देउवा सरकारको पहिलो निर्णय :-सातदिनभित्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिमभत्ता

सरकारले कोरोना बिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता दिने निर्णय गरेको छ ।
नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दिने भनिएको ५० प्रतिशत जोखिमभत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय गरेको हो ।
Advertisement 1
बैठकपछि पत्रकारहरुलाई निर्णयबारे जानकारी गराउँदै कानून मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता ७ दिनभित्र उपलव्ध गराउने बताउनुभयो । साथै उहाँले आजको पहिलो मन्त्रिपरिषद् बैठकले यही वर्षभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले कोरोना महामारी र मनसुन जन्य विपदमा परि मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै २०७८ असोज मसान्तसम्म १ तिहाइ नेपाली जनतालाई खोप लगाई सक्ने र २०७८ चैत्र मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाई सक्ने निर्णय गरेको छ ।
Advertisement 2
बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि हाल सम्म भएका खर्चको विवरण सार्वजनिक गर्ने, कोरोना रोकथाम तथा नियन्त्रणको लागि विशेस सल्लाहकार नियुक्त गर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई १ साता भित्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई राहत दिन १ महिना भित्र विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । सरकारी निकायमा हुने नियुक्तिको लागि योग्यतामा आधारित कार्यविधि ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
Advertisement 3
बैठकले परिवर्तित सन्दर्भमा मन्त्रीपरिषद र मन्त्रीपरिषदका विभिन्न समितिहरुमा प्रक्रियामा रहेका र प्रक्रियामा नल्याईएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालय मै फिर्ता गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । अर्को ब्यबस्था नहुँदा सम्म कार्कीले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।