‘टाइगर सेन्चुरी’ स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं। बाघको सङ्ख्या वृद्धिसँगै बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सरकारले ‘टाइगर सेन्चुरी’ स्थापनाको प्रक्रिया अघि बढाएको छ।
Advertisement 1
सरकारको प्राथमिकता प्राप्त उक्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र अमेरिकास्थित संस्था ‘द वाइल्ड एनिमल सेन्चुरी’ (टीडब्ल्यूएएस) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार नेपालमा कम्तीमा ५० हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरणमैत्री आधुनिक बाघ सेन्चुरी निर्माण गरिनेछ। समझदारीपत्रमा कोषका सदस्य–सचिव डा चिरञ्जीवीप्रसाद पोखरेल र टीडब्ल्यूएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेको कोषले जनाएको छ।
Advertisement 2
नेपालमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी पुगेपछि मानव बस्तीमा प्रवेश गरी मानवीय क्षति निम्त्याउनेको सङ्ख्या पनि बढ्दै गएको छ। मानव बस्तीमा प्रवेश गरी मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइ खोरमा राखिँदै आएको छ। त्यस्ता समस्याग्रस्त बाघको दीर्घकालीन स्याहार, आधुनिक आवास तथा वैज्ञानिक व्यवस्थापनका लागि छुट्टै ‘सेन्चुरी’ आवश्यक भएपछि अन्तरराष्ट्रिय संस्थासँग साझेदारी अघि बढाइएको कोषले जनाएको छ।
टिडब्ल्यूएएसले ४६ वर्षभन्दा लामो आफ्नो अनुभव र विज्ञताको प्रयोग गर्दै सेन्चुरीका लागि आवश्यक भौतिक पूर्वाधार, प्राकृतिक वासस्थानको डिजाइन, पशु चिकित्सालय तथा घेराबार निर्माणका लागि आर्थिक तथा प्राविधिक स्रोत जुटाउनेछ। सेन्चुरी निर्माणका लागि प्रयोग हुने जग्गाको स्वामित्व भने नेपाल सरकार वा एनटीएनसीकै रहनेछ।
Advertisement 3
सेन्चुरीलाई समस्याग्रस्त बाघको आजीवन सुरक्षित बासस्थानका रूपमा मात्र नभई जनचेतना तथा संरक्षण शिक्षाको केन्द्रका रूपमा समेत विकास गरिने समझदारीमा उल्लेख छ। सेन्चुरीभित्र बाघलाई व्यावसायिक मनोरञ्जन, फोटो सेसन, खेल वा प्रजनन प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। परियोजनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै दुर्लभ पाटेबाघको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ।








