राष्ट्र बैंकका अनुभवी अधिकारी राजनविक्रम थापा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त

काठमाडौं। नेपाल राष्ट्र बैंकमा साढे २ दशकभन्दा लामो समय वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र जोखिम व्यवस्थापनमा अनुभव हासिल गरेका राजनविक्रम थापा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन्। सरकारले अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा उनलाई प्राधिकरणको नेतृत्व सुम्पिएको हो।
Advertisement 1
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्भीक भएर काम गर्न निर्देशन दिएका छन्। बीमा क्षेत्रको दायरा विस्तार, नियामकीय प्रभावकारिता र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिएका थिए।
Advertisement 2
राष्ट्र बैंकको अनुभव अब बीमा नियमनमा
थापा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। बैंकिङ क्षेत्रको नियमन, वित्तीय संस्थाको सुपरिवेक्षण र जोखिम व्यवस्थापनमा लामो अनुभव हासिल गरेका उनी अब बैंकिङ क्षेत्रभन्दा फरक तर वित्तीय प्रणालीकै महत्वपूर्ण अंगका रूपमा रहेको बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा पुगेका छन्।
Advertisement 3
उनले नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर बैंक तथा वित्तीय संस्थाको नियमन र अनुगमनसम्बन्धी काम गरेका थिए। बैंकिङ क्षेत्रको कर्जा जोखिम, खराब कर्जा व्यवस्थापन र वित्तीय स्थायित्वसम्बन्धी विषयमा समेत उनको अध्ययन तथा अनुसन्धान रहेको छ।
बैंकिङ क्षेत्रको अनुभवलाई बीमा क्षेत्रको नियमनमा उपयोग गर्ने अवसर पाएका थापाका लागि नयाँ जिम्मेवारी वित्तीय क्षेत्रको अर्को महत्वपूर्ण संस्थाको नेतृत्व गर्ने अवसरका रूपमा आएको छ।
२६ वर्षभन्दा लामो बैंकिङ अनुभव
थापाको व्यावसायिक पृष्ठभूमि बैंकिङ तथा आर्थिक क्षेत्रसँग जोडिएको छ। बैंकिङ, वित्त तथा बीमा क्षेत्रका विषयमा प्रकाशित जर्नलमा समावेश उनको परिचयअनुसार उनीसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा लामो अनुभव छ।
उनले व्यवस्थापनमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। भारतको राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट व्यवस्थापन संकायमा विद्यावारिधि अध्ययनसमेत अघि बढाएका छन्।
बैंकिङ र आर्थिक विषयमा अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका थापाले नेपाली बैंकिङ प्रणालीसम्बन्धी पुस्तक लेखनमा समेत योगदान गरेका छन्। ’एचष्लअष्उभिक बलम एचबअतष्अभक या ल्भउबभिकभ द्यबलपष्लन’ तथा ’एचष्लअष्उभि या ःबलबनझभलत’ उनका प्रकाशित पुस्तकमा पर्छन्।
उनले एक दशकभन्दा बढी समय व्यवस्थापन तथा अर्थशास्त्रका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई अध्यापनसमेत गराएका छन्।
बीमा क्षेत्रका चुनौती र नयाँ नेतृत्वको परीक्षा
नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रमुख निकाय हो। बीमा कम्पनीहरूको संस्थागत सुशासन कायम गर्ने, बीमितको हित संरक्षण गर्ने, बीमा बजारलाई प्रतिस्पर्धी तथा विश्वसनीय बनाउने र बीमाको पहुँच विस्तार गर्ने जिम्मेवारी प्राधिकरणको छ।
नयाँ अध्यक्ष थापासामु बीमा क्षेत्रको नियमनलाई प्रभावकारी बनाउनेदेखि बीमा दाबी भुक्तानीमा देखिने समस्या सम्बोधन गर्नेसम्मका चुनौती छन्। बीमा कम्पनीहरूको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, संस्थागत सुशासन र नियामकीय अनुपालनलाई प्रभावकारी बनाउनु पनि उनको जिम्मेवारी हुनेछ।
त्यसैगरी जीवन तथा निर्जीवन बीमाको पहुँच ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने, कृषि तथा लघुबीमालाई प्रवद्र्धन गर्ने, बीमाप्रति सर्वसाधारणको विश्वास बढाउने र बीमा सेवामा प्रविधिको प्रयोग विस्तार गर्ने विषय पनि नयाँ नेतृत्वका प्राथमिकतामा पर्नुपर्ने देखिन्छ।








