राजनीति के का लागि?
यहां संविधान छ, राजनीतिक दलहरू छन्, यी दल चलाउने नेता छन्, आवधिक निर्वाचन हुन्छ, ६५ % भन्दा बढी नै मतदान हुन्छ अर्थात निर्वाचनमा उल्लेख्य जन सहभागिता पनि भएको छ, प्रतिनिधिहरू स्थानीय, प्रदेश र संघमा हाउस फूल छन्, वर्षेनी बजेट पनि बन्छ, योजनाहरू पनि सन्चालन हुन्छन् तर देशको विकास हुन सक्दैन।
यहां वर्षेनी लोक सेवा आयोग खुल्छ, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने कर्मचारी नियुक्त हुन्छन्,जसलाई स्थायी सरकार पनि भनिन्छ र यी संगै आवधिक सरकार पनि हुन्छ तर जनताले सरकार भएको अनुभूति गर्न पाउदैनन्।
Advertisement 1
राज्यलाई नियन्त्रण र स्थीर राख्न संवैधानिक निकायहरू स्थापना गरिएका छन् तर ती निकायमा काम गर्ने अधिकारी राजनीतिक दलका गोटी भएको हुदा पार्टी कार्यालय र यी निकाय बीच विभेद पाउन गाह्रो हुन्छ।
न्याय नपाए गोरखा जानु भन्ने ईतिहांस बोकेको ठूलो गोरखामा न्याय पाईदैन। यो स्थानमा समेत पार्टीका कार्यकर्ता भरिएको हुदा राज्यमा न्याय फेला पार्न नसकिने अवस्था छ।
शिक्षा दिने शिक्षक नै पार्टीको हुक्के हुन्छ, पढ्न जाने विद्यार्थीहरू समेत पार्टीका कार्यकर्ता भएर शैक्षिक कृयाकलाप भन्दा आन्दोलन र तोडफोडमा ब्यस्त हुन्छन्।
राजनीतिज्ञलाई सल्लाह दिने विद्वत वर्ग समेत राजनीतिक नियुक्तिमा र्याल चुहाएर बस्ने र नियुक्ति नपाए पछि मात्र नागरिक समाजको नाममा संचार माध्यमबाट भुक्ने गरेको पाईन्छ।
Advertisement 2
राजनीति सेवा नभएर पेशा बन्न पुग्दा मुलुकमा भ्रष्टाचार झ्यांगिदै गयो तर भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा कार्यरत पदाधिकारीहरू आफ्नो नियुक्तिको ऋण भुक्तानी गर्दै तमासा हेरी रहेको अवस्था छ।
त्यसै गरी निजी क्षेत्रले दिएको स्वास्थ्य सर्वसाधारणको पहुंच बाहिर छ, स्वास्थ्यमा गुण स्तर छैन, सरकारबाट अनुगमन छैन। सरकारले दिने स्वास्थ्य सुविधा पर्याप्त छैन, सरकारी चिकित्सकहरू निजी स्वास्थ्य वा क्लिनिकमा ब्यस्त छन्। जनताहरु आधारभूत स्वास्थ्य सेवाबाट बन्चित छन्।
त्यस्तै देशमा बेरोजगारी बढ्दो छ, यूवा शक्ति हातमुख जोड्न विदेशिनु परेको छ, यूवा जनशक्तिको अभावले कृषि योग्य जमीन बाझो हुदा उत्पादन हुन सकेको छैन, देशमा ब्यापार घाटा छ, निर्यात गर्न नसक्दा विदेशी मुद्राको संचिति संकटमा छ।
Advertisement 3
यस किसिमको भयाभह परिदृश्य भएको हाम्रो मुलुकमा विकास किन हुदैन, जनताको स्तर किन उठ्न सक्दैन भन्ने कुरा बुझ्न धेरै समय घोत्लिनै पर्दैन। तर देशमा जति जना सांसद भए पनि, जो जति पटक सरकार प्रमुख भए पनि , जति तहका सरकार भए पनि केही हुनेवाला देखिएन। यहां राजनीतिक ब्यबस्था वा संविधानलाई खोट लगाएर पनि केही हुनेवाला छैन। यहां एकजना ईमान्दार, दूरदर्शी र कडा आंट र शाहस भएको नेता भए पुग्छ। यो नेता समेत जनता बीच मै छ र त्यसलाई माथि आउने मौका दिनु पर्छ र निज स्वयं पनि आफ्नो दृष्टि लिएर योजनाका साथ अगाडि आउन सक्नु पर्छ। खासगरी यहां लिडर नभएर यो समस्या आएको हो।
नेपाली जनताले धेरै नेता रोजेर सत्ता सुम्पिए, सबै राजनीतिक ब्यबस्था भोगी सके तर सोचे जस्तो उपलब्धी पाउन सकेका छैनन। यसरी रोज्ने क्रममा पार्टीले पस्केका नेताहरूबाट नयांपन नपाउदा बालेन्द्र जस्ता स्वतन्त्र ब्यक्तिलाई समेत रोज्न पुगेका छन् जनता । यी सबै कुरा बुझेर यहांको राजनीतिक नेत्तृत्त्वले यही ब्यबस्थाको माध्यमबाट देश र जनताको विकास देख्न चाहेका हुन भने यसै पटक हुन गै रहेको निर्वाचनमा त्यस्ता नेतालाई छनौट गरेर मतदाता समक्ष पेश गर,जो संग दूर दृष्टि , ईमान्दारिता र देश विकास गर्ने तागत छ तर हैन म वाहेक अरू कोही योग्य छैन भनेर आफै प्रतिस्प्रधामा उभिनु भयो भने तपाईको त जमानत जफत हुन्छ नै, जनतामा आएको बितृष्णाले नेपालीहरू नै श्रीलंकन जनताको रूप धारण गर्न बेर लगाउने छैनन्।