सामान्यमा सरुवा माग्दै आवेदनको चाङ :- १५ सयले आवेदन दिँदा २५३ जनाको मात्र सुनुवाई

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाको काम प्रभावकारी बनाउन बन्दै अनलाइनबाटै आवेदन प्रक्रिया शुरु गर्यो । यो प्रक्रिया शुरु भएको ८ महिना पुगिसक्यो । मंसिरदेखि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था भए पनि यस्को प्रभावकारी कार्यन्वयन हुन नसकेको कर्मचारीहरुको गुनासो छ ।
कर्मचारी डटकमको सम्पर्कमा आएका अधिकांश कर्मचारीहरुले अनलाइनबाट आवेदन दिए पनि सुनुवाई नभएको भन्दै गुनासो पोखेका छन् । सात महिनाको अवधिमा झण्डै १५ सय ले अनलाइनबाट आवेदन दिएका भए पनि नगन्य मात्रामा कर्मचारीको रोजेकै ठाउँमा सरुवा पाएका छन् ।
सामान्यकै आँकडा अनुसार मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये २५३ जनाको रोजेकै कार्यालयमा सरुवा भएको सामान्य प्रशासनले जनाएको छ ।
मन्त्रालयले अनलाइनबाट आवेदन प्रक्रिया शुरु गरेसँगै इमेलमार्फत कर्मचारीहरुले दिएका आवेदनलाई हरेक महिनाको २५ देखि ३० गतेभित्र सरुवाको काम गर्दै आएको छ । पछिल्लो सात महिनामा १७ प्रतिशतमात्र रोजेकै कार्यालयमा सरुवा हुन पाएका छन् ।
सामान्यले कर्मचारीहरुको सरुवामा हुने चलखेल रोक्न भन्दै अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । जसअनुसार निजामती कर्मचारीहरुले सरुवा काज तथा कामकाजका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्थाको प्रारम्भ भयो । मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन सरुवा प्रणाली सञ्चालनमा ल्याएसँगै दुर्गम जिल्लाबाट समेत सरुवाकै लागि सिंहदरबार धाइरहनुपर्ने झण्झट अन्त्य भयो त भनियो तर दूगर्मको कर्मचारीको पीडा उस्तै छ । उनीहरु सरुवाको काम प्रभावकारी हुनै नसकेको गुनासो पोख्दैछन् । अनलाइनबाटै आवेदन दिँदा कर्मचारीहरु सिंहदरबार धाइरहनु नपर्ने र उनीहरु घरैबसी अनलाइनमार्फत निवेदन दिन सक्ने भनिए पनि सरुवा भएर जाने वा सरुवा हुन चाहेको दुबै निकायको दोहोरो स्वीकृती गराउन नसक्दा कर्मचारी सरुवा प्रभावकारी हुन नसकेको कर्मचारीहरु गुनासो पोख्छन् ।