नापी विभागको महानिर्देशकमा जनकराज जोशी फर्किए, करुणा केसी प्रशिक्षण केन्द्रमा सरुवा

काठमाडौं। नापी विभागको महानिर्देशकमा जनकराज जोशी सरुवा भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय को मिति मंसिर १ गतेको निर्णयअनुसार भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जोशीलाई नापी विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि विभागको महानिर्देशक रहेकी करुणा केसीलाई भने भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पठाइएको छ।

Advertisement 1

नापी विभागमा पछिल्लो समय ८५७ कर्मचारीको सरुवालाई लिएर उत्पन्न विवादपछि नेतृत्व परिवर्तन हुँदै आएको छ। तत्कालीन महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा भएको कर्मचारी सरुवा विवादमा परेपछि मन्त्रालयले विभागको नेतृत्व परिवर्तन गरेको थियो।

मन्त्रालयले प्रकाश जोशीलाई अतिरिक्त समूहमा सरुवा गरेपछि विभागकै उपमहानिर्देशक रहेकी केसीलाई असोज २६ गते महानिर्देशकको जिम्मेवारी दिइएको थियो। जिम्मेवारी सम्हालेकै दिन केसीले विवादित सरुवाप्रति असन्तुष्ट कर्मचारीसँग तथ्य, आधार र प्रमाणसहित गुनासो मागेकी थिइन्।

Advertisement 2

विभागले असोज २४ गते १०३ नापी अधिकृत, ४९८ सर्भेक्षक र २५६ अमिन गरी कुल ८५७ कर्मचारीको सरुवा विवरण सार्वजनिक गरेको थियो। सरुवापछि दुर्गम क्षेत्रमा लामो समय काम गरेका कर्मचारीले अवसर नपाएको, केही कर्मचारीलाई पटकपटक अनुकूल कार्यालयमा खटाइएको र समान मापदण्ड लागू नगरिएको भन्दै असन्तुष्टि चुलिएको थियो।

सरुवामा पहुँच र आर्थिक लेनदेनको आरोपसमेत सार्वजनिक भएपछि मन्त्री प्रतिभा रावलले कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट सबै ८५७ कर्मचारीको सरुवा बदर गरेकी थिइन्।

Advertisement 3

मन्त्रालयले कर्मचारीका उजुरीमाथि आवश्यक छानबिन गर्ने र स्पष्ट मापदण्डका आधारमा पुनः सरुवा गर्ने निर्णयसमेत गरेको थियो। विवादित सरुवा बदर भएको केही समयपछि विभागको नेतृत्वमा पुनः परिवर्तन गरिएको हो।

जोशीको पुनरागमनसँगै विवादित कर्मचारी सरुवाको विषयलाई मन्त्रालयले कसरी टुंग्याउँछ भन्ने चासो बढेको छ। अब नयाँ नेतृत्वले उजुरीमाथिको छानबिन, सरुवाको मापदण्ड निर्धारण र कर्मचारी व्यवस्थापनलाई कसरी अघि बढाउँछ भन्ने विषय महत्वपूर्ण हुनेछ।

प्रकाशित :२०८३ मंसिर १ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]