बजार अनुगमनमा २ खाद्य व्यवसायमा कमजोरी, सुधार गर्न निर्देशन

काठमाडौं। काठमाडौंमा गरिएको आकस्मिक बजार अनुगमनका क्रममा २ खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा व्यवस्थापनसम्बन्धी कमजोरी भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्राप्त गुनासोका आधारमा विभाग र काठमाडौं महानगरपालिकासहितको बजार अनुगमन टोलीले भदौ १६ गते २ खाद्य व्यवसायको निरीक्षण गरेको थियो।
Advertisement 1
अनुगमनका क्रममा कृष्ण बेकरी एण्ड कन्फेक्सनरीमा खाद्य पदार्थको भण्डारण व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ। बेकरीजन्य खाद्य पदार्थमा ढुसी भेटिएको भन्ने गुनासोका आधारमा गरिएको निरीक्षणमा उद्योगको सरसफाइ अवस्था सामान्य रहेको भए पनि कीट नियन्त्रणका क्रममा मरेका कीराको उचित व्यवस्थापन नभएको पाइएको विभागले जनाएको छ।
बेकरीलाई खाद्य स्वच्छता कायम गर्न, उत्पादन हुने प्रत्येक खाद्य पदार्थका लागि अनुमतिपत्र लिएर मात्र उत्पादन गर्न तथा कीट नियन्त्रण र भण्डारण व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ। थप अनुसन्धान तथा कारबाही काठमाडौं महानगरपालिकाले अघि बढाउने जनाइएको छ।
Advertisement 2
त्यस्तै, संयोग ब्वाइज होस्टेलको भान्सामा पनि सरसफाइ तथा व्यवस्थापनसम्बन्धी विभिन्न कमजोरी भेटिएका छन्। भान्साको सरसफाइबारे प्राप्त गुनासोका आधारमा गरिएको निरीक्षणमा सरसफाइ अवस्था सामान्य रहे पनि कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नपाइएको विभागले जनाएको छ।
होस्टेलको भान्सामा आवश्यक स्वच्छता व्यवस्थापनको कमी हुनुका साथै व्यक्तिगत सरसफाइ पनि सन्तोषजनक नरहेको पाइएको छ। भुइँ तथा भित्ताको सरसफाइमा समेत कमजोरी देखिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ। होस्टेल सञ्चालकलाई सरसफाइमा विशेष ध्यान दिन, कीट नियन्त्रणलाई प्रभावकारी बनाउन, आवश्यक स्वच्छता व्यवस्थापन मिलाउन तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ। साथै, भुइँ र भित्तामा रंग लगाई नियमित रूपमा सफा राख्न भनिएको छ।
Advertisement 3
विभागका अनुसार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइएको हो। भदौ १६ गते गरिएको अनुगमनमा कुल २ वटा खाद्य व्यवसाय निरीक्षण गरिएको विभागले जनाएको छ।









