राष्ट्र बैंकमा २५ वर्ष बिताएका पिताम्बर भण्डारी निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्वमा

काठमाडौं। नेपालको मौद्रिक नीति, वित्तीय क्षेत्रको नियमन र जोखिम व्यवस्थापनमा लामो अनुभव हासिल गरेका पिताम्बर भण्डारी निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भण्डारीलाई सरकारले अर्थ मन्त्रालयको सिफारिसमा उक्त जिम्मेवारी दिएको हो।

Advertisement 1

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले संस्थाको गरिमा कायम राख्दै नागरिकको निक्षेप सुरक्षासम्बन्धी जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएका थिए।

Advertisement 2

२५ वर्ष राष्ट्र बैंकमा बिताएका अनुभवी अधिकारी

गुल्मीको धुर्कोट गाउँपालिका–६ स्थायी ठेगाना भएका भण्डारीसँग नेपालको वित्तीय तथा मौद्रिक क्षेत्रको नीति निर्माण, आर्थिक अनुसन्धान र वित्तीय संस्था नियमनमा करिब २५ वर्षको अनुभव छ।

Advertisement 3

उनले सन् २००० मा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागबाट सहायक निर्देशकका रूपमा सेवा प्रारम्भ गरेका थिए। राष्ट्र बैंकमा सहायक निर्देशक, उपनिर्देशक, निर्देशक हुँदै सन् २०१८ अप्रिलमा कार्यकारी निर्देशक बनेका उनी सन् २०२५ अप्रिलसम्म उक्त जिम्मेवारीमा रहे।

कार्यकारी निर्देशकका रूपमा रहँदा उनले मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, मानव संसाधन व्यवस्थापन विभाग तथा संस्थागत योजना र जोखिम व्यवस्थापन विभागको नेतृत्व गरेका थिए।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा रहँदा उनले मौद्रिक नीति, समष्टिगत विवेकशील नीति, मुद्रा तथा पुँजी बजार, आर्थिक वृद्धि, अन्तर्राष्ट्रिय व्यापार र वित्तीय क्षेत्रसम्बन्धी अनुसन्धानमा काम गरेका थिए। त्यसैगरी राष्ट्र बैंकको जनकपुर र नेपालगञ्ज कार्यालयमा समेत जिम्मेवारी सम्हालेका थिए।

जुन संस्थाको सञ्चालक थिए, त्यही संस्थाको कार्यकारी नेतृत्वमा

भण्डारीका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषको जिम्मेवारी पूर्णतः नयाँ भने होइन। उनी यसअघि सन् २०१९ जुलाईदेखि २०२० अगस्टसम्म यही कोषको सञ्चालक समिति सदस्यका रूपमा कार्यरत थिए।

त्यसैले कोषको नीतिगत तथा संस्थागत संरचनाबारे समेत परिचित उनी अब सञ्चालकको भूमिकाबाट कार्यकारी नेतृत्वमा पुगेका छन्।

केन्द्रीय बैंकबाहिर पनि उनले वित्तीय क्षेत्रका विभिन्न संस्थामा जिम्मेवारी सम्हालेका छन्। सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका उनी नेपाल ग्रामीण विकास बैंकको सञ्चालक समिति सदस्यसमेत बनेका थिए।

पाँचवटा क्षेत्रीय ग्रामीण विकास बैंकको संयुक्त मर्जर समितिमा सदस्य तथा मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकको व्यवस्थापन टोलीको संयोजकका रूपमा समेत उनले काम गरेका छन्।

दुई विश्वविद्यालयबाट अर्थशास्त्रमा उच्च अध्ययन

शैक्षिक रूपमा पनि भण्डारी अर्थशास्त्रका अध्ययनशील व्यक्तित्वमध्ये पर्छन्। उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन्। स्नातकोत्तर तहमा सर्वाधिक अंकसहित प्रथम स्थान हासिल गरेका उनले महेन्द्र विद्याभूषण ’ख’, तारापद चौधरी स्वर्ण पदक र खगेन्द्रमान सिंह प्रधान स्वर्ण पदक प्राप्त गरेका छन्।

त्यसपछि सन् २००६ मा बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा एमएस्सी गरेका छन्। राष्ट्र बैंक प्रवेश गर्नुअघि उनले सन् १९९८ देखि २००० सम्म पाटन बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकका रूपमा अध्यापनसमेत गरेका थिए।

मौद्रिक नीति, वित्तीय क्षेत्रको स्थायित्व, लगानी र आर्थिक विकाससम्बन्धी उनका अनुसन्धानमूलक लेखहरू विभिन्न प्रकाशनमा प्रकाशित छन्। केन्द्रीय बैंकको क्षमता विकास तथा आर्थिक नीति व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय तालिममा समेत उनले सहभागिता जनाएका छन्।

निक्षेप सुरक्षादेखि कर्जा विस्तारसम्मको जिम्मेवारी

निक्षेप तथा कर्जा सुरक्षण कोष बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेको निक्षेपको सुरक्षण गर्ने र कर्जा सुरक्षणमार्फत वित्तीय पहुँच विस्तारमा सहयोग पु¥याउने महत्वपूर्ण संस्था हो।

कोषको नयाँ नेतृत्वका रूपमा भण्डारीसामु निक्षेप सुरक्षण प्रणालीलाई थप विश्वसनीय बनाउने, कर्जा सुरक्षण कार्यक्रमको प्रभावकारिता बढाउने, वित्तीय संस्थासँगको समन्वय सुदृढ गर्ने र संस्थागत जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारी हुनेछ।

विशेषगरी वित्तीय क्षेत्रमा देखिने जोखिम, बैंक तथा वित्तीय संस्थाको अवस्था र निक्षेपकर्ताको विश्वासबीचको सम्बन्धलाई नजिकबाट बुझेका भण्डारीले राष्ट्र बैंकमा हासिल गरेको अनुभवलाई कोषको संस्थागत क्षमता विकासमा उपयोग गर्ने अवसर पाएका छन्।

 

प्रकाशित :२०८३ कार्तिक १९ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]