यी जनप्रतिनिधि जसले ७८ जनाको भत्ता १ करोड रुपैयाँभन्दा बढी खाए
सप्तरीमा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्षमा ७८ जनाको कागजात किर्ते गरी १ करोड रुपैयाँभन्दा बढी दुरुपयोग गरिएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका, कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएको, उमेर नपुगेकाको नागरिकतामा केरमेट गरी र भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाएर सप्तरीमा कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिएको खुलेको हो ।
Advertisement 1
डाकनेश्वरी नगरपालिका–२ का वडाध्यक्ष मोहम्मद रहमान मियाँ र वडासचिव विनोदकुमार ठाकुरलगायतले अवैध रूपमा सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएको पाइएको हो । स्थानीयको जाहेरीपछि प्रहरीले वडासचिव ठाकुरलाई गत साउन २४ मा नियन्त्रणमा लिएपछि यो तथ्य खुलेको हो । डाकनेश्वरी–२ मा ७८ जनाको नाममा किर्ते कागजात बनाई आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म सामाजिक सुरक्षा भत्ता बुझिरहेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । वडाध्यक्ष मियाँ, वडासचिव ठाकुर र एक वडा सदस्य र अर्का एक कर्मचारीमाथि उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धानअघि बढाउँदै प्रहरीले वडासचिवलाई पक्रेको थियो । वडाध्यक्षसहित अन्य तीन आरोपित भने फरार छन् ।
पछिल्लो ४ आर्थिक वर्षमा यो समूहले भत्तावापतको एक करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको स्थानीयको आरोप छ । सप्तरी प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले किर्ते कागजात पेस गरी मृत्यु भएका व्यक्तिको नाममा समेत भत्ता खाइरहेको जाहेरीका आधारमा वडासचिव ठाकुरलाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरे । फरार ३ आरोपितको खोजी भइरहेको उनले बताए ।
Advertisement 2