चक्रीय सरुवा प्रणाली :- गफैं धेरै

निजामती कर्मचारी वृत्तमा सबैभन्दा विकृती कतै छ भने त्यो हो सरुवा प्रणालीमा । कर्मचारी सरुवालाई व्यवस्थित,पारदर्शी र अनुमान योग्य बनाउने गफ धेरै शासकको मुखबाट सुनियो तर व्यवहारमा भने अझैं लागू हुन सकेको छैन ।
मुलुक संघीयतामा गए पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका हरेक जसो मन्त्रीले कर्मचारी सरुवा चक्रीय प्रणालीका आधारमा गर्ने अभिव्यक्ति सार्वजनिक गरिरहे । तर यो चार बर्षसम्ममा मन्त्री फेरिने र तिनका मुखबाट कर्मचारी सरुवा चक्रीय प्रणालीमा गर्ने उद्घोष जारी छ ।
यही अभिव्यक्ति अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले पनि सार्वजनिक गर्नुभएको छ । अस्ति शुक्रवार शुक्रवार सर्वोच्च अदालतमा नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रीय प्रणाली लागूगर्न छलफल भइरहेको बताउनुभएको थियो ।
मन्त्री बढुले सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रीय प्रणालीको रुपमा विस्तार गर्न छलफल भइरहेको बताउनुभएको थियो ।

Advertisement 1

सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेकाबाहेक अरुलाई एक समय पुगेपछि आफै यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको मन्त्री बढुको उद्घोष थियो ।
यस अघि गत २० मसिरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि कर्मचारी सरुवा चक्रीय प्रणालीमा गर्ने उद्घोष गर्नुभएको थियो ।

यस अघि संघीय निजामती सेवा विद्येयकमा समेत कर्मचारी सरुवा चक्रीय प्रणालीमा गर्ने उल्लेख गरिएको थियो । निजामती कर्मचारीहरुको सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिने बुँदा विधेयकको दफा २२ मा उल्लेख गरिएको छ ।
चक्रीय सरुवा प्रणालीबारे गफ धेरै भए पनि निजामतीमा अहिलेसम्म चक्रीय सरुवा लागू हुन सकेको छैन । स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गर्ने गरी विधेयकमा उल्लेख गरिएको भए पनि सो विद्येयक नै अलपत्र परेको छ ।

Advertisement 2

अहिले पनि सरुवाको नाममा युनियनहरुकोमा धाउने, नेताले सोर्स फोर्स लाउने, हाकिमहरूले खेल्न पाउने जस्ता विकृती रहँदै आएको छ । पहुँचवालाहरुले सिंहदरबार छोड्नु नपर्ने,निमुखा कर्मचारी दुगर्मबाट माथि आउन नपाउने अबस्था पनि निजामती सेवाभित्र विकृतीको रुपमा रहेको छ । सरुवामा चक्रीय प्रणाली लागू भएको खण्डमा मेरो सरुवा कहाँ हुन्छ भन्ने कुरा कर्मचारीलाई अग्रिम थाहा हुन्छ अर्थात कुनै कर्मचारी कर्णालीमा कार्यरत छ भने कहिले काठमाडौँ आई पुग्छु भन्ने थाहा हुने प्रणाली हो यो ।

बढुले झैं मन्त्री श्रेष्ठले पनि कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउन चक्रीय प्रणाली अवलम्बन गर्न लागिएको बताउनुभएको छ ।
यस अघि संघीय मामिला तथा सामान्य प्रशासन रेखा शर्मा,लालबाबु पण्डित,हृदयेश त्रिपाठी,गणेश पहाडीसम्मका हरेक मन्त्रीहरुले कर्मचारी सरुवा चक्रीय प्रणालीमा हुने उद्घोष गरे पनि यो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र मन्त्रीहरुले अभिव्यक्त गर्ने गरेको रुपमा कर्मचारीहरुले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित :२०७८ पुष १८, आईतवार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry