नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

चितवन। अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

Advertisement 1

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उनले बताए।

उनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक पुनः भासिएपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि पनि उक्त स्थानमा सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो।

Advertisement 2

यस्तै, इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। इच्छाकामना–५ कै तुइनखोला र नाम्सीखोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुङ्गामाटो खसेको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए

Advertisement 3

कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको उनले बताए। तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ।

जोखिम बढेपछि हिजो रातिदेखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। आज बिहानदेखि पनि राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारीसाधन सञ्चालनमा रोक कायम राखेको प्रहरीले जनाएको छ।

कृष्णभिरमा सडकको नदीतर्फको ग्याबिन केही तल झ¥यो

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन। लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर यातायात सञ्चालनमा रोक लगाएको उनले बताए।

उनले भने, “नयाँ ट्र्याक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ। हामीले प्लास्टिक ओडाएको स्थानमा बढी समस्या छैन। तर तल एउटा ग्याबिन झरेको छ।” प्रमुख अधिकारीका अनुसार सडकको साइटतर्फको ग्याबिनबीचको भाग केही खसेको भए पनि हालसम्म सडकमा ठूलो क्षति भएको छैन।

कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो। वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको प्रमुख अधिकारीले जानकारी दिए।

प्रकाशित :२०८३ आश्विन ९, शुक्रबार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम