सबैभन्दा कान्छी सहसचिवः जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २५ जना सहसचिवहरु छन् ती मध्य कान्छी सह—सचिव (११ औं तह) हुन् रश्मि शर्मा । लोकसेवामार्फत उनले गत वर्षमात्रै सहसचिवमा नाम निकालेकी हुन् । बुबा मुकुन्दप्रसाद शर्मा र माता मायादेवी शर्माको कोखबाट उनको जन्म वि.सं. २०४४ असार १० मा बाग्लुङको जैमिनी नगरपालिकामा भएको हो । बुवा र आमा दुवै बुढानिलकण्ठ स्कुलमा अध्यापन गराउँथे । ४ कक्षासम्म बुढानिलकण्ठ प्राथमिक स्कुलमा पढेकी डा. रश्मीपछि बुढानिलकण्ठ स्कुल गइन् । त्यही क्वार्टरमा बुवाआमासँगै बसेकी उनले बुढानिलकण्ठकै शैक्षिक परिवेशमा हुर्किन पाइन् । ‘बुढानिलकण्ठको उत्कृष्ट शैक्षिक वातावरणको लाभ हामीलाई मिल्यो । हुने विरुवाको चिल्लो पात भनेजस्तै डा. रश्मि पनि पढाइमा अब्ब थिइन् । परिणाम नै मान्नुपर्छ, वि.सं. २०६० सालमा उनले डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरिन् । प्लस टु पनि उनी बुढानिलकण्ठ स्कुलमै विज्ञान विषय लिएर पढ्न थालिन् । वि.सं. २०६३ सालमा उनले बुढानिलकण्ठबाटै डिस्टिङसनमा प्लस टु उतीर्ण गरिन् । लगातार दुई महत्वपूर्ण परीक्षामा डिस्टिङ्स उनको अब्बलताका उदाहरण हुन् । आमाबुवासँग डा. रश्मि पढाइमा सानैदेखि तीक्ष्ण रश्मिले एमबीबीएसको इन्ट्रास दिइन् । उनको छात्रवृत्तिमै नाम निस्कियो । एमबीबीएस पढ्न वि.स. २०६३ साल फागुनमा नेपालगन्ज मेडिकल कलेज गइन् । त्यहाँबाट वि.सं. २०६९ भदौंमा उनले एमबीबीएस उत्तीर्ण गरिन् । एमबीबीएस उत्तीर्ण गरेपछि सरकारसँगको करार सम्झौताअनुसार उनी सेवा गर्न बाग्लुङ गइन् । बाग्लुङको धौलागिरी अस्पतालमा करार सेवामा एक वर्ष बिताएपछि लोकसेवा खुल्यो । उनले वि।सं। २०७० साल पुसमा लोकसेवा दिइन् । लोकसेवामा उनको आठौं तहमा नाम निस्कियो । पहिलो ट्राइमै लोकसेवामा नाम निकालेकी उनी मेडिकल अधिकृतका रुपमा सरकारी सेवाका लागि बाग्लुङको कुश्मीशेरा प्राथमिक स्वास्थ्य चौकीमा पुगिन् । त्यहाँ बस्दा उनले हेल्थ क्याम्पका क्रममा पूरै बाग्लुङ घुम्ने अवसर पाइन् । ‘म त्यतिबेला पूरै बाग्लुङ घुमेर सेवा गरे,’ उनले सुनाइन्, ‘२ वर्ष बाग्लुङ बस्दा पूरै जिल्ला घुमेर बुझ्ने अवसर पाएँ ।’ वि.सं. २०७३ सालमा डा. रश्मि एमडीका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएमं)मा इन्ट्रान्स दिइन् । उनको नाम छात्रवृत्तिमै निस्कियो । त्यसपछि उनी आईओएम एमडी अध्ययन गर्न थालिन् । वि.सं. २०७६ सालको जेठमा उनले छालारोगमा एमडी सकिन् । त्यसपछि उनले वि.सं. २०७७ बैशाखदेखि साउनसम्म चार महिना भरतपुर अस्पतालमा बिताइन् । त्यही क्रममा ११ औं तहको लोकसेवा खुल्यो । वि.सं.२०७७ भदौं उनले नेपाल सरकारको ११ औं तहमा नाम निकालिन् । त्यसपछि उनको पोष्टिङ न्याम्स, वीर अस्पतालमा भयो । अहिले उनी ११ औं तहको छालारोग विशेषज्ञका रुपमा वीरमा कार्यरत छन् ।