नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्म ब्याजबिनै किस्तामा सामान किन्न पाउने

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसर पारेर क्रेडिट कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै ब्याज तथा सेवा शुल्कबिनै किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा ल्याएको छ।
Advertisement 1
बैंकले फिन्टारा सोलुसन्स प्रा.लि.सँग सम्झौता गरी ‘बाइ नाउ पे लेटर’ (Buy Now Pay Later) सुविधा सुरु गरेको हो। यस सुविधामार्फत नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले अधिकतम १८ महिनासम्मको किस्ताबन्दीमा विभिन्न सामान खरिद गर्न सक्नेछन्।
सम्झौताअनुसार यसरी सामान खरिद गर्दा ग्राहकलाई ब्याज तथा सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ। यसले एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज बनाउनुका साथै ग्राहकलाई आफ्नो आम्दानीअनुसार भुक्तानी व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Advertisement 2
नेपाल बैंकको प्रधान कार्यालय काठमाडौंमा कात्तिक १६ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्टारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
बैंक आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने र प्रविधिमा आधारित बैंकिङ सेवालाई विस्तार गर्ने रणनीतिअन्तर्गत नयाँ सुविधा ल्याएको हो।
Advertisement 3
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, दक्ष तथा युवा जनशक्तिको परिचालन र ग्राहक सेवाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकता दिँदै आएको जनाएको छ।








