यी हुन् निजामति सेवामा सबैभन्दा बढी आवेदन पर्ने ५ जिल्ला
काठमाडौं। निजामति सेवामा सबैभन्दा बढी आवेदन पर्ने ५ जिल्ला मधेश प्रदेशका रहेका छन्। लोकसेवा आयोगको वार्षिक प्रतिवेदनअनुसार सर्लाही, धनुषा, सप्तरी, महोत्तरी र बारा जिल्लाबाट आयोगमा सबैभन्दा बढी आवेदन परेका हुन्।
Advertisement 1
आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल ४ लाख ७३ हजार ४ सय ९० आवेदन परेकामा सबैभन्दा बढी उक्त ५ जिल्लाबाट ८२ हजार ७ सय ७३ जनाले आवेदन दिएका हुन्। उक्त संख्या कुल आवेदकको तुलनामा १७.४८ प्रतिशत रहेको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार सर्लाहीबाट १८ हजार ३२८, धनुषाबाट १६ हजार ६७३, सप्तरीबाट १६ हजार ५१४, महोत्तरीबाट १५ हजार ८३५ र बाराबाट १५ हजार ४२३ जनाले आवेदन दिएका छन्।
Advertisement 2
त्यस्तै सबैभन्दा कम आवेदन पर्ने ५ जिल्ला मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पा रहेका छन्। यी जिल्लाबाट कुल दरखास्तको ०.४८ प्रतिशत आवेदन परेका आयोगको प्रतिवेदनमा उल्लेख छ।
उक्त जिल्लाहरुबाट कुल २ हजार २८० जनाले गत आर्थिक वर्षमा आयोगले खोलेका निजामति सेवाका पदहरुमा आवेदन परेका थिए।