नेपाल आयल निगमका कर्मचारीहरुको पोशाक सफाइ भत्ता कटौती,बार्षिक ५० लाख बचत
नेपाल आयल निगमले कर्मचारीको पोशाक संरक्षण भत्ता कटौती गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको शनिवार बसेको बैठकले नियमका ५ सय हाराहारी स्थायी कर्मचारीहरुले पोशाक संरक्षण भत्ताका रुपमा पाउँदै आएको रकम कटौती गरेको हो । आयल निगमले त्यहाँका स्थायी कर्मचारीहरुलाई पोशाक संरक्षण भत्ताका रुपमा प्रति दिन १५ रुपैंयाका दरले खर्च उपलव्ध गराउँदै आएको थियो । आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार शनिवार बसेको निगम सञ्चालक समितिको बैठकले कर्मचारीको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोसाक संरक्षण भत्ता पाउने छैनन् । पोसाक संरक्षण खर्च कटौती भएपछि वार्षिक झन्डै ५० लाख रुपैयाँ खर्च घट्ने निगमले जनाएको छ ।
सरकारले निजामती कर्मचारीहरुलाई १० हजार बराबरको पोशाक उपलव्ध गराउँदै आएको छ । आयल निगमका कर्मचारीहरुले भने सो पोशाकको सफाइका लागि भन्दै दैनिक १५ रुपैंया भत्ता पाउँदै आएका थिए । आयल निगमका झण्डै ५ सय कर्मचारीहरुले यो सुविधा लिँदै आएकोमा सो भत्ता कटौती भएको हो । यो सँगै राज्यकोषको बार्षिक ५० लाख बचत हुने नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका कर्मचारीहरुले अनेकन सेवा सुविधा र भत्ता लिने गरेका छन् । आयल निगमले कर्मचारीहरुले यातायात भत्तादेखि पोशाक संरक्षण भत्ता (लुगा धुने खर्च),पेट्रोलियम जोखिम भत्ता,घर रंगरोगन खर्च, खाजा खर्च, औषधि उपचार खर्च लगायतका अनेकन शीर्षकमा भत्ता पाउँदै आएका छन् । जसमध्ये पोशाक संरक्षण भत्ता कटौती गरिएको हो ।