वैदेशिक रोजागारीमा देखिएका समस्या र चुनौती, सुधारका लागि वोर्डले गरिरहेको प्रयत्न
चार दशक अघि जन्मिए इटहरीमा । शिक्षकको छोरा, छुट्टै सान र मान थियो समाजमा । पिता सरकारी जागिरे भएका कारण स्थिर भएन पढाई,जता जता सरुवा हुन्थ्यो उतै पुग्दथें,उनी पनि ।
पढाईकै सिलसिलामा कहिले उक्लिए पाँचथर, झरे कहिले इटहरी । प्राथमिक शिक्षा पाँचथरमा माध्यमिक र दश जोड दुई (प्लस टु) इटरीबाट सकाए । पढाईमा अब्बल भएका कारण रोजेका थिए विज्ञान, महेन्द्र मोरङ कलेजबाट विएस्सी पार लगाएपछि पाइला मोडियो राजधानी खाल्डोतिर । कीर्तिपुरबाट एमएस्सी उत्र्तीण गरे पछि शिक्षण पेशामा हामफाले । झण्डै पाँच बर्ष धनकुटा बहुमुखी क्याम्पसमा प्रध्यापनमा बिताए,त्यो करारको जागिर थियो ।शिक्षणमा रमेन दिल । त्यही कारण यूटर्न भए शिक्षा सेवा छाडेर निजामतीतिर । लोकसेवा लडे,अधिकृतको परीक्षा दिए । पढाईमा अब्बल थिए,सहजै पार लगाए र ०६८ सालबाट सरकारी कर्मचारीको रुपमा पाइला राखे ।
Advertisement 1
मान्छेले सबै कुरा भुल्न सक्ला र सक्दैन भुल्न आफ्नो इतिहास । पहिलो पोष्टिङ्ग थियो सूचना आयोगमा । सरकारी जागिरको सिलसिलामा महिला बालबालिका तथा जेष्ठ मन्त्रालय हुँदै २ बर्ष जिल्ला निर्वाचन कार्यालयको प्रमुख भएर पाँचथर र धादिङ जिल्ला कमाण्ड गरे । निजामती सेवामा पाइला राखेको चार बर्षमै उपसचिवमा नाम निकाले, खुलातर्फबाट । पहिलो पोष्टिङ भयो राष्ट्रिय पुननिर्माण प्रधिकरणमा । भूकम्पको समयमा उनी सो कार्यलयमा करिव डेढ बर्ष बिताए पनि सञ्चार मन्त्रालय मातहतको हुलाक सेवा विभागमा खटिए निमित्तको रुपमा । सरकारी कर्मचारीको नियति फुटबलजस्तै हो,कहिले उता तानिए,कहिले यता । हुलाकबाट पर्यटन मन्त्रालयमा खटाइएको केही समय पछि स्थानीय तहको जिम्मेवारी दिइएर पठाइयो नमोबुद्ध नगरपालिकामा । सो पालिकामा २ बर्ष कार्यकारी प्रमुख भएर चलाएका पौडेल केही समयदेखि बैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यरत छन् । उनै पौडेलसँग इकर्मचारी डटकमले वैदेशिक रोजगारको अबस्था,समस्या र सामाधानका उपायको सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित अंश
१२ प्रतिशत महिला वैदेशिक श्रममा
सरकारी आँकडा भन्दछ,दैनिक २२ सय हाराहारी युवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट निस्कछन्,रोजगारीको खोजीमा वैदेशिक मुलुकमा । देशभित्र रोजगारीको उपयुक्त अवसर नपाइँदा उज्ववल भविष्यको खोजीमा बैदेशिक रोजगारीमा जाने नेपालीको लर्काे बढ्दैछ ।
श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा जानेहरुको संख्या ०८० साल आसार सम्ममा ५० लाख कटेको सरकारी आँकडा छ । ८८ प्रतिशत युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिँदा १२ प्रतिशत हाराहारी महिला रहेको अनुमान गरिएको छ ।
Advertisement 2
बोर्डले के गर्दछ ?
बैदेशिक रोजगारलाई प्रवद्र्धन गर्न, यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका अलवा वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको स्थापना भएको हो । पौडेलका अनुसार बोर्डको मुख्य काम नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी,अध्ययन गर्ने,गराउनेदेखि वैदेशिक रोजगार प्रवद्र्धनका लागि सूचना सङ्कलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षणसम्बन्धी आवश्यक कार्य गर्ने, विदेशबाट फर्की आएका कामदारको सीप, पूँजी र उसले विदेशमा सिकेको प्रविधि उपयोग गरी राष्ट्रहितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने लगायत रहेको छ ।
यस्का अलवा वोर्डले विभिन्न देशसँग श्रम सम्झौतासम्बन्धी आवश्यक कार्य गर्ने, वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्नेका काम गर्दै आएको छ । यस्तै,तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत गर्ने, वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने काम पनि यही निकायले गर्दछ । कामदार र व्यवसायीको हकहितको संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने, वैदेशिक रोजगार ऐनको कार्यान्वयन सम्बन्धमा समष्टीगत रुपमा अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने साथै कानूनको पुनरावलोकन गर्नुपर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने काम गर्ने निकाय पनि यही हो ।
सुधारका यत्नहरु ः
बैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित र मर्यादित गराउदै नेपाली कामदार तथा उनीहरुको परिवारले यसबाट अधिकतम् लाभ प्राप्त गराउन निरन्तर प्रयासहरु भईरहेका उपसचिव पौडेल बताउँछन् । सुरक्षित बैदेशिक रोजगारको निम्ति नेपालले द्विपक्षीय श्रम सम्झौतालाई उच्च महत्व दिदै आएको छ । यस्तै नेपालको बैदेशिक रोजगारीको न्यूनतम पारश्रमिक निर्धारण गरी कार्यान्वयनमा ल्याईएको बैदेशिक रोजगारीको निमित्त मुलुकहरु सूचीकृत गर्दा नै प्रबद्र्धन लगायत अन्य शीर्षकगत खर्चको निर्धारण शुरु भएको छ ।
मुख्य श्रम गन्तव्यमा श्रम सहचारीको व्यवस्था गरिएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डको स्थपनाका साथै कल्याणकारी कोषको सृजना गरी बैधानिक तवरबाट रोजगारमा गएका नेपालीहरुलाई सहयोगको सुनिश्चितता गरिएको, आप्रवासन सूचना केन्द्रको स्थापना जस्ता महत्वपूर्ण कार्यहरु वोर्डले यो बीचमा गरेको उनी बताउँछन् ।
बैदेशिक रोजगार सम्बन्धी मुद्धाको छिटो छरितो किनारा लगाउनका लागि बैदेशिक रोजगार न्यायाधिकरणको स्थापना भएको छ । बैदेशिक रोजगारको क्षेत्रलाई समन्वयात्मक विकासका निम्ति परराष्ट्र मन्त्रालयसंग अन्तर मन्त्रालय संयुक्त संयन्त्र स्थापना पनि भएको छ । बैदेशिक रोजगार व्यवसायीहरुको आचार संहिताको निर्माण, मुख्य गन्तव्य मुलुक साउदी, कुवेत, कतार र युएईमा सेफ हाउसको स्थापना, सुरक्षित आप्रवासन सम्बन्धी बैदेशिक रोजगार नीति समेत तर्जुमा गरिएको छ । अर्काे उपलव्धी वैदेशिक रोजगार विभागबाट हुने नगद कारोवारलाई पूर्णत बैकिङ प्रणालीमा आवद्ध गरि भौचरबाट मात्र कारोवार व्यवस्था मिलाईएको छ । यस्ले आर्थिक पारदर्शिता बढाएको छ । वैदेशिक रोजगार विभागमा आउने उजुरीको बढ्दो आकार अध्ययन र अनुसन्धान व्यवस्था मिलाईएको छ । वैदेशिक रोजगारमा जाने कामदारहरुले गर्नु पर्ने बीमा प्रणालीमा सुधार गरी बीमा प्रिमियममा कम गराईनुका साथै कामदारलाई नेपालमा बिदामा आँउदा, दुर्घटना तथा अङ्गभङ्ग भएको अवस्थामा समेत यसको आकार अनुसार बीमा सुविधा पाउने, मृतक कामदारको शव ल्याउन र क्रिया खर्चसम्मका सुविधा थप भएका छन् । श्रम स्वीकृतिको नवीकरण प्रक्रियालाई सरलीकृत गरी तत्कालै स्वीकृति प्राप्त हुने व्यवस्था मिलाईएको अर्काे उपलव्धी मानिन्छ । विभागको काम कारवाहीलाई अनलाईनमा रुपान्तरण गरिएको छ । झुठा आश्वासनबाट ठगी गर्ने इजाजत पत्र वालाहरुको कारोवार रोक्का राख्ने, शीघ्र क्षतिपूर्ति भराउने कार्य प्रणाली गरिएको छ ।
Advertisement 3
५० करोड बढी क्षती सहायता
वैदेशिक रोजगारको सर्वथा महत्वपूर्ण पक्ष कामदारको सुरक्षा हो । यसक्रममा वैदेशिक रोजगारमा जाने कामदारलाई पूर्व निर्धारण गरेको पद, कम्पनी र सेवा सुविधाभन्दा फरक नहुने गरी श्रम स्वीकृति हुने व्यवस्था गरिएको छ । हालसम्म बोर्डले ५० करोड भन्दा बढी सहायता प्रदान गरेको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएका परिवारलाई, अंगभंग भएका कामदारलाई, कामदारको परिवारलाई औषधि उपचारका लािग, उद्धार गर्न, शव झिकाउन, मृतकको ठेगानासम्म शव पठाउन सहायता गर्दै आएको छ ।
वोर्डले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका कामदारको मृत्यु भएमा शव घरसम्म पु¥याउन ४ वटा कम्पनीसँग सम्झौता गरेको छ । कागजात पुरा भएपछि सहायता रकम लाभग्राहीको खातामै पठाउँदै आएको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारका सन्तानलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । कक्षा ८ सम्म वार्षिक ८ हजार र त्यो भन्दा माथि वार्षिक १२ हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाईलाई लक्षित गर्दै बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सुरु गरेको छ । उहाँहरूलाई परेको कुनै पनि स्वास्थ्य समस्याको बारेमा प्रवर्द्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेका हो । वोर्डका अनुसार,केही स्वास्थ्य समस्या परेको खण्डमा ९८५१३४५७०१ र ९८५१३४५७०२ दुई वटा नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गरी मेडिकल अधिकृतसँग भिडियोमा परामर्श गराउँदै आएको छ । मेडिकल अधिकृतसँग गरेको परामर्शले सुधार नभएको खण्डमा र ठूलो उपचारको खाँचो भएको खण्डमा साताको दुई दिन बुधवार र शुक्रवार विशेषज्ञहरूसँगको सेवा समेत दिँदै आएको छ ।
कहालीलाग्दो मृत्यु
श्रम र पसिना बगाउन विदेशिने नेपालीको संख्या बढ्दै गइरहेको छ । ०७५÷०७६ मा २ लाख ३६ हजार २ सय ८ जना वैदेशिक श्रमका लागि गएकामध्ये ७ सय ६३ ले ज्यान गुमाएका थिए । यस्तै अंगभंग हुनेको संख्या ३ सय ५४ रहेको वोर्डको आँकडा रहेको छ । ०७६÷०७७ मा १ लाख ९० हजार ४ सय ५३ वैदेशिक रोजागारीका लागि गएकामध्ये ६ सय ७२ ले ज्यान गुमाउँदा अंगभंग हुनेको संख्या २ सय ५५ रहेको बताइएको छ । यस्तै ०७७÷०७८ मा ७२ हजार २८१ जना श्रमका लागि विदेश पुग्दा १२ सय ४३ को मृत्यु र अंगभंग हुनेको संख्या १ सय ४३ रहेको तथ्यांक छ ।
०७८÷०७९ मा ६ लाख ३० हजार ९७ जना रोजगारीका लागि गएकामध्ये १४ सय ७९ को प्राण गएको र २ सय ४५ अङ्गभङ्ग भएका थिए । गत आर्थिक बर्षमा ६ लाख ५६ हजार ६ सय १० जना श्रमका लागि विदेश पुगेकामध्ये १२ सय २१ ले ज्यान गुमाएका र २ सय ७९ अङ्गभङ्ग भएका छन । हालसम्म बैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख १५ हजार ३ सय ७९ पुगेको छ । जसमध्य पुरुष ५० लाख ९१ हजार ७ सय ४६ र महिला ३ लाख २३ हजार ६ सय ३३ रहेका छन् । यस्तै हालसम्म ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाएका छन् भने २ हजार ४ सय ४ जनाको अंगभंग भएर फर्किएका छन् ।
समस्या र चुनौतीहरुः
हालका वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा देखिएको बढ्दो प्रवृत्तिसंगै, स्वदेशमा नै ठगी तथा अनियमितताका घटनाहरुमा वृद्धि, गन्तव्य मुलुकको सामाजिक सांस्कृतिक जीवन बारे पर्याप्त जानकारीको अभाव तथा गन्तव्य मुलुकमा वैदेशिक श्रमिकको अधिकार र सुरक्षा व्यवस्थाबारे पर्याप्त जानकारीको अभावमा हुने प्रमुख समस्या देखिएको छ । भारतसंगको खुला सिमानाका कारण अनौपचारिक मार्गबाट अवैध रुपमा हुने आप्रवासन, बेचबिखन र ओसारपसार जस्ता घटनाहरु पनि बढिरहेको छ । व्यवसायीहरु लाभग्राही हुने तर उत्तरदायी नहुने प्रवृत्ति, केन्द्रिकृत विभागीय संरचना र सेवा प्रवाहले परिवर्तित जनचाहनालाई सम्बोधन गर्न नसक्नाले वैदेशिक रोजगार क्षेत्रमा सुधारका निमित्त चौतर्फी दवाव समेत सृजना हुँदै गएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरु तथा तिनका परिवारका लागि सामाजिक सुरक्षा एवं पुनःएकीकरणका लागि उपयुक्त कार्यक्रमहरु सञ्चालन गर्ने तर्फ राज्यको ध्यान पुग्न सकेको छैन । यसर्थ वैदेशिक रोजगार व्यवस्थापनका समग्र पक्षमा सुशासनको अभिवृद्धि गर्दे यस क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक देखिन्छ ।