कम हुँदै गएको छ । यसले जमीनको पानी सोस्ने क्षमतालाई घटाउँछ ।
केही वर्ष यता चुरे, भावर र दून क्षेत्रमा यस स्थानको क्षमता भन्दा बढी अव्यवस्थित बसोवास बढ्दै गएको छ । चुरेको फेदीका कयौं स्थानबाट ढुंगा, माटो, गिट्टी निकालिएको छ । यसले गर्दा नदीले मार्ग परिवर्तन गर्ने, पहिरो जाने, वर्षाको पानीले ग्रेगर र माटो बगाएर खोलाहरुमा थुपार्ने, त्यसले नदीको सतह उकासिने र नदीनालाहरुको पानी बस्तीतिर गई बाढी आउने अवस्थाको सिर्जना भएको हो । अहिले खोला नजिकै क्रसर राखेर स्क्याभेटर लगाई चुरे क्षेत्रका नदीहरुबाट ढुंगा, गिट्टी, बालुवा निकालिएको छ । पूर्वदेखि हेर्ने हो भने औरडी खोला, कमला, चारनाथ, रातु, बकैया, दधौरा, धनासार, बागमती, चादी, लमाहा, लखनदेवी, खुरी, माहुली, कालीखोला, पूर्वी राप्ती, मनहरी, लोथर, झरही, अरुण खोला, विनयी, बौलाहा, डन्डा, पत्थरखोला आदि खोलाहरुमा नजिकै क्रसर राखी क्रसर व्यवसायीहरुले अत्यधिक नदीहरुको दोहन गरेको पाइन्छ । यस खालको क्रियाकलापले पनि बाढीलाई सघाइरहेको छ ।
बाढीको अर्को कारण हामीले बनाएका अव्यवस्थित र अवैज्ञानिक संरचनाहरु पनि हुन् । पहुँच पु¥याउन सक्नेहरुले प्रशासनलाई दबाब दिएर नदी र खोलाहरुमा छाँद बाँध, कल्भर्ट, पुल आदि निर्माण गरेका हुन्छन् । एकातर्फ बनाएको यस्ता संरचनाले अर्को किनारतर्फ पानीलाई धकेली त्यसतर्फको जमीन भत्काएर बस्तीमा बाढी पस्ने अवस्था पनि आएको देखिन्छ । खोलामा निर्माण गरिएका साँघुरा पुल, कल्भर्टहरुमा वर्षाको पानी नअट्दा पानीले दायाँबायाँ भत्काएर बस्ती र खेतबारीमा बाढी पस्ने अवस्था आएको देखिन्छ ।
तराईका कतिपय स्थानमा बाढी आउन र डुबान हुन सहयोग गर्ने अर्का संरचना भनेका हाम्रा पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग र अन्य शाखा मार्गहरु पनि हुन् । हाम्रा यी सडक र बाटाहरुमा बनाएका साँघुरा पुल र कल्भर्टहरुले वर्षायाममा खोलामा आएको बाढीलाई थाम्न नसकी पानी थुनिन गई केही स्थानहरु डुबानमा पर्ने अवस्था आउँछ भने अर्को खोलाको पुल र कल्भर्टहरुबाट जान नसकेको पानी स्वतः दायाँबायाँको जमीनतर्फ मोडिँदा जमीन र बस्तीको कटान गर्ने हुन्छ । यस अवस्थाले पनि तराईमा बाढीको समस्या झनै जटिल बनेको हो ।
तराई डुब्नुको प्रमुख कारण भारतले बनाएको बाँध, नदीको बहावलाई छेक्ने गरी बनाएको तटबन्ध, अग्लो गरी निर्माण गरिएका सडकहरु नै हुन् । भारतले सिमा क्षेत्रको नजिकै राप्तीमा (१९८५मा) बनाएको लक्षमणपुर बाँधले नेपालतर्फ बाँकेका १२ गाउँ बर्षेनी डुबानमा पर्दछन् । लक्ष्मणपुर बाँधसँगै जोडेर २०५६ मा निर्माण गरेको कलकलैया बाँध पनि नेपालको लागि अभिशाप बनेको छ । महाकालीमा मिसिने भारतको धार्चलामा रहेको धौलीगंगामा बनाइएको बाँध खोली दिँदा २०७० असार १ मा नेपालको दार्चुलामा बाढी आई ठूलो नोक्सानी भयो ।
त्यसै गरी दाङको सिमाक्षेत्र नजिकै बनाएको कोइलावास बाँधले वर्षेनी नेपाल तर्फका तीन हजार भन्दा बढी नेपालीका घर जग्गा डुबानमा पर्दछन् । कपिलवस्तुको सिमाना नजिकै भारतले २०५९ मा निर्माण गरेको महलीसागर बाँधले १९१ हे. जमीन त सुख्खा मौसममा पनि डुबानमा पर्दछ । त्यसै गरी भारतले बनाएको रसियावाल खुर्दलोटन बाँधले रुपन्देहीको मर्चावार क्षेत्रका करिब १८ गाउँ बर्षेनी डुबानमा पर्ने जोखिममा छन् । त्यस्तै सिद्धार्थनगर–२ को दक्षिणमा निर्माण गरेको डण्डा फरेना बाँधले पनि नेपाली भूभागमा डुबान गर्दछ ।
भारतले २०३७ मा निर्माण गरेको बैरगरिया तटबन्धले बागमती र लालवकैयाको बहावलाई नै बदलिदिएर रौतहटको गौरसम्मका गाउँहरु डुबानमा पर्दछन् । यसले गर्दा यो वर्ष पनि रौतहटमा ठूलो नोक्सान भएको छ । कमला नदीमा बनाएको तटबन्धले लाहान नगरपालिकाको केही वार्डका बस्तीमा नोक्सान गरेको देखिन्छ । त्यसैगरी सिराहा तटबन्धले सिराहाका केही गाउँहरु र कुरौली तटबन्धले सप्तरीको राजविराज लगायत केही गाउँहरु डुबानमा परेको देखिन्छ ।
त्यस्तैगरी भारतले लूना नदीमा बाँधेको बाँधले मोरङका धेरै गाउँहरु प्रभावित छन् । बाँध र तटबन्ध मात्र हैन भारतले सीमा क्षेत्रमा बनाएका सडकहरुले पनि नेपालका भूमि डुबानमा पर्दै आएका छन् । उदाहरणको लागि भारतले अग्लो गरी बनाएको सडकको कारण नेपालको सबैभन्दा होचो बस्ती झापाको कचनकवल गाउँपालिकाको केचना विगत केही वर्षदेखि डुबानमा पर्दै आएको छ ।
तराईलाई बाढीको चपेटा र डुवानबाट बचाउन चुरे र त्यहाँ भएको वनलाई जोगाउनु पर्दछ । अत्यधिक दोहनलाई रोक्नु पर्दछ । पहाडमा हुने भूक्षयको नियन्त्रण गर्नु पर्दछ । सडक बाटो आदिको निर्माण गर्दा बायो इञ्जिनियरिङ प्रविधि अपनाउनु पर्दछ । चुरे दोहनको नियन्त्रण गर्नु पर्दछ र क्रसर व्यवसायलाई व्यवस्थित गर्न नियमित अनुगमन गर्नु पर्दछ । भूउपयोग सम्बन्धी नीति र संसदीय समितिले दिएका निर्देशनको पालना सबै सरोकारवालाहरुले गर्नु पर्दछ । विकासका संरचना बनाउँदा वैज्ञानिक रुपले व्यवस्थित गरेर बनाउनु पर्दछ । भारतबाट निर्माण गरिएका बाँध, तटबन्ध र सडकको बारेमा भारतसँग बेलैमा कुराकानी अगाडि बढाउनु जरुरी छ । बाढी आउँदा चासो देखाउने तर अघिपछि चासो नदेखाउने कुराले हामी बर्सेनी समस्यामा परेका हौं । यो कुरालाई सबैले बुझ्नु पर्दछ ।
मौसम विज्ञान निकायको रिपोर्ट अनुसार यो वर्षको मनसुनले झनै भारी वर्षा ल्याउने र बाढीको कारण १७ लाख मानिस प्रभावित हुने आनुमान गरेको छ । त्यसैले प्रकोपलाई न्यूनिकरण गर्न स्थानीय सरकारहरु र सबै सरोकारवालाहरुले बेलैमा सोचेर सावधानी अपनाउनु पर्दछ ।