थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं। काठमाडौँको थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका निज चन्द्रमानको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
Advertisement 1
प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो। रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१ नम्बरको स्कुटरसँग समेत ठोक्किएको थियो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। यस्तै, स्कुटर चालक र पछाडि सवार यात्रुलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।
Advertisement 2
दुर्घटनामा रौतहट कटहरिया नगरपालिका–२ का २५ वर्षीय दिपेन्द्र दास, चितवनका २३ वर्षीय स्कुटर चालक सुदिप श्रेष्ठ र सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।








