सडकले लिइरहेको छ नागरिकको ज्यान!

केही दिन अगाडि चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भयो। जसमा एक गर्भवतीसमेत थिइन्। दुर्घटनामा २४ जना यात्रु घाइते भएका थिए।

Advertisement 1

जेठ ३१ गते काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो आज अपराह्न नागढुंगामा दुर्घटना हुँदा १९ जना घाइते भएका। गत वर्ष पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा ६ जना एकै परिवारका सदस्य परे।

दुर्घटनामा उनीहरू सबैको ज्यान गयो। हरेक दिन देशका विभिन्न क्षेत्रमा दुर्घटनाका घटना भइरहन्छन्। नागरिकले अकालमा ज्यान गुमाइरहेका छन्।

Advertisement 2

नेपाल प्रहरीका अनुसार विगत १० वर्षमा नेपालमा विभिन्न खाले सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन्। एक दशकमा ज्यान गुमाउनेको संख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको संख्या अत्यधिक रहेको छ। विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू भएको प्रहरीको तथ्यांकमा उपलब्ध छ।

Advertisement 3

सडक दुर्घटनामा परेर गत आर्थिक वर्ष (२०८०/८१) मा मात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ। सडक दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या पनि अत्यधिक हुने गर्छ। विगत १० वर्षमा ५० हजार जनाभन्दा बढी गम्भीर घाइते भएको प्रहरीको विवरणले देखाएको छ।

त्यसमाथि काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौं व्यक्तिले ज्यान गुमाइरहेका छन्। आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको इतिहास छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५ हजार आठ सय ६५ सवारी दुर्घटना हुँदा ८८ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ।
उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ। काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन्।

जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १८ हजार छ सय २७ चालकलाई कारबाही गरेको छ। यस्तै, लेन अनुशासनमा २९ हजार चार सय दुई, तीव्रगतिमा ६१ हजार आठ सय ४३, रातो बत्तीमा १३ हजार तीन सय सात, फुटपाथ सडक पार्किङमा ५९ हजार आठ सय ५७, बढी भाडामा दुई सय १४, नो हर्नमा छ हजार दुई सय ७०, ओभरलोडमा तीन हजार तीन सय ३७ सवारी साधनलाई कारबाही गरेको छ।

हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र झण्डै १८ देखि २० लाख सवारी साधन सञ्चालनमा रहेको तथ्याङ्क छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा २ हजार ८४ किलोमिटर सडक रहेकोमा बागमती प्रदेशमा २०८०/८१ सम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या १९ लाख ८८ हजार ८ सय १९ रहेको छ।
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कार्यरत १ हजार ११३ जनशक्तिलाई आधार मान्दा एक जना ट्राफिक प्रहरीले १ हजार ७८७ सवारीसाधन र १.८७ किलोमिटर सडक व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले पछिल्लो समय देशभर सवारीसाधन दुर्घटना बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा सुधार गर्न इन्टिलिजेन्ट ट्राफिक लाइट प्रणाली जडानलगायतका कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइसकेको छ।

महालेखाले सडकको सुधार, सडक क्रसिङ्ग व्यवस्था, पार्किङ्गस्थल, ट्राफिक बत्ती, सीसीटीभी, जडान, सडक सङ्केतलगायतको उपयुक्त व्यवस्था र सवारी ऐन, नियमको पालना एवं अन्तर निकाय समन्वय गरी बढ्दो दुर्घटना न्यूनीकरण गर्नुपर्ने पनि भनेको छ। ‘सवारी दुर्घटना हुन नदिन सम्बन्धित सरोकारवाला समेतको समन्वयमा सवारीसाधनको अवस्था, भारवहन क्षमता, यात्रु क्षमता, चालकको अवस्था, सवारीसाधनको गति, ट्राफिक चिह्नको अनिवार्य पालनासम्बन्धी अनुगमनलाई प्रभावकारी बनाउने, काठमाडौं उपत्यका र देशका अन्य मुख्य शहरमा ट्राफिक व्यवस्थापनमा सुधार गर्न इन्टिलिजेन्ट ट्राफिक लाइट प्रणाली जडानलगायतका कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ,’प्रतिवेदनमा उल्लेख छ।

महालेखाले उपत्यकाको सवारी व्यवस्थाको हकमा सुरक्षित एवं भरपर्दो बनाउन सडकहरूमा सीसीटीभी, सर्भिलेन्स भेहिकल परिचालन, बडी वर्न क्यामरा, गोप्रो क्यामरा जस्ता आधुनिक प्रविधिहरू जडान गरी यातायात व्यवस्थापनसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर प्रभावकारी रूपमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ।

सडक दुर्घटनाले विगत दस वर्षमा हजारौँ मानवीय ज्यान गुम्न र दशौं हजार घाइते हुनुले नागरिकको जीवन कति जोखिममा रहेको छ प्रष्टाउँछ। सडक सुरक्षामा व्यापक सुधार, नियम कार्यान्वयन, हामी सबैको सचेतता, आधुनिक चिकित्सीय सुविधा र पूर्वाधार पुनःनिर्माण गर्न ढिला भइसकेको छ। अवकाशप्राप्त ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु पनि सवारीचालकहरूको तीव्र गतिका कारण दुर्घटना हुने गरेको बताउँछन्।

हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले पैसाको लोभले सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु लगायतका कारण सवारीसाधन दुर्घटना भइरहेको छ।

गत वर्ष पुसमा सरकारलाई बुझाइएको यातायात क्षेत्र सुधारसम्बन्धी एउटा प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा ज्यान जानेमा आर्थिक रूपमा सक्रिय पुरुषको संख्या ७७ प्रतिशत देखिएको छ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार नेपालमा दुर्घटना हुने मुख्य पाँच कारण रहेको उल्लेख गरेको छ। जसमा मानवीय, यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसम रहेको छ।
उक्त प्रतिवेदनका अनुसार मानवीय कारणमा चालकको ज्ञान सीप र क्षमता, शारीरिक र मानसिक अवस्था, पैदल यात्रुको सजगता जस्ता विषय पर्छन् भने यान्त्रिकमा सवारी साधनको अवस्था (आकार, प्रकार, यन्त्र, ब्रेक, हर्न, बडी आदि) र भारवहन क्षमता, सवारीको गति महत्वपूर्ण रहेका छन्।

सडकको भौतिक अवस्था, सङ्केत र बारहरू, सडकको अन्य प्रयोग, चौपायाको उपस्थिति र मानिससँगको सडकको अन्तरक्रिया आदिले पनि दुर्घटना बढाउने वा घटाउने हुने देखाउँछ। दृश्यावलोकनको अवस्था, उज्यालो, अँध्यारो, पानी परेको वा नपरेको, कुहिरो लागेको, नलागेको, बाढीपहिरोलगायत पनि दुर्घटनाका कारणमा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। अन्य सवारी साधनको उपस्थिति, गति, जाम, ट्राफिक अनुशासनको पालना, निगरानी वा ट्राफिक प्रहरीको उपस्थितिलगायतले दुर्घटनालाई प्रभावित गर्ने भनिएको छ।

दुर्घटना बढ्यो या नागरिकहरू पीडित भए भनेर मात्र अवस्था सुध्रन सक्ने अवस्था छैन। राज्यले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनमा जोड दिनुपर्छ। चालकहरूको तालिम तथा लाइसेन्स प्रणाली सुधार आजको आवश्यकता हो। गुणस्तरीय सडक निर्माण र नियमित मर्मत नहुँदा पनि यातायात प्रणाली ध्वस्त हुने अवस्थामा छ। त्यस्तै,
ट्राफिक चिन्ह र सडक सुरक्षाका उपकरणहरू जस्तै स्पिड ब्रेकर, साइन बोर्ड आदि थप गर्नु आजको आवश्यकता हो।

प्रकाशित :२०८२ आश्विन २६, आईतवार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry