९० वर्षको यात्रामा नेपाल बैंक : २९ लाख ग्राहक, १६ लाख डिजिटल सेवामा, ३ नयाँ सेवा थपिए

काठमाडौं। नेपालको बैंकिङ इतिहासमा पहिलो पाइला चालेको नेपाल बैंक लिमिटेडले ९० वर्षको यात्रामा आफ्नो सेवा सञ्जाल र डिजिटल पहुँच विस्तार गर्दै बैंकिङ क्षेत्रमा प्रतिस्पर्धात्मक उपस्थिति बलियो बनाएको छ। स्थापनाको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको बैंकले वार्षिकोत्सवका अवसरमा तीन नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।
Advertisement 1
वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले सोमबार प्रधान कार्यालय धर्मपथमा विशेष समारोह आयोजना गरी ९०औँ वार्षिकोत्सव मनाएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको विशिष्ट उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता बैंक सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए।
वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री वाग्लेले बैंकका तीन नयाँ डिजिटल सेवा—डिजिटल कर्जा, ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन लोन एप्लिकेसन पोर्टल शुभारम्भ गरे। यी सेवाले कर्जा प्राप्ति प्रक्रियालाई प्रविधिमैत्री र सहज बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।
Advertisement 2
२९ लाख ग्राहक, २३० शाखाबाट सेवा
नेपाल बैंकले आफ्नो ९० वर्षे यात्रालाई सेवा विस्तार र प्रविधिगत रूपान्तरणसँग जोडेको तथ्यांकले देखाउँछ। हाल बैंकले देशभरका २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
Advertisement 3
बैंकका अनुसार करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन्। यसले परम्परागत शाखा केन्द्रित बैंकिङबाट डिजिटल माध्यममा ग्राहकको पहुँच विस्तार हुँदै गएको संकेत गर्छ। अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधि प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउने लक्ष्य बैंकले अघि सारेको छ।
उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न अर्थमन्त्रीको निर्देशन
समारोहमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको भूमिका निक्षेप संकलन र कर्जा प्रवाहमा मात्र सीमित नराखी उत्पादन तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताए।
कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्यममा कर्जा लगानी विस्तार गर्न उनले बैंकलाई आग्रह गरे। संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्दै जनविश्वास बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
डिजिटल रूपान्तरणसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्रीले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्न निर्देशन दिए।
कर्मचारी र उत्कृष्ट शाखा सम्मानित
वार्षिकोत्सवका अवसरमा बैंकले संस्थागत विकासमा योगदान पु¥याउने कर्मचारी तथा शाखाहरूलाई सम्मान गरेको छ। २५ वर्ष अविच्छिन्न सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको छ।
त्यसैगरी प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कृत गरिएको बैंकले जनाएको छ।
प्राकृतिक विपत्तिका प्रतिकूल परिस्थितिमा पनि बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई विशेष सम्मान गरिएको छ। स्याफ्रुबेंसी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा कठिन परिस्थितिका बाबजुद बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत कदरपत्र प्रदान गरिएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सहभागीहरूलाई स्वागत गर्दै बैंकको प्रगति र भावी कार्यदिशाबारे सम्बोधन गरे।
९० वर्षको इतिहास बोकेको नेपाल बैंकका लागि अबको चुनौती आफ्नो ऐतिहासिक पहिचानलाई कायम राख्दै डिजिटल प्रतिस्पर्धामा थप सक्षम बन्नु र वित्तीय पहुँचबाट बाहिर रहेका नागरिकसम्म सेवा विस्तार गर्नु हो। नयाँ डिजिटल सेवाको सुरुवात र विस्तारित सेवा सञ्जालले बैंकलाई यही दिशामा अघि बढ्ने आधार दिएको छ।









