सचिव रेग्मीको एक्सन :- खेलकुद विश्वविद्यालय खोल्नेदेखि नियमावली बनाउने तयारीसम्म
स्वर सम्राट नारायण गोपालको एउटा चर्चित गीत छ,एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा……… । हो, यस्तै एउटा असल र इमान्दार कर्मचारीको प्रभावले कति फरक पार्दछ निजामती वृत्तमा आज हामी यहीँ बिषयबस्तु कोट्याउँदैछौं ।
Advertisement 1
कुनै पनि संस्था ठूलो होस वा सानो,त्यो संस्थाको कमाण्ड गर्ने पात्र र उस्को नियत असल भएको खण्डमा ढिलो चाँडो त्यसले सकरात्मक परिणाम दिन्छ नै । निजामती वृत्तमा अधिकांश कर्मचारी दश- पाँचको जागिरे जीवनशैलीमा केन्द्रित छन,यसमा थोरै कर्मचारीमात्र अपवाद भेटिन्छन्,तिनै अपवादमध्येका एक हुन भन्दा अत्युक्ति नहोला डा दामोदर रेग्मीलाई । पाल्पामा जन्मिएका रेग्मी अहिले नेपाल सरकारका सचिव छन् ।
सह सचिवको रुपमा कार्यरत रहँदा उनी केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासनका हाकिम थिए । त्यही समय कर्मचारीको समायोजन चल्दैथियो उनले यति वैज्ञानिक ढंगले समायोजन टुंग्याए कि त्यसमा कतै,कसैको असन्तृष्टीका स्वर सुनिएन । जबकी सामान्य प्रशासनले गरेको कर्मचारी समायोजनविरुद्ध अदालतमा मुद्धा मामिलासम्म जल्यो । त्यसको गाँठो अझैं जेलिरहेको छ ।
सचिवमा बढुवा भएर गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा केही समय काम गरेर उनी अहिले युवा तथा खेलकुद मन्त्रालयको सचिवको कुर्सीमा छन् । त्यहाँ रहेको चार महिना हुँदैछ । एउटा कर्मचारीले चार महिना समयमा गर्न सक्छ नै के ? तर मनमा दृढ संकल्प,कामप्रतिको लगाव र केही गरौं भन्ने हुटहुटी हुने हो भने चार महिनामै पनि धेरै सुधार गर्न सकिदो रहेछ भन्ने उदाहरण हुन उनी । उनले त्यहाँ रहेर अहिलेसम्म धेरै सुधारका यत्नहरु गरेका छन्,जो हामीले खोतल्ने प्रयास गरेका छौं :-
Advertisement 2
युवा तथा खेलकुद मन्त्रालय आफू एक्लै छैन । मन्त्रालयअन्तर्गत ४ वटा निकायहरु छन् । राष्ट्रिय युवा परिषद्ले युवाहरुलाई सीप सिकाउने काम गर्छ, व्यवसायमा कसरी सहभागी हुने, देशभित्रैका युवाहरुको क्षमतालाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाउछ । युवा साना स्वरोजगार कोषले सहकारीमार्फत सस्तो ब्याजदरमा युवाहरुलाई ऋण प्रदान गर्छ । नेपाल स्काउटले सवंयसेवामा युवाहरुलाई परिचालन गर्छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलको समग्र व्यवस्थापन, विकास र खेलाडी उत्पादन गर्छ । तर, मन्त्रालय हाँक्न यी चार अंगहरु हुँदाहुँदै पनि मन्त्रालय अशक्तजस्तो किन देखिन्छ ?
मन्त्रालयका सचिव दामोदर रेग्मी भन्छन्, ‘मन्त्रालयको कार्यक्षेत्र व्यापक छ । गर्नुपर्ने काम धेरै छन् । तर, अहिलेको अवस्था नियाल्दा मन्त्रालयसँग विभिन्न निकायबीच समन्वय अभावका कारण गति लिन नसकेको हो कि भन्ने प्रष्टिन्छ ।’ मूलतः मन्त्रालयले लामो समयदेखि बजेट लगानी हुन नसक्नु, खेलकुद पूर्वाधार तयार नहुनु, आवश्यक मात्रामा युवाहरुलाई सीप र स्वरोजगार प्रदान गर्न नसक्नुमै समस्या देखिन्छ ।
Advertisement 3
मन्त्रालयको यहीँ पृष्ठभूमीको बीचमा सचिव रेग्मी मन्त्रालयमा आए । मन्त्रालयमा आएपछि उनले पहिलो एक्सन थाले– कर्मचारीको कार्यालय समय व्यवस्थापन । नेतृत्व नहुँदा कार्यालय समयमा फुक्काफाल कर्मचारीहरु अहिले काममा व्यस्त छन् । सचिव रेग्मी भन्छन्, ‘अहिले कार्यायलको समय व्यवस्थापन सजिलैसँग भइरहेको छ । हामी सबै वार्षिक कार्यक्रमको टार्गेटमा लागिरपरेका छौँ । सरकारले छुट्टाएको बजेट सत प्रतिशत सदुपयोग गर्ने उद्धेश्य लिएका छौँ ।’
सचिव रेग्मी आएपछि कार्यालय समय व्यवस्थापनसँगै मन्त्रालयअन्तर्गतका निकायहरुबीच तादम्यता मिलेको हो त ? राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा परिषद् स्काउट र स्वरोजगार कोषमा नेतृत्व फेरिएसँगै नियुक्ति पाएका विरुद्ध मुद्धा दर्ता भएपछि यसले नयाँ मोड लियो । र, अदालतको फैसलासँगै राखेपबाहेक ३ निकाय बामे सर्ने तरखरमा छन् । तर, राखेपको लफडा अझैँ सल्टिन बाँकी छ । अदालतबाट फैसला नभइन्जेल यी निकाय दह्रो भइ अघि बढ्न सक्ने अवस्था छैन । तैपनि क्याबिनेटले ९८ प्रतिशत बजेट ओगटेका राखेपमा त्यहाँकै वरिष्ठ कर्मचारीलाई निमित्त प्रमुख दिएपछि अहिले केही सजिलो भएको सचिव रेग्मी बताउछन् ।
९८ प्रतिशत बजेट ओगटेको राखेप सदस्यको लफडा कसरी समाधान गर्ने त ? अदालतमा बहस जारी भइरहेको अवस्था र फैसला नभइन्जेल यहीँ भन्न नसकिने सचिव रेग्मीको भनाइ छ । यद्यपि, राखेप रिक्तताको समस्याले भने मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वनमा मात्रै नभइ खेल पूर्वाधार सम्पन्न नहुँदा लागत झन् बढ्ने सचिव रेग्मी सुनाउँछन् । उनका अनुसार पूर्वाधार नभएसम्म खेल अघि बढ्दैन, खेलाडीले प्रतिस्पर्धा गर्न सक्दैन ।
मन्त्रालयका यी निकायहरु हलचल भएको अवस्थामा सचिव रेग्मी जिम्मेवारीलाई झन् दरिलो बनाउन तल्लीन छन् । उनी मन्त्रालयले गरेर देखाउने सक्ने व्यापक सम्भावनालाई खेर पठाउन नहुँने र विगतका कमीकमजोरीलाई सच्याएर आगामी दिनमा अघि बढ्नुपर्ने बताउछन । उनका अनुसार अहिले खेलाडीहरुलाई प्रोत्साहन दिने काम भइरहेको छ । विशेषगरी साफ खेलमा नेपाल दोस्रो स्थानमा रहँदा महिला टोली भलिबलमा पहिलो भयो । यी दुवै टिमलाई आगामी दिनमा अझ मनोबल बढाउन र पुरस्कृत पनि गरिएको छ ।
खेलकुद खेल मात्र होइन व्यवसायिक विद्या पनि हो । यसैलाई मध्यनजर गर्दै अब खेलकुद विश्वविद्यालय खोल्ने कि पाठ्यक्रममा मात्र खेलकुद राख्ने ? भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाल अनुसन्धान केन्द्र (सिनास) सँग सहकार्य भएको सचिव रेग्मीको भनाइ छ । उनका अनुसार यो महिनाभित्र सिनासले प्रतिवेदन पेश गर्ने तयारीमा छ । प्रतिवेदनले नेपालमा खेलकुद विश्वविद्यालय आवश्यक छ कि छैन, यदि सम्भव भएको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्ने तय गर्नेछ । साथै, खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गरिने पनि सचिव रेग्मी सुनाउछन् । विश्वका खेलाडी र नेपाली खेलाडीको स्तर नाप्न, ग्याप पत्ता लगाउन यो कदम चालिएको छ ।
सचिव रेग्मीकै कमाण्डमा नेपाल संस्कृत विश्वविद्यालयसँग मानवता प्रवद्र्धन र युवाको क्षमता अभिृवृद्धी गर्न सहकार्यको ढोका खुला भएको छ । खेलकुद नियमावली कानुन मन्त्रालयमा पठाइएकोछ । मन्त्रालयले नियमावली परामर्श गरेर क्याबिनेटमा पठाउने तयारीमा छ । मन्त्री सचिवका अनुसार सम्भवत एक महिनाको अवधिमा यस्ले पूर्णता पाउँने खबर छ । नियमावलीमा कर्मचारी समायोजन, सदस्य सचिवको काम, कर्तव्य र अधिकार व्यवस्थापन, खेलको भौतिक पूर्वाधारमा विकास, अन्तर्राष्ट्रिय स्तरमा लड्न खेलाडीलाई प्रोत्साहनलगायत थुप्रै महत्वपूर्ण बुँदाहरु समेटिएका छन् ।
मन्त्रायलाको पूरानै युवा तथा खेलकुद नीतिले काम गर्न नसक्दा फेरिएको सचिव रेग्मी बताउछन् । उनका अनुसार संघीय संरचनाअनुसार नीति नभएको र बद्लिदो अवस्थालाई मध्यनजर गरेर नीति अघि बढाएका छौँ । अब, बन्ने नयाँ नियमावलीले तत्कालै लाभ लिइन्छ भन्ने भन्दा पनि आगामी खेल क्षेत्र र नेतृत्वमा सहजता प्रदान गर्ने सचिव रेग्मीको ठोकुवा छ ।
मन्त्रालयमा सचिव समग्र कर्मचारीको कमाण्डर हुन् । तर, कर्मचारीको साथ नमिले बबण्डर मच्चिन्छ । अहिले खेलकुद मन्त्रालयमा ६० दरबन्दीमध्ये १ सचिव, २ सहसचिव, ८ उपसचिव र १५ सेक्सन अफिसरले काम चलिरहेको छ । मन्त्रालयमा ३ उपसचिव (शिक्षक २, प्राविधिक १), १० सेक्सन अफिसर, ५ सुब्बाको दरबन्दी छैन । तैपनि सचिव रेग्मी साहसका साथ मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।
खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयसँग तुलना गर्दा निम्छरो मानिन्छ । कर्मचारीहरुको पहिलो रोजाई मलदार अड्डा नै पर्छ । भनसुन र तागतले नभ्याउने कर्मचारीहरु खेलकुद मन्त्रालयमा बाध्य भएर थच्चिनुपरेको कर्मचारीहरुको व्यथा पनि व्याप्त छ । अब, यो मन्त्रालयमा पनि तछाडमछाड गरेर कर्मचारी आउने वातावरण कसरी जुट्ला ? भन्ने प्रश्नमा सचिव रेग्मी तछाडमछाडको प्रवृत्तिबाट टाढा रहेर कर्मचारीको ‘पर्फमेन्स’ का आधारमा ल्याउने वातावरण बन्न जरुरी देख्छन् ।
उनी भन्छन्, ‘कर्मचारीको पर्फमेन्स बढ्न जरुरी छ । र, पर्फमेन्सकै आधारमा कर्मचारी सरुवाको काम गरिनुपर्छ ।’ मन्त्रालयको हकमा हेर्दा कर्मचारीको पर्फमेन्सभन्दा बजेट कमीका कारण असहज सिर्जना भएको देख्छन् सचिव रेग्मी । वर्षेनी सरकारले घोषणा गरेको बजेट सिलिङमा यो मन्त्रालयलाई सबैभन्दा पुच्छारमा राखिने गरिएको छ । बजेटको १ प्रतिशतभन्दा पनि कम रकमान्तर भएपछि कार्यक्रम पनि कम हुने नै भयो । बजेट न्यून छुटिएका कारण कार्यक्रम पनि कम हुनु र कर्मचारीको रोजाइ पनि कम हुनु सामान्य नै ठान्दछन् सचिव रेग्मी । मन्त्रालयमा आएको ४ महिनाको अवधिमा वर्तमान परिवेशलाई सुधार गर्दै अघि बढिरहेका सचिव रेग्मी यहाँ आएर कुनै हीनताबोध नभएको पनि बताउँछन् ।
मन्त्रालयपिच्छे राजनीतिक भर्ति केन्द्र नभएको चोखो मन्त्रालय छैन । मन्त्रालयको अध्यक्ष मन्त्री हो । मन्त्रीपछिको सेकेन्डम्यान भनेको सरकारले नियुक्ति गरेको व्यक्ति हो । जुन व्यक्ति राजनीतिक नियुक्ति भएर आउने गरेको यसअघिदेखिकै परिपाटी बसिसकेको छ । अद्यापि यो प्रवृत्तिलाई हटाउने भन्दा पनि झन् मलजल गर्ने गरिएको छ । यस विषयमा सचिव रेग्मी खेल र खेलाडीको आस्था बढाउने त्यस्तो सच्चा व्यक्तिको अपरिहार्यता रहेको बताउछन् । उनी भन्छन्, ‘राजनीतिक आस्था भन्दा पनि खेल र खेलाडीको आस्थालाई बढाउने व्यक्तिलाई नियुक्ति दिनुपर्छ । विशेषगरी मन्त्रालयको अभिभावक, अध्यक्ष जे भने पनि मन्त्री हुने भएकाले मन्त्री र मन्त्रालयले यो सबै प्रवृत्ति हटाउनुपर्छ ।’
(युवा तथा खेलकुद मन्त्रालयका सचिव डा रेग्मीसँग गरिएको कुराकानीमा आधारित अंश)