शिव सर, हामी चेलीलाई रुवाएर कतिञ्जेल मोटाउनुहुन्छ ?
अर्बाैको लगानी ग्यास, सिमेन्ट, विद्युतीय मोटरकारदेखि हाइड्रोसम्म । वार्षिक मुनाफा पनि अर्बांैमा तर तिनै अर्बपतिबाट एउटा श्रमजीवीको केही हजार पारिश्रमिक दिन आनाकानी ! ग्यासको कारोबारमार्फत अकुत आर्जन गरेका शिव घिमिरेले कमाइलाई सेतो बनाउन नेपाल एफएममा लगानी गर्न भ्याएका छन् । उनै घिमिरेका कारण हो मजस्ता दर्जनौं श्रमजीवीले पारिश्रमिकता लिन पनि भीख मागेझैं हात पसारिरहनुपरेको के राजनीतिक संरक्षण पाएका सञ्चारगृह र त्यसका सञ्चालकलाई कसैको जीवनभन्दा पैसा प्रिय हुने हो ? होइन भने वर्षांैसम्म किन यस्तरी झुलाइन्छ ?
Advertisement 1
म सिर्जना भुजेल, केही सपना सजाउँदै झरेको हो दोलखाबाट काठमाडौं । निम्नवर्गीय परिवारबाट हुर्किएर यो शहरमा भित्रिएसँगै रेडियो प्राविधिकका रूपमा काम थालें । कोटेश्वर क्याम्पसमा अध्ययन गर्दै गर्दा नवज्योति एफएममा जोडिएँ केही समय । त्यहाँबाट पुगे्र हेडलाइन्स अफ म्युजिक एफ एममा । त्यहाँभन्दा राम्रै पारिश्रमिक पाइने भएपछि नाम चलेको रेडियो नेपाल एफएममा ज्वाइन गरियो । तर ६ वर्षअघि मैले जे भोगें, आज उही स्थितिमा पुगेको छु । काम गरेको तलब नपाउँदा हिजो त्यहाँ प्रहरी लगाएर उठाएको थिएँ । आज आफ्नो पारिश्रमिक उठाउन उसैगरी प्रहरी, पत्रकार महासंघदेखि मिडियाकै साथीहरूलाई गुहार्नुपर्ने स्थितिमा छु ।
साढे तीन वर्षअघि नेपाल एफएममा नियुक्ति पत्र मागें । सुरेन्द्र लामिछाने थिए म्यानेजमेन्टको जिम्मेवारीमा । उनैले काम गर्दै गर्नु, पछि नियुक्तिपत्र दिउँला भने । पटक–पटक माग्दा पनि दिएनन् । निशा बाँस्कोटा हुँदासम्म राम्रै थियो । पारिश्रमिक पाउन छाडेपछि कार्यरत पत्रकारहरू लाखापाखा लागे । जसमध्येका कुमार खतिवडा २ लाख लिन बाँकी छ भन्दै हुनुहुन्छ । दुई/तीन दिनअघि मात्र उहाँले मालिकलाई भेटेर पारिश्रमिकको कुरा गर्दा ढुंगा बोल्ला, मान्छे बोलेनन् भन्दै हुनुहुन्थ्यो । गायनमा समेत जमेकी ईश्वरी बराल उस्तै भुक्तभोगी र पीडित । पैसाका लागि तारन्तार फोन गर्दा पनि नउठेपछि फोनै गर्न छाँडें भन्दै हुनुहुन्छ । अहिले हिमालय टिभीतिर पुगेका वैकुण्ठ ढकालकै तीन लाख माथि, अनलाइनखबर पुगेका रघुनाथ बजगाईंको पनि लाखौं उठाउन बाँकी छ । एकाउण्ट शाखामा कार्यरत निशा बाँस्कोटादेखि अन्य पत्रकार पारिश्रमिक नपाएपछि लाखापाखा लागे । नेपाल एफएम नै बन्द हुने स्थिति थियो । केही टेक्निसियनले बचाएको हो त्यो बेला ।
Advertisement 2
रेडियोमा तीन जना टेक्निसियन थियौं । ६/६ घण्टाको ड्युटी थियो । पारिश्रमिक नपाउने ठाउँमा कोही किन झुलेर बसिरहोस् ? एक जना प्राविधिक साथी अलग्गिनु भएपछि हामी दुई जना बाँकी रह्यौं । समाचार फाँट हेर्नुहुन्थ्यो प्रकाश बस्यालले । साथी अजय महतो र मैले प्राविधिक फाँट । साथीले छोडेपछि भनिएको थियो, उनको पारिश्रमिक आधा आधा पारेर लिनु, दुबै मिलेर ड्युटी गर्नु । उनले त्यतिबेला १५ हजार बुझ्थे । साथीले छाडेपछि त्यो भार पनि हामीमाथि प¥यो । रेडियो १८ घण्टा बज्थ्यो । हामी ९÷९ घण्टा काम गथ्र्याैं । ६ घण्टाको ड्युटी, तीन घण्टा थपिएर ९ घण्टामा पुगेको थियो । ओभरटाइम मागेका पनि थिएनौं । आइलागेको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेका थियौं । केही समय साथी अजयले बिहान र राति, मैले दिउँसोको जिम्मेवारी सम्हालेँ ।
घरबेटीको २८ दिनमा महिना पुग्थ्यो, हाम्रो रेडियोमा ९० दिनको एक महिना । त्यसरी हालिदिएको तलब हात्तीको मुखमा जिरा । कता मात्र टाल्नु ? जबदेखि एफएममा जागिर खाएँ त्यहींदेखि खर्च चलाउन साथी र आफन्तसँग ऋण माग्नुपर्ने अवस्था रह्यो । तर कतिञ्जेल साथीहरूले पत्याउने ? तीन वर्षसम्म रेडियोमा काम गर्दा एक दिन पनि बिदा बसिएन । न न्यूज, न त कार्यक्रमलाई नै ह्याम्पर पारिएको थियो । बीचमा नयाँ म्यानेजमेन्ट भन्दै गोविन्द खड्का भित्रिए । उनी आएपछिको झण्डै ६ महिनामा काम छाडेँ ।
शिव घिमिरे सर, तपाईंसँग हामीले भीख मागेको होइन । श्रमको रकम मागेको हो । अरूको श्रम चुसेर कतिञ्जेल मोटाउनुहुन्छ ? अरूको घरमा जहान–बच्चा परिवार हुन्छन् । तिनको पनि पेट हुन्छ भन्ने दिमागमा कहिल्यै आउँदैन ? तपार्इं आफ्नो श्रीमतीसँग तातो बिच्छ्यौनामा आराम गरिरहँदा हामी चिसो ठण्डीमा पनि कठ्यांगिँ्रदै डिउटी गथ्र्याैं । न त ओभर टाइम नै मागेका थियौँ । तपाईंले मान्छे नपाएर हामीलाई जबर्जस्ती काम गर्न लगाउनुभएको होइन ? सदैव लगनशील भएर काम गरेँ । निडर र केही गर्न पर्छ भन्ने सोच बोकेर हिँडेको केटी तर पछिल्लो समय तपाईंहरूको ज्यादतीका कारण मानसिक तनावबीच गुज्रिरहेको छु ।
Advertisement 3
काठमाडौंमा संघर्ष गरिरहेकी एउटी महिलाले आफ्नो पारिश्रमिकका लागि कत्तिको दैलो डुल्नु ? गर्भमा करोडौं शुक्राणुलाई जितेर जन्मिएँ । धर्तीका लाखौं बैरी पराजित गरें तर आज हार्न पर्ने स्थितिमा पुगेको छु । आफूले काम गरेको पारिश्रमिक लिन पनि भीख माग्नुपर्ने बाध्यता छ । पत्रकार हकहितको निम्ति बोल्ने र लड्नुपर्ने पत्रकार महासंघले पनि समाचार लेख्नेलाई मात्रै पत्रकार मानेको हो कि ? होइन भने न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार महासंघका रामकृष्ण अधिकारीलगायतलाई भेटेर जानकारी गराएँ । निवेदन दिएँ तैपनि किन सुनुवाइ भएन । स्थानीय तहको निर्वाचनअघि नै महासंघमा निवेदन दिएको हुँ । यद्यपि, कारबाही भइरहेको छैन । के महासंघको परिभाषाभित्र प्राविधिक पर्दैनन् ?
पारिश्रमिक दिनुहोस् मात्र भनिरहेको हुँ । श्रमको मूल्य मागेको हुँ, भीख होइन । दशैंको मुख छ । घरमा बूढा बुवाआमा, भाइ बहिनी छन् । मेरालागि अहिले ५ रुपैयाँको पनि ठूलो महत्व छ भने ७० हजार रकम कसरी छाड्न सक्छु ? घरमा नुन किन्नसमेत बाबाले भारी बोक्नुपर्छ । एउटा गरिब केटीको श्रमको रकम नदिएर अर्बाै पति भनी हिँड्न लाज लाग्दैन ? अहिले श्रमको मूल्य माग्दा प्रमाण माग्दै हुनुुहुन्छ । कानुनले प्रमाण भएका मुद्दा मात्र हेर्ने हो ? महिनैपिच्छे तलब नदिने, झुलाउँदै झुलाउँदै एक लाख कटाउने र लाखौं रकम पुगेपछि श्रमजीवीलाई सो पैसा नदिने नीति नेपाल एफएमले लिएको देखिन्छ । एफएम छाडेर हिँडेका पूर्वपत्रकार र कर्मचारी सबैको बक्यौता एक लाखभन्दा माथि छ । म मात्र होइन, धेरै छन् पीडित । पैसा माग्ने पत्रकार वा कर्मचारीको मोबाइल नम्बर ब्ल्याक लिष्टमा राखेर समस्या सामाधान हुन्छ ? के शोषण गर्न सक्नु नै समाजसेवा हो ?