भन्सार प्रमुखसहित ३ कर्मचारी अनुसन्धानमा तानिए

आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ देखिएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीन जना केन्द्रमा तानिएका छन् ।

Advertisement 1

भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिएका हुन् । भन्सार प्रमुख सापकोटाले शुक्रबार रमाना बुझेर मन्त्रालय गएका छन् । सापकोटाको स्थानमा तत्काल कामकाज गर्न सिनियर अधिकृत सुवास श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । अधिकृत शर्मा र नासु दाहाललाई गत बिहीबार नै भन्सार विभागमा झिकाइएको थियो ।

स्रोतका अनुसार देव इन्टरनेसनलले ७३ हजार डलर बराबरको जुत्ता र तयारी गार्मेन्ट चीनबाट आयात गरेको थियो। आयातकर्ताले भन्सार प्रतिनिधि शरण (सन्तोष) खरेलमार्फत् यसको राजस्व ४५ लाख तिर्ने घोषणा गरेका थिए। उक्त सामग्री विराटनगरको आइसीपीस्थित भन्सार कार्यालयको परिसरमा आइपुगेपछि देव इन्टरनेसनलका प्रतिनिधि खरेलले भन्सार कार्यालयमा प्रज्ञापनपत्र दर्ता गरेका थिए। तर, दर्ता भएको प्रज्ञापनपत्र एकाएक रद्द गरियो।

Advertisement 2

विराटनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुवास श्रेष्ठले भने, “सापकोटा रमाना बुझेर मन्त्रालय जानुभएको हो । अन्यको हकमा मलाई थाहा छैन, कर्मचारीको सरुवा सामान्य प्रक्रिया हो ।” भन्सार प्रतिनिधि खरेलले केही सामान मिसप्लेस भएको र कन्फ्युजन उत्पन्न भएको उल्लेख गर्दै उक्त सामान जाँचपास भई गइसकेको दाबी गरे। उनले भने ‘यो विषयमा कुनै विवाद भएको छैन।’

यसअघि भन्सार प्रमुख सापकोटाले जाँचपास गरेका ट्रकमा राजस्व अनुसन्धान विभागले छड्के जाँच गरेको थियो। त्यसमा न्यून बिजकीकरण भेटिएपछि विभागले २ वटा ट्रकलाई ४५ लाख जरिवाना गरेको थियो। सापकोटा पहिल्यैदेखि शंकाको घेरामा रहेको राजस्व स्रोतले जनाएको छ।

Advertisement 3

भन्सार विभागका पूर्व महानिर्देशक कमलप्रसाद भट्टराईले पनि उनी माथि छड्के चेकजाँच गर्न लगाएका थिए। जनार्दन शर्मा अर्थमन्त्री हुँदा सापकोटाका कामको छड्केमा जाने अधिकृतको १० दिनमै सरुवा गराइएको थियो। उक्त घटना अहिले आएर समीक्षा सुरु भएको छ।

प्रकाशित :२०७९ माघ १५, आईतवार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry