झम्सिखेलस्थित ‘अदोरा होल्डिङ’लाई २ लाख ५० हजार रुपैयाँ जरिवाना, म्याद गुज्रिएको सिरप र लेबलविहीन चाउमिन फेला

काठमाडौं। ललितपुरको झम्सिखेलस्थित खाद्य व्यवसाय अदोरा होल्डिङलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
Advertisement 1
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्राप्त उजुरीका आधारमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) अन्तर्गत मंगलबार जिल्ला प्रशासन कार्यालय, ललितपुर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा विभागको संयुक्त टोलीले अनुगमन गर्दा विभिन्न कमजोरी भेटिएपछि कारबाही गरिएको हो।
अनुगमनका क्रममा व्यवसायमा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, पत्रिकामा प्याक गरिएको लेबलविहीन करिब ३० केजी चाउमिन प्रयोग भइरहेको तथा करिब १० लिटर प्रयोग गरिएको तेलको टीपीएम (Total Polar Materials) मापदण्डभन्दा बढी रहेको पाइएको विभागले जनाएको छ।
Advertisement 2

त्यस्तै, फ्रिजको प्रयोग व्यवस्थित नभएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको तथा पेस्ट कन्ट्रोलको व्यवस्था पनि सन्तोषजनक नरहेको अनुगमन प्रतिवेदनमा उल्लेख छ।
Advertisement 3
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्यवस्तुको थप अनुसन्धानका लागि नमुना संकलन गरेको छ। साथै, मापदण्डविपरीत रहेको करिब १० लिटर तेल र लेबलविहीन करिब ३० केजी चाउमिन नष्ट गरिएको छ।

सम्बन्धित व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न, फ्रिजको व्यवस्थित प्रयोग गर्न तथा खाद्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशनसमेत दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।








