विदेश र विदेशी
विदेश र विदेशी अचेल धेरै बुद्धिजीवीहरुबाट विदेशी हस्तक्षेपका कुरा आउँछन् । साधारण जनतामा पनि विदेशीप्रति शंका , भय र किन्चित द्वेष समेत छ । जो नितान्त स्वाभाविक हो ।तर विडम्बना ! आज संसारमा जति पनि मानिस बसोवास गर्छन् , ती सबै विदेशी हुन् । फरक यत्ति हो – कोही अलि पुराना र कोही अलि नयाँ विदेशी हुन् ।हामीले साह्रै प्रशंसा गर्ने लिच्छवीहरु विदेशी हुन् । त्यो समयलाई नेपाली इतिहासको स्वर्णकाल मानिन्छ । हाम्रा शाह खानदानका राजाहरु आफै विदेशी हुन् । अथवा अलि पुराना स्वदेशवासी भए तापनि आफूलाई ठूलो खान्दान देखाउन आफैलाई विदेशी भनेर प्रचार गर्ने तिनै हुन् ।
Advertisement 1
त्यतिले नपुगेर कुवर खान्दानका जङ्ग बहादुरले राजा सुरेन्द्रलाई हाम्रा पूर्वज पनि तिम्रा जस्तै चित्तौडबाट आएका राजपुत हुन् भनेर राणा थर मात्र धारण गरेनन् , राजाका छोरीलाई बुहारी र छोरालाइ ज्वाईं समेत बनाए । राजा पृथ्वीनारायण शाहले विदेशबाटै हतियार र कालिगड ल्याए । विवाह पनि काशीतिरै गरे । गोत्र परिवर्तन पनि उतै । राजा रणबहादुर जोगी भएर विदेशै गए । भीमसेन थापाले एक विदेशीसङ्ग लड्न अर्को विदेशीको सहयोग मागे , पाएनन् । जङ्ग बहादुर विदेशकै लागि फौज लिएर लखनौ गए । राजा राजेन्द्र कोतको बीभत्स घटनाबाट डराएर लैनचौरको ढोका हान्न पुगे , तर ढोका खुलेन । राजा त्रिभुवन त्यही ढोका हान्न गए । ढोका मात्र खुलेन हवाइजहाज नै आयो । बीपी , गणेशमान , डिल्लीरमण , पुष्पलाल आदि विदेश गएर राजनीति सिके / गरे । डा. के आई सिंह पनि विदीशतिरै कुदे ।
प्रचण्ड , बाबुराम आदि उतै बसेर नेपालीलाई सोत्तर पारे।पृथ्वीनारायण शाहको पालामा हारेका राजाहरु कतिपय दक्षिण र कोही उत्तरको विदेशतिर भास्सिए । उनकै भाइ छोरा विदेश गएर ज्यान जोगाए । राणाको समयमा राणालाई नै थुन्न विदेश पुर्याइयो । राणाको कोपमा परेका उतै गए । प्रथम र द्वितीय विश्वयुद्धमा लडे नेपाली विदेशीकै खातिर । सगरमाथा सर्वोच्च भनेर पत्तो लगाउने विदेशी । बुद्धको जन्म भएको ठाउँ चिनाइदिने विदेशी । त्यो चिनारी खोजेर देखाइदिने विदेशी । हामीलाई त फिरङ्गीले धर्मनिरपेक्ष बनायो । नेपाललाई हिन्दू राष्ट्र बनाउन हाम्रा जनता तयार छन् भन्ने विदेशी । नेपालको सीमा मिच्दा शरम नमान्ने त्यही विदेशी । नेपालमा हिन्दू छन भनेर चिन्ता लिने विदेशी । नेपाल हिन्दूराष्ट्र रहेन , बरबाद भयो भनेर चिन्ता गर्ने पनि विदेशी ।नेपालमा सरकार बनाउने ढाल्ने विदेशी । अहिले २७२ मिलियन आप्रवासी छन विश्वमा । पछि उनीहरु त्यहाँका आदिवासी हुनेछन् ।
Advertisement 2
कार्ल मार्क्स र लेनिनले विदेशमै बसेर लेखे । अहिले पनि यो संसारमा आफ्नो देश फर्के मारिने पक्का हुँदा विदेशमा बस्ने अनेक छन् । खानेकुरा , अन्न फलफूल सबै विदेशी । कोही पुराना कोही नया ।चरा विदेश जान्छन आफ्नो भूमिको ऋतुको मारबाट जोगिन । वनस्पतीहरु पनि एक नम्बरका हस्तक्षेपकारी छन् । यो संसारमा धर्म विदेशी , संस्कृति विदेशी , राजनीतिक प्रणाली विदेशी । धेरै नेपाली छोराछोरीको लक्ष्य विदेशी बन्नुमा छ ।
विदेशीको सास गन्हाउने बाहरु “ए छोरा / छोरी ! डीभी भरिस” भन्न बिर्सन्नन् । कोही नेपालमा सहज काम गर्न रुचिकर नलागेर थ्री डी काम गर्न विदेश जाने पनि छन् ।हुँदा हुँदा रोग समेत विदेशी । परन्तु – हामी नेपाली हौँ । हामीलाई हाम्रो देश प्राणभन्दा प्यारो छ । खबरदार विदेशी ! यता नताक् उतै बस् ।