सोझो हुने कि बाङ्गो ?
भनिन्छ लाओत्सु असी वर्ष आमाको गर्भमा बसेका थिए । यस लोकमा असी वर्ष आमाको गर्भमा बस्नु असम्भव कुरा हो । हिन्दू ग्रन्थहरुमा पनि लामो समयसम्म गर्भमा बसेका भनिएका पात्रहरु भेटिन्छन् । लाओत्सु असी वर्ष गर्भमा बसे भन्नुमा ठूलो बिम्बात्मक अर्थ छ । सायद उनी असी वर्षको पुगेपछि मात्र समाजले उनलाई चिन्यो । उनको ज्ञानको ज्योति तब मात्र फैलियो ।लाओत्सुलेले आफ्नो किताबको भूमिकामा लेखे- जुन कुरा लेख्न र बोल्न सकिन्छ , त्यो सत्य होइन । सत्य लेख्न सकिने शब्द नै छैन ।
Advertisement 1
सच्चा नैतिकवान मानिस त्यो हो जसलाई नैतिकता भन्ने शब्द छ भन्ने पनि थाहा छैन ।लाओत्सुको चेलाहरुलाई पढाउने मौलिक तरिका थियो ।उनी बोलेर होइन देखाएर पढाउँथे । उनी शिष्यहरुको अगाडी रातभरी मौन बस्दथे । शिष्यहरु उनलाई एकोहोरो हेरिरहन्थे । त्यो मौनको गहिरो रहस्य र सन्देश केहीले मात्र बुझ्थे । बिहान उनी शिष्यहरुलाई सोध्दथे – के बुझ्यौ ? शिष्यहरु पनि मौन उत्तर दिन्थे । लाओत्सु भन्दथे – पास भयौ ! एक दिन उनी केही शिष्यहरुलाई वनतिर लिएर गए । वनमा धेरै सिकर्मीहरु जम्मा भएर धमाधम रुखहरु काटिरहेका थिए । वनका सारा सुकाठहरु काटेर निमिट्यान्न । तर नाङ्गो जमिनको बीचमा एउटा झ्याम्म परेको रुख जीवितै थियो । लाओत्सुले सोधे – के देख्यौ ? शिष्य – धेरै रुख काटिएछन , तर एउटा रुख चोखै छ । किन होला गुरु ? लाओत्सु – मलाई थाहा छैन । जाऊ त्यहीँ गएर सिकर्मीलाई सोध ।
शिष्यहरु सिकर्मीको नाइकेलाई भेट्न गए । उनीहरुले सोधे – सबै रुख काट्नु भएछ । तर एउटा रुखलाई किन छाड्नुभयो ।सिकर्मी – यो रुखको न काण्ड सोझो छ न त हाँगा । यसको शरीरभरि गाँठै गाँठा छन । यो बाङ्गे रुखको त दाउरा पनि काम लाग्दैन । पुत्ताएर धुवाँ मात्र आउनेछ । यस्तो बेकम्मा र बाङ्गो रुख को काट्छ ? कसैको आँखा नलाग्ने , अपहेलित र परित्यक्त तर सुरक्षित वृक्ष । शिष्यहरु फर्केर लाओत्सुलाई सबै कुरा बताए । लाओत्सु – हेर बाबु हो !
Advertisement 2
जीवनमा जो सोझो छ त्यही काटिन्छ । जीवनमा सधै सोझो हुन खोज्ने र सबैको सहयोगी हुन प्रयत्न गर्नेलाई माया गर्लान , प्रशंसा पनि गर्लान , तर दु:ख दिन र बिगार्न पनि पछि पर्ने छैनन । त्यसैले जीवनमा अल्ढेङ्ग्रो हुन पनि पछि हट्नु हुँदैन । जीवनमा केही बाङ्गो , केही डेब्रो , केही अनाकर्षक र बेकारको हुन पछि पर्नु हुँदैन । परिस्थितिअनुसार टेढो पनि हुनुपर्छ , ताकि सोझो मान्छे खोज्न आउनेहरु छ्या ! भन्दै वास्ता नगरेर जाउन् । ज्यादा सहज , शानदार र प्रिय हुन नखोज ।