उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै, भूमिपूजा सम्पन्न

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकले नयाँ भवन निर्माणको औपचारिक सुरुवात गर्दै शुक्रबार भूमिपूजा सम्पन्न गरेको छ।
Advertisement 1
बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित समारोहमा विधिपूर्वक भूमिपूजा गर्नुभएको हो।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवनमा दुई तला भूमिगत पार्किङ, एउटा ग्राउन्ड फ्लोर र नौवटा माथिल्ला तला रहनेछन्। आधुनिक वास्तुकला, वातावरणमैत्री संरचना र नवीनतम प्रविधिको संयोजनमा निर्माण गर्न लागिएको यो भवनलाई बैंकले आफ्नो संस्थागत पूर्वाधारको महत्वपूर्ण विस्तारका रूपमा लिएको छ।
Advertisement 2
भूमिपूजापछि अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकहरूको कर्पोरेट कार्यालयमध्ये आधुनिक र ठूलो संरचनाका रूपमा स्थापित हुने बताउनुभयो। उहाँले भवनले बैंकको संस्थागत पहिचानलाई थप उचाइ दिनुका साथै सेवाग्राहीलाई सहज, प्रभावकारी र प्रविधिमैत्री सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Advertisement 3
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले भवन निर्माणमा कर्मचारी र सेवाग्राही दुवैको सुविधालाई केन्द्रमा राखिएको जानकारी दिनुभयो। पार्किङ व्यवस्थापनदेखि भवनको आन्तरिक संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।
ऊर्जा बचत र वातावरणमैत्री पूर्वाधारमा जोड
बैंकले नयाँ भवनलाई ऊर्जा दक्ष र वातावरणमैत्री संरचनाका रूपमा विकास गर्ने योजना बनाएको छ। भवनमा विद्युत् खपत कम गर्न सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ भने वर्षाको पानी सङ्कलन तथा प्रशोधन गर्ने व्यवस्था पनि राखिनेछ।
यसबाट प्राकृतिक स्रोतको उपयोग बढाउनुका साथै पानीको व्यवस्थापन र ऊर्जा खपत न्यूनीकरणमा सहयोग पुग्ने बैंकको अपेक्षा छ। आधुनिक व्यावसायिक भवन निर्माणसँगै दिगो पूर्वाधार विकासको अवधारणालाई समेत आत्मसात् गर्न खोजिएको बैंकले जनाएको छ।
समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन तहका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।








