प्रेम..

खेलिरहेको बालकको अगाडि

Advertisement 1

फुत्रुक्क खसेको एउटा चरो
मानौं ऊ कसैको काखमा खस्दै छ
मृत्युको मुखबाट उम्किएर
सुम्सुम्याउँछ बालक उसलाई
ओल्टाईपल्टाई गर्छ,
चराले पनि उसको निर्दोषिता
अनि
मायालु सुम्सुम्याइको भाव बुझेझैँ
परेली भिजाइदिन्छ
बिचरा चरो ! न उड्न सक्छ
न बालकको मन
प्रेममा न भाषा जरुरी छ,
न संवाद नै

अहिले :
कोही कसैलाई सुन्दर बोटबाट
सुन्दर फूल चुँडेर दिन्छ,
जसरी कसैले माउबाट छुटाएर
बाच्छो दिएको होस्
जुन फूलको बदला कोही
कसैको जोवन चाहन्छ,
चकलेट जस्तो स्वभाव चाहन्छ,
बुझ्न गाह्रो छ,
कोही आफ्नै किन हुन पाउँदैन ?

Advertisement 2

ढुङ्गे युगमा मानिस
कसरी प्रेम गर्दा हुन् ?
तिनीहरुले,
ढुङ्गाको हतियार बोकेझैँ
मुटुमा पनि ढुङ्गै लिएर हिँड्थे होलान्
ऋतुहरु फेरिँदा
तिनीहरुका रंगहरुपनि फेरिन्थे होलान्
उनीहरू –
प्रेम नभोगेर एक अर्कालाई सिकार गर्थे होलान्?
आज त,
त्यो भन्दा फरक छ
जहाँ,
अघिल्लो दिन देखेको सुन्दरता,
भोलिपल्टै
गुलाफको फूलसँग सौदा गरिन्छ।

हुनुपर्ने त त्यस्तो होला नि
जहाँ-
निःशर्त प्रेम होस्
बिना सौदाको !
फूल आफ्नै लयमा मग्मगाएझैं
आफ्नै गतिमा हावा बगेझैं
त्यस्तो नहनुपर्ने-
कसैले फूल दियो खुसी,
चकलेट दियो बेहद खुसी,
चुम्बन अनि शारीरिक सुख !!

Advertisement 3

माया कस्तो हुनुपर्छ ?
राधा कृष्णको कथाजस्तो ?
या रोमियो जुलिएटको जस्तो ?
कि लैला मजनुको जस्तो ?
तर,
उहिले र अहिले फरक छ।
उहिले माया मात्रै थियो,
अहिले सम्झौता पनि छ
अनि बेहद आकर्षण ।

अहिलेः
जहाँ पनि अनायासै जानु,
कसैलाई भेट्नु,
कहिले रिसाए जस्तो गर्नु,
कहिले फकाए जस्तो गर्नु ,
फेसबुकमा ट्विटर र इन्स्टामा
आफ्नै बनिरहनु !
यस्तो बन्नु,
मानौँ
ऊ बिना म फिका लागूँ !
म बिना ऊ फिका लागोस् !
उसको फुर्सद पनि,
आफ्नै लागि जस्तो लागोस् !
उसको व्यस्ततामा पनि
समय निकालिदिएको भाव जागोस् !!

उहिले;
कृष्ण बाँसुरी बजाउँथे !
राधा धुनमा हराउँथिन् !
कृष्ण जिस्किन्थे,
राधा पग्लिन्थिन् !
गोपिनीसँग जिस्किन्थे कृष्ण,
जल्थिन् राधा भित्रभित्रै !
डुब्नै लागेको घामजस्तो
रातो र तातो हुन्थिन् उनी !
अनि कृष्ण,
राधाको तापमा पग्लिन्थे, जम्थे !!

कल्पना न हो;
दुईवटा गाडी बाटोमा भेटियून्
ओल्लो गाडीको झ्यालमा युवा,
पल्लोमा युवति !
एकै निमेषका लागि
दुबैका आँखा जुधून् !
दुबैको मन फुलोस् !
ओठबाट फुस्किएको खुसी
दुबैले महसुस गर्न पाउन् !
अलिकति युवा पग्लियोस्,
अलिकति युवति !
दुबैको हाँसो एक अर्कामा ठोकिनु अगावै
गाडी अघि बढोस्
त्यो भन्दा सुन्दर प्रेम
अरू होला ?

यो भन्दा सुन्दर प्रेम त
आमाले छोरालाई गर्ने प्रेम होला !
भनिन्छ,
आमाको आँखाले हेर्ने हो भने
कुरूप भन्ने शब्द हुँदैन
सायद
यो भन्दा सुन्दर प्रेमको परिभाषा छैन

अनि,
एउटा बालकले
प्रकृतिलाई गर्ने प्रेम,
पुतलीसँगको क्रिडा
फूलसँगको लुकामारी
मानौँ ऊ आफैँ बगैँचा बनेको होस्
ऊ आनन्द पिउँछ र
फूल बनेर जिउँछ
प्रकृतिले तयार पारिदिएको
क्यानभाष रंङ्ग्याएर।
सायद ,
यो भन्दा सुन्दर प्रेमको उदाहरण नहोला।
प्रेम
अथाह सागर हो र
जीवन पनि

(इन्जिनियर प्रमोद खतिवडा )

प्रकाशित :२०८० फाल्गुन २, बुधबार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry