सचिव पदमा उम्मेद्धारी दिएका भट्टराईका के कस्ता छन् चुनावी एजेण्डा ?

पीचएडी स्कलर, राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका प्रमुख अभियन्ता भट्टराईको युनियन सचिवमा उम्मेद्धारी

Advertisement 1

अर्घाखाँचीमा जन्मेका प्रकाश भट्टराईको निजामति सेवामा बेग्लै छाप छ । अध्ययनको कुरा गर्दा स्नातकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण गरेका उनले राजनीतिशास्त्रमा विद्यावारिधी सकाउनै लागेका छन् । इमान्दार, मिलनसार र सेवामा दत्तचित्त भइ लागि पर्ने भट्टराईले अर्घाखाँचीमा रहँदा कयौँ उदाहरणीय काम गरेर छाप छाडेका छन् ।

निजामति सेवामा प्रवेश गरेको ६ महिनामै ट्रेड युनियनमा सक्रिय रुपमा लागि पर्दै आएका उनीसँग स्वार्थको कुनै भाव छैन । यहीँ भावनाले संगठनमा उनको उपस्थित र पहिचान बेग्लै बनाएको छ । उनी भन्छन्, ‘स्वार्थसहितको सेवा गर्नुभन्दा बरु सेवामा प्रवेश नगर्नु नै जाति हुन्छ किनकि यस्ले सेवा त बद्नाम हुने नै भयो देशको छवि पनि गिर्छ ।’
नेपाली कांग्रेसनिकट भन्ने गरिएको नेपाल निजामति कर्मचारी युनियनको जारी ८औँ महाधिवेशनमा केन्द्रीय सचिवको उम्मेदवारी बनेका उनीसँग विगत १६ वर्षदेखि कर्मचारीको पेशागत हित र ट्रेड अधिकारप्राप्तिका लागि लडेको अनुभव छ । अर्घाखाँचीको गाविस सचिव हकहित संरक्षण केन्द्र र युनियनको अध्यक्षलगायत थुप्रै संस्थामा रहेर अनुभव बटुलेको उनीसँग छ । र, यहीँ दरिलो अनुभव बटुलेर जिल्लाबाट उनी केन्द्रमा आएका छन् ।
केन्द्र र जिल्लामा रहेका कर्मचारीमा कयौँ गुणा फरकपन रहेका उनै सचिव पदका दाबेदारी भट्टराईसँग चुनाव जित्ने एजेन्डा के के छन् भनेर प्रश्न गरेका छौँ । उनै भट्टराईसँग इकर्मचारीले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :-

Advertisement 2

No description available.

आठौं अधिवेशनको माहोल बाक्लै छाएको हो ?
कोरोना महामारीका कारण रोकिएको नेपाल निजामति कर्मचारी युनियन संघको अधिवेशन शनिबारदेखि जारी छ । लोकतन्त्रप्रति आस्थावान कर्मचारीको अधिवेशनमा सबै जना उत्साहित भएर आउनुभएको छ । यो अधिवेशनले नेपालको ट्रेड युनियनमा एउटा कोसे ढुंगा थप्ने अनुमान लगाएको छौं । संघीयताको आगमनसँगै कर्मचारी समायोजन ऐनका कारण कर्मचारी जबर्जस्ती समायोजन हुनुपरेको छ । यस्तै, राजपत्रअनांकित कर्मचारीहरुमाथि छुट्टै समस्या छ । यसकारण यी यावत समस्याहरुको समाधान गर्न युनियनले दिशानिर्देश गर्नेछ । र, अधिवेशनले नयाँ नेतृत्व चयन पनि गर्नेछ ।

Advertisement 3

केन्द्रीय सचिवको उम्मेदवारी बन्नुभएको छ जितका आधार र एजेन्डाहरु के के छन् ?

विगत १६ वर्षदेखि पेशागत हित र ट्रेड अधिकार प्राप्तिको अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको छु । मैले अर्घाखाँचीको गाविस सचिव हकहित संरक्षण केन्द्रको अध्यक्ष रहेर जिम्मेवारी सम्हालिसकेको छु । त्यहाँ रहेर काम गर्दा मैले देशभर छुट्टै पहिचान बनाउन सफल भएको थिएँ । यसको मूल्याङ्कन गर्नुभएको छ । अर्घाखाँची युनियन अध्यक्ष भएर काम गर्दा सबै साथीहरुलाई गोलबद्ध गरेर दोब्बर मतले आधिकारिक ट्रेड युनियनको निर्वाचन जितेका थियौँ ।
जिल्लामा रहेर भोगेको समस्या, बटुलेको अनुभव, साथीहरुसँग गरेको सहाकार्य सबै लिएर केन्द्रमा आएको छु । केन्द्रले जिल्लालाई कस्तो व्यवहार, के एजेन्डा उठाउनुपर्छ, ग्रास रुटमा पुगेर जिल्लामा कस्ता समस्या छन् भन्ने मैले भोगेको छु । म यी समस्याहरुलाई बोकेर केन्द्रमा आएको छु । मेरो एजेन्डा संक्षेपमा भन्नुपर्दा– युनियनलाई सबै कर्मचारीको साझा संस्था रुपमा विकास गर्ने, आगामी आधिकारीक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई प्रथम बनाउन, निजामति सेवाप्रति जनताको नकारात्मक धारणालाई हटाउँदै जनताका मुद्धाहरु उठाएर सामाजिक रुपमा जोड्ने र निजामति सेवाको वृत्ति, विकासका अवरोधहरुलाई पन्छ्याउने ।

जिल्लाबाट संघको नेतृत्व सम्हाल्न उम्मेदवारी दिँदै गर्दा कस्तो अनुभव भइरहेको छ ?

जिल्लामा एक किसिमको समस्या छ । जुन समस्या मैले भोगेको छु । र, आगामी दिनमा ती तमाम समस्याहरुलाई उठान गरेर समाधान गर्नुपर्छ । जिल्लामा कार्यालयदेखि संस्थासम्म स्रोत साधनको अभाव छ । मानसिकता केन्द्रिकृत नै छ । केन्द्रबाट उपलब्ध हुने सेवा सुविधाहरु जिल्लामा पुगेर हेर्दा एकदमै न्यून देखिन्छ । यसकारण स्थानीय समस्याहरु कसरी परिपूर्ति गर्न सकिन्छ भन्नका लागि त्यहाँबाटै अनुभव प्राप्त गरेको व्यक्ति चाहिन्छ । जस्ले त्यहाँको समस्या केन्द्रमा उठान गरेर समाधान गर्न सक्नुपर्छ ।
यो अधिवेशनले युवा वर्गलाई स्थान दिने भन्दै गर्दा वर्तमान अध्यक्ष नै पुनः अध्यक्षको उम्मेदवार बन्नुले कस्तो सन्देश दिन्छ ?
हाम्रो काम गराई र भन्ने कुरामा विल्कुल फरक हुनुहुँदैन । ट्रेड युनियनले निजामति सेवामा प्रवेश गरेकाहरुलाई सन्तुष्टि दिन सक्नुभएको छैन । यसकारण ट्रेड युनियनले नयाँ पुस्तालाई प्रवेश गरिसकेपछि सेवामा रहेर काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ । र, यहीँ वातावरण निर्माण गर्न र आगामी दिनमा संगठनमा नयाँ पुस्ताको आगमन गर्न पुनः हामी एकजुट भएर अघि बढेका छौँ ।

अब, संगठनमा पूर्ण रुपमा दलको हस्तक्षेप हट्यो भनेर उद्घाटन समारोहमा उत्सव नै मनाउन भनियो । के साँचो हो ?

हो, अधिवेशनमा दलको प्रत्यक्ष सहभागिता छैन । मानविय गुण भएको हुनाले कतै प्रभाव पर्न गएको हुन सक्छ । तर, पार्टी नै पूर्ण रुपमा सहभागी भएर हस्तक्षेप भएको छैन । निजामति स्थायी सरकार भएको हुनाले यो हुन पनि हुँदैन । साइड इफेक्ट स्वभाविकै हो ।

सचिव पदमा तपाइजस्तै अन्य पनि उम्मेदवारी बन्नुभएको छ । तर, प्रतिनिधिले तपाईलाई नै भोट दिनुपर्ने कारणचाहीँ किन ?
सचिव पदमा उम्मेदवारी बन्दै गर्दा अन्य थुप्रै साथीहरु उम्मेदवारी बन्नुभएको छ । उहाँहरुले पनि आफ्नो कुरा राख्नुभएको छ, मैले पनि राखेको छु । तर, मचाहीँ दावी गर्न सक्छु कि– जनता र कर्मचारीको समस्या जोडेर समाधान गरेको अनुभव बटुलेको कारण केन्द्रमा बसेर स्थानीय र केन्द्रलाई जोड्न र काम गरेर देखाउन सक्छु भन्ने विश्वास छ । र, सबैजना मप्रति विश्वस्त हुनुहुन्छ ।

कर्मचारीको तमाम मुद्धाहरुलाई उठान गर्न अधिवेशन गरिएको भन्दै गर्दा दलनिकट कर्मचारीको अधिवेशनलाई ‘दलीय युनियन अधिवेशन’भन्ने कि कसरी बुझ्ने ?
यो एकदम राम्रो विषय उठान गर्नुभयो । हदसम्म संगठनमा राजनीतिकरण भयो भन्ने छ । तर, २१औँ शताब्दी लोकतन्त्रको युग हो । जोकोही संगठित भएर आफ्ना कुराहरु राख्न पाउनुपर्छ । सामाजिक सौदावाजी गरेर विश्वव्यापी मान्यता स्थापित गर्न पाउनुपर्ने मान्यताअनुसार नै अभ्यास गरिएको छ । तर, यति भन्दै गर्दा हामीले दिने सेवामा कुनै पनि राजनीतिक रंग देखिनु हुँदैन । तटस्थ रहेर जुनसुकै सरकारको नीति तथा कार्ययोजना पूरा गर्नुपर्छ । तर, लोकतान्त्रिक अभ्यासका क्रममा लोकतान्त्रिक आस्था मान्ने दलसँग कसैले शुभेच्छा राख्नु स्वभाविकै हो । यद्यपि, सेवा प्रवाहमा तटस्थ रहनुपर्छ ।

अन्तमा, उद्घाटन समारोहमा संगठनभित्र गुप, उपगुट छैन भनियो । हटेकै हो त ?
निर्वाचन हुँदै गर्दा स्वभाविक रुपमा गुट, उपगुट र समूह बन्छन् । स्वभाविकै हो । लोकतन्त्रमा यो हुन्छ । यसकारण यसलाई अन्यथा लिनुहुँदैन । तर, मुख्य कुराचाहीँ निर्वाचनअघि भन्दा पनि पछि के गरिन्छ भन्नेले अर्थ राख्दछ । सबैजना सँगै बसेर सँगै काम गर्ने भएपछि स्वस्थ तरिकाले प्रचार गर्नुपर्छ्जस्तो लाग्छ । यद्यपि, केही भेला वा समूह भएपनि अधिवेशनभर मात्र सीमित राख्नुपर्छ भन्ने मत छ । साथै, यो प्रवृत्तिलाई अधिवेशनपछि समाप्त गर्नुपर्छ ।

प्रकाशित :२०७८ फाल्गुन २२, आईतवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry