राष्ट्रिय निजामती सेवा दिवस: कर्मचारीको सम्मानसँगै सेवाको अर्थ खोज्ने दिन

सम्पूर्ण निजामती कर्मचारी तथा श्रमजीवी वर्गमा हार्दिक शुभकामना। राष्ट्रिय निजामती सेवा दिवस केवल कर्मचारीले आफ्नो दिवस मनाउने एउटा औपचारिक अवसर होइन। यो दिन राज्य सञ्चालनको मेरुदण्डका रूपमा रहेको सार्वजनिक प्रशासन, त्यसमा कार्यरत जनशक्ति र नागरिकले पाउने सेवाबीचको सम्बन्धलाई पुनः सम्झने अवसर पनि हो। दिवसका अवसरमा कार्यक्रम हुन्छन्, शुभकामना आदानप्रदान हुन्छन्, उत्कृष्ट कर्मचारी सम्मानित हुन्छन्। तर यी सबैभन्दा महत्वपूर्ण कुरा एउटा हो—कर्मचारीले गर्ने कामले नागरिकको जीवनमा कति सहजता ल्यायो भन्ने प्रश्न।

Advertisement 1

यस अवसरमा इकर्मचारी सम्पूर्ण निजामती कर्मचारी, सार्वजनिक सेवामा आबद्ध कर्मचारी, करार तथा ज्यालादारीमा कार्यरत श्रमिक तथा आफ्नो श्रममार्फत मुलुकको अर्थतन्त्र र समाजलाई चलायमान बनाइरहेका सम्पूर्ण श्रमिकप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ।

सेवा गर्ने हरेक हात सम्मानका योग्य छन्। जिम्मेवारीको तह फरक होला, कार्यक्षेत्र फरक होला, तर राष्ट्र निर्माणमा श्रमको महत्वलाई ठूलो–सानो भनेर छुट्याउन सकिँदैन। सरकार देखिने ठाउँ कर्मचारीको टेबल हो।

Advertisement 2

नागरिकका लागि सरकार कहाँ छ?

यो प्रश्नको उत्तर सिंहदरबार, मन्त्रालय वा मन्त्रीको कार्यालयमा मात्र भेटिँदैन। नागरिकका लागि सरकार त्यतिबेला देखिन्छ, जब ऊ वडा कार्यालय पुग्छ, जिल्ला प्रशासन कार्यालय पुग्छ, अस्पतालमा उपचार लिन जान्छ, मालपोतमा जग्गाको काम गर्छ, यातायात कार्यालयमा सेवा लिन पुग्छ वा कुनै सरकारी योजनाको लाभ प्राप्त गर्न कार्यालयको ढोका ढकढक्याउँछ। त्यहाँ नागरिकले भेट्ने राज्यको प्रतिनिधि कर्मचारी हो।

Advertisement 3

मन्त्रीले नीति बनाउँछन्। सरकारले निर्णय गर्छ। संसद्ले कानुन निर्माण गर्छ। तर ती निर्णय नागरिकको जीवनमा पुग्ने बाटो प्रशासनिक संयन्त्रबाटै हो। यही कारण कर्मचारीलाई राज्यको स्थायी संयन्त्र भनिन्छ।

सरकार फेरिन्छ। मन्त्री फेरिन्छन्। राजनीतिक प्राथमिकता फेरिन्छ। कतिपय नीति परिवर्तन हुन्छन्। तर राज्यका नियमित काम रोकिँदैनन्। नागरिकता बन्नुपर्छ, जन्मदर्ता हुनुपर्छ, राहदानी दिनुपर्छ, कर उठ्नुपर्छ, सामाजिक सुरक्षा भत्ता वितरण हुनुपर्छ, विकास आयोजना सञ्चालन हुनुपर्छ, विपद्मा उद्धार र राहत पुग्नुपर्छ। यी सबै कामको निरन्तरता कर्मचारी संयन्त्रले धानिरहेको हुन्छ। यस अर्थमा कर्मचारीको भूमिका कुनै एउटा कार्यालय वा पदको सीमाभन्दा निकै ठूलो छ। कर्मचारी भनेको फाइल चलाउने व्यक्ति मात्रै होइन।

हाम्रो प्रशासनिक संस्कारमा कर्मचारीलाई धेरैपटक फाइल, टिप्पणी, निर्णय र कार्यालयसँग जोडेर हेर्ने गरिन्छ। तर कर्मचारीको कामको वास्तविक प्रभाव फाइलमा देखिँदैन, नागरिकको जीवनमा देखिन्छ।

कुनै कर्मचारीले समयमा एउटा निर्णय गरिदिँदा कुनै नागरिकको उपचार सहज हुन सक्छ। कुनै प्रमाणपत्र समयमा उपलब्ध हुँदा विद्यार्थीको अध्ययन अघि बढ्न सक्छ। कुनै प्रशासनिक निर्णयले व्यवसायीको लगानी प्रक्रिया अगाडि बढ्न सक्छ। विपद्को समयमा कर्मचारीले सक्रियता देखाउँदा मानिसको ज्यान जोगिन सक्छ। अर्थात्, कर्मचारीको टेबलमा आउने हरेक कागजको पछाडि कुनै न कुनै मानिसको आवश्यकता जोडिएको हुन्छ।

त्यसैले सरकारी कार्यालयमा आएको फाइललाई केवल ‘फाइल नम्बर’का रूपमा हेर्ने प्रवृत्ति बदलिनुपर्छ। त्यो फाइलको पछाडि एउटा परिवार हुन सक्छ, एउटा व्यवसाय हुन सक्छ, एउटा विद्यार्थीको भविष्य हुन सक्छ वा कसैको जीवनसँग जोडिएको गम्भीर समस्या हुन सक्छ। कर्मचारीको कामको मूल्य उसको हस्ताक्षरमा होइन, त्यो हस्ताक्षरपछि नागरिकको जीवनमा आएको परिणाममा मापन हुनुपर्छ।

अधिकारसँगै जिम्मेवारी पनि

निजामती सेवामा प्रवेश गर्नु रोजगारी प्राप्त गर्नु मात्र होइन, सार्वजनिक जिम्मेवारी स्वीकार गर्नु पनि हो। कर्मचारीलाई कानुनले अधिकार दिएको हुन्छ। जिम्मेवारी दिएको हुन्छ। निर्णय गर्ने अधिकार दिएको हुन्छ। तर त्यो अधिकार व्यक्तिगत सुविधा वा प्रभावका लागि होइन, सार्वजनिक हितका लागि हो। यसैले कर्मचारीमा तीनवटा कुरा अत्यन्त आवश्यक छन्—निष्पक्षता, जवाफदेहिता र सेवाभाव।

सेवाग्राहीसँग समान व्यवहार गर्नु, पहुँच र चिनजानभन्दा कानुनलाई प्राथमिकता दिनु, आफ्नो जिम्मेवारीबाट नपन्छिनु र आफूले गरेको निर्णयको जवाफ दिन सक्नु नै सार्वजनिक सेवाको आधार हो। कर्मचारीले आफूलाई कार्यालयको मालिक होइन, राज्यको सेवकका रूपमा बुझ्न सके प्रशासनप्रतिको नागरिकको दृष्टिकोण पनि बदलिन सक्छ। कर्मचारीको कमजोरीमाथि प्रश्न उठ्नु स्वाभाविक हो

कर्मचारी दिवस मनाउँदै गर्दा कर्मचारीका उपलब्धि मात्र गाएर पुग्दैन। आत्मसमीक्षा पनि आवश्यक छ। सरकारी कार्यालयमा हुने ढिलासुस्ती, अनावश्यक प्रक्रिया, सेवाग्राहीलाई घुमाउने प्रवृत्ति, जिम्मेवारी पन्छाउने व्यवहार, कामभन्दा बहाना खोज्ने संस्कार र पहुँचका आधारमा फरक व्यवहार हुने गुनासो अझै सुनिन्छ। यस्ता प्रवृत्तिले सम्पूर्ण कर्मचारी संयन्त्रप्रतिको विश्वास कमजोर बनाउँछ। तर यहाँ एउटा अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ।

हरेक समस्याको जिम्मेवारी कर्मचारीलाई मात्र दिएर प्रशासन सुधारिँदैन। कार्यालयमा पर्याप्त जनशक्ति छैन, स्रोतसाधन छैन, प्रविधि कमजोर छ, निर्णय अधिकार सीमित छ, बारम्बार जिम्मेवारी परिवर्तन हुन्छ, राजनीतिक वा बाह्य दबाब रहन्छ भने त्यसको असर कर्मचारीको काममा पनि पर्छ। त्यसैले कर्मचारीबाट परिणाम खोज्ने हो भने उनीहरूलाई काम गर्ने वातावरण पनि दिनुपर्छ।

असल कर्मचारी चाहिन्छ भने असल प्रणाली निर्माण गर्नुपर्छ। पारदर्शी सरुवा प्रणाली, स्पष्ट जिम्मेवारी, कार्यसम्पादनमा आधारित मूल्यांकन, आवश्यक तालिम, पर्याप्त जनशक्ति र प्रविधिमैत्री कार्यालय आजको प्रशासनका आधारभूत आवश्यकता हुन्।

सरुवा व्यवस्थापन हो, सजाय होइन

कर्मचारी प्रशासनको एउटा महत्वपूर्ण विषय सरुवा हो। आवश्यकता अनुसार कर्मचारीलाई एउटा कार्यालयबाट अर्को कार्यालयमा पठाउनुपर्ने हुन्छ। तर सरुवा कर्मचारी व्यवस्थापनको साधन हुनुपर्छ, दबाब वा पुरस्कार–दण्डको माध्यम होइन।

कर्मचारीलाई निश्चित अवधिसम्म काम गर्ने अवसर दिइएन भने उसले संस्थाको समस्या बुझ्न, योजना कार्यान्वयन गर्न र आफ्नो जिम्मेवारीको परिणाम देखाउन कठिन हुन्छ।

बारम्बार हुने सरुवाले कार्यालयमा संस्थागत स्मृति कमजोर बनाउँछ। नयाँ कर्मचारी आउँदा उसले काम बुझ्न समय खर्च गर्छ। पुरानो कर्मचारीले सुरु गरेका कामको निरन्तरता प्रभावित हुन सक्छ। त्यसैले सरुवा गर्दा आवश्यकता, योग्यता, अनुभव, भौगोलिक अवस्था र कार्यसम्पादनलाई आधार बनाउने प्रणाली बलियो हुनुपर्छ। कर्मचारीलाई स्थिरता दिँदा मात्र प्रशासनले दीर्घकालीन परिणाम दिन सक्छ।

कर्मचारीको मनोबल कमजोर पारेर सेवा सुधारिँदैन

सरकारी कर्मचारीसँग नागरिकको अपेक्षा ठूलो छ। त्यो अपेक्षा स्वाभाविक पनि हो। तर अपेक्षासँगै कर्मचारीको मनोबलको विषय पनि जोडिएको हुन्छ। दिनभर सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीले प्रशंसा कम र गुनासो धेरै सुन्नुपर्ने अवस्था हुन सक्छ। दुर्गम क्षेत्रमा खटिएका कर्मचारीले परिवारबाट टाढा रहेर काम गरिरहेका हुन्छन्। विपद्को समयमा धेरै कर्मचारीले आफ्नो सुरक्षाको समेत पर्वाह नगरी उद्धार, राहत र व्यवस्थापनमा खटिनुपर्छ। त्यसैले कर्मचारीको योगदानलाई केवल कार्यालय समयमा गरिएको कामबाट मापन गर्नु पर्याप्त हुँदैन।

काम गर्ने कर्मचारीलाई सम्मान, गल्ती गर्नेलाई जवाफदेहिता र राम्रो काम गर्नेलाई प्रोत्साहन—यी तीनवटै पक्ष सँगसँगै अघि बढ्नुपर्छ। पुरस्कार पाउने कर्मचारीले आफूलाई मात्र होइन, आफ्नो कार्यालय र सहकर्मीलाई पनि प्रेरित गर्छ। त्यस्तै, खराब कार्यसम्पादनलाई बेवास्ता गर्दा राम्रो काम गर्ने कर्मचारीको मनोबल घट्छ।

प्रविधि आयो, कर्मचारीको आवश्यकता घटेन

डिजिटल प्रविधिले प्रशासनको स्वरूप परिवर्तन गरिरहेको छ। अनलाइन आवेदन, डिजिटल हस्ताक्षर, विद्युतीय अभिलेख, स्वचालित प्रणाली र कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिले सरकारी सेवाको गति बढाउन सक्छन्। तर प्रविधिले कर्मचारीको आवश्यकता समाप्त गर्दैन। बरु कर्मचारीको भूमिका परिवर्तन गर्छ।
पहिले कागज बोकेर फाइल पु¥याउने काम बढी थियो भने अब प्रणाली व्यवस्थापन, तथ्यांक विश्लेषण, निर्णय सहयोग, सेवाग्राही सहायता र अनुगमनको जिम्मेवारी बढ्दैछ। अबको कर्मचारी कागजको फाइल मात्र बुझ्ने होइन, डेटा, प्रविधि, कानुन र नागरिकको आवश्यकता बुझ्ने कर्मचारी हुनुपर्छ।

डिजिटल प्रशासनको लक्ष्य कर्मचारी हटाउनु होइन, कर्मचारीको समय र क्षमता नागरिक सेवामा बढी उपयोग गर्नु हो।

सबै श्रमिकको सम्मान
निजामती सेवा दिवसको चर्चा गर्दा निजामती कर्मचारीको विषय स्वाभाविक रूपमा अगाडि आउँछ। तर राज्य र समाज केवल निजामती सेवाबाट चल्दैन।

कार्यालय सफा राख्ने कर्मचारी, सवारी चलाउने चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, उद्योगमा पसिना बगाउने श्रमिक, खेतबारीमा श्रम गर्ने किसान, अस्पतालमा रातदिन खटिने स्वास्थ्यकर्मी, विद्यालयमा पढाउने शिक्षक र सार्वजनिक सुरक्षामा खटिने सुरक्षाकर्मी—हरेकको श्रम समाजका लागि उत्तिकै महत्वपूर्ण छ।

कुनै व्यक्तिले कलम चलाएर सेवा गर्छ, कसैले औजार चलाएर। कसैले कम्प्युटरमा काम गर्छ, कसैले खेतमा। कसैले निर्णय तयार गर्छ, कसैले त्यो निर्णय कार्यान्वयनमा सहयोग गर्छ। कामको स्वरूप फरक भए पनि श्रमको गरिमा फरक हुनु हुँदैन। यसकारण राष्ट्रिय निजामती सेवा दिवस श्रमको सम्मान गर्ने संस्कारलाई अझ फराकिलो बनाउने अवसर पनि हो।

कर्मचारी र नागरिकबीचको दूरी घटाउनुपर्छ

सरकारी कार्यालयमा नागरिक र कर्मचारीबीच देखिने दूरी पनि सार्वजनिक प्रशासनको एउटा चुनौती हो। नागरिक कर्मचारीलाई आफ्नो काम रोक्ने व्यक्ति होइन, समाधान खोज्ने सहयात्रीका रूपमा देख्न चाहन्छ। कर्मचारीले पनि नागरिकलाई झन्झट दिने सेवाग्राही होइन, आफूले सेवा गर्नुपर्ने व्यक्ति भनेर बुझ्नुपर्छ।

एक कप चिया, एक मुस्कान वा नम्र बोलीले मात्र प्रशासन सुध्रिँदैन। तर सम्मानजनक व्यवहार र स्पष्ट सूचनाले नागरिकको तनाव धेरै कम गर्न सक्छ। नागरिकलाई उसको काम किन रोकियो भनेर बताउने, कुन कागज आवश्यक छ भनेर स्पष्ट जानकारी दिने र सम्भव भएसम्म एउटै ठाउँबाट सेवा उपलब्ध गराउने संस्कार विकास गर्नुपर्छ।

नागरिकले कार्यालयमा आएर ‘अब के गर्ने?’ भनेर अलमलिनुपर्ने अवस्था घटाउनु नै आधुनिक प्रशासनको लक्ष्य हुनुपर्छ।

 

 

प्रकाशित :२०८३ भाद्र २२, सोमबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry