उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा रोक

बागमती। मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो।
Advertisement 1
प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्नुहुँदै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ।
स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवद्र्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुहुँदै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरेका छन्।
Advertisement 2
फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार
कारागारबाट फरार भएकामध्ये १ सय १३ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन्। भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म ३ सय २५ कैदीबन्दी कारागार फर्केका छन्।
Advertisement 3
भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २ सय ५६ र अन्य कारागारबाट फरार ६९ गरी ३ सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए। प्रमुख पौडेलका अनुसार भागेकामध्ये १ सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन्।
यही भदौ २४ गते राति भीमफेदी कारागारको पर्खाल भत्काएर ४ सय ४० कैदीबन्दी फरार भएका थिए। कारागारबाट फरार भएकामध्ये १ सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको प्रमुख पौडेलले बताए। यस्तै सो कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उनले बताए।
कारागारको ३ वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २ सय ६० र (ख) ब्लकबाट १ सय ८० गरी ४ सय ४० कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए। कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।