संघबाट प्रोत्साहन भत्ता नपाएका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले भत्ता उपलव्ध गराउने

गण्डकी प्रदेशले कोभिड नियन्त्रण र रोकथामका लागि विशेष सतर्कता अपनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।
Advertisement 1
कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता जनाए । अहिले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश सरकारले अध्ययन थालेको भन्दै उनले थप सुविधा दिएर भए पनि विशेषज्ञ चिकित्सक उपलब्ध गराइने बताए । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमुना बनाउने प्रतिबद्धता जनाइन् ।
गण्डकीका प्रमुख सचिव डा दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको समर्पणका कारण यो सम्भव भएको हो, उपचार प्रति समर्पणभाव र स्वास्थ्यकर्मीहरुको असल व्यवहारका कारण रोग निको भएको हो ।’ उनले गण्डकी प्रदेशले कोभिड नियन्त्रण र रोकथामका लागि विशेष सतर्कता अपनाएको कुरा वताए ।
कोरोना महामारी विरुध्दका प्रयासहरुमा प्रभावकारिता ल्याउन र खोप कार्यलाइ प्रभावकारी वनाउन गण्डकी प्रदेशमा प्रमुख सचिव डा। दामोदर रेग्मीको संयोजकत्वमा सवै सचिवहरु र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित संयोजन समिति गठन भएको छ ।