कृषि क्षेत्रलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड

कर्णाली। कर्णाली प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन कृषि क्षेत्रलाई प्रमुख आधार बनाउनुपर्ने धारण व्यक्त गरिएको छ।
Advertisement 1
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा कार्कीले आज उक्त धारणा राखेकी हन्। सुर्खेतमा आयोजित ‘कृषि मौसम सल्लाह’ सम्बन्धी प्रदेशस्तरीय दुईदिने कार्यशाला गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै मन्त्री कार्कीले अर्थतन्त्र वृद्धिको आधार कृषि क्षेत्रनै भएको दाबी गरीन्। मन्त्रालयको सहकार्यमा स्थानीय जैविक अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) द्वारा सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कार्यशाला गोष्ठी सुरु भएको छ। कार्यक्रममा वक्ताहरुले कृषि क्षेत्रको विस्तार, उत्पादकत्वमा वृद्धि तथा कृषकको जीवनस्तर उकास्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको साझा सहकार्य र सरोकार रहेको धारणा व्यक्त गरिएको थियो।
कृषि मन्त्रालयका सचिव डा चन्द्रप्रसाद रिसालले जलवायुजन्य विपद्को प्रभावमा कृषि क्षेत्र र कृषक नै परेको बताउँदै ‘कृषि मौसम सल्लाह’ कर्णाली प्रदेशका लागि अँझ बढी लाभदायक हुने धारणा राखे।
स्थानीय समुदायको जीविकोपार्जन, स्थायित्व, व्यवस्थापन र संरक्षणका लागि जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइनुपर्ने बताउँदै सचिव रिसालले सरोकारवालालाई ध्यानाकर्षण गराए।
Advertisement 2
लिबर्डका जलवायुसम्बन्धी रणनीतिक कार्यक्रम प्रमुख प्रगतिराज सिपखानले नेपाल जलवायु परिवर्तनका हिसाबले उच्च जोखिममा रहेको र त्यसको प्रभाव कर्णालीमा अझ बढी भएको बताए। गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तरगत कृषि तथा पशु, नेपाल कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय, मौसम तथा जलवायु विज्ञान कार्यालय, स्थानीय तह कृषि शाखा, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।








