भन्सार प्रमुखसहित तीन कर्मचारी कारबाहीमा

सन्तोष भुषाल
Advertisement 1
विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटासहित ३ कर्मचारी छानबिनका लागि काठमाडौं तानिएका छन्।
काठमाडौंको देव इन्टरनेसनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका विषयमा तीन जनालाई नै काठमाडौं बोलाइएको हो। सापकोटालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै भन्सार अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाललाई बयानका लागि भन्सार विभागमा हाजिर गराइएको स्रोतले जनाएको छ। एक साताअघि देव इन्टरनेसनल काठमाडौंले चीनबाट मगाएको ७३ हजार अमेरिकी डलर बराबरको जुत्ता एवं गार्मेन्टका तयारी सामान भन्सार एजेन्ट शरण खरेलमार्फत ४५ लाख राजस्व घोषणा गरेर सामान छुटाउन प्रज्ञापनपत्र दर्ता गराएको थियो । खरेलले प्रज्ञापनपत्र दर्ता गरेपछि भन्सारले सिस्टममा इन्ट्री गरेलगत्तै डिलिट गरेको भन्सार स्रोतको दाबी छ ।
Advertisement 2
अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको नेतृत्वमा आएको टोलीलाई भन्सारले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान विराटनगर भन्सारमा आइनपुगेको र आईसीपीको गोदाममा पनि नभएको जवाफ दिएको थियो । स्रोतले भन्यो, ‘त्यसपछि टोलीले गोदामको परीक्षण गर्दा रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान फेला पारेपछि १ करोड २५ लाख राजस्व लिएर छाडेको थियो ।’
कोलकाता बन्दरगाहले उक्त सामान उल्लेख गर्दै विराटनगर नाकाका लागि कस्टम ट्रान्जिट डिक्लियरेसन ९सीटीडी० फर्म जारी गरेको थियो । एलसी खोलेर मगाइएको विदेशी सामान नआए विदेशी मुद्रा अपचलनको अभियोग लाग्ने र वस्तु आयात भएर भन्सार छले राजस्व अपचलनको अभियोग लाग्ने स्रोतको भनाइ छ । दाहाल नेतृत्वको टोली फर्किसकेको छ । यस विषयमा भन्सारका कुनै पनि अधिकृतले प्रतिक्रिया दिन चाहेनन् । आयातकर्ताका भन्सार एजेन्टले उक्त प्रज्ञापन पत्र दर्ता गरेर त्यसमा उल्लिखित सामान आधा मात्र आइपुगेको र आधा आउन बाँकी रहेको भनेपछि सिस्टममा इन्ट्री भएको प्रज्ञापनपत्रलाई टिप्पणी उठाएर रद्द गरिएको एक अधिकृतको दाबी छ ।
Advertisement 3
अघिल्लो महिना राजस्व अनुसन्धान विभागले विराटनगर भन्सार कार्यालयबाटै छुटेको दुई गाडी समात्यो। सो गाडीमा विभागले न्युन बिजिकीकरण भएको पायो। सो गाडी पक्राउ पर्ने बित्तिकै ट्रक छुटाउन सापकोटाले बिचौलिया प्रयोग गरे। बिचौलिया थिए, हेम चौलागाई। उनी तिनै व्यक्ति हुन् जो दुई महिना अघि राजस्व अनुसन्धानले रसुवामा समातेको गाडी मेरो भन्दै विभाग पुगेका थिए। अनुसन्धान गर्दा न उनको गाडी थियो, न गाडी नै। विभागले चौलागाई कै नाममा प्रकाउ पुर्जी जारी गरेपछि उनले आफु निर्दोष भएको जिकिर गरेका थिए। स्रोतका अनुसार चौलागाईले नै सापकोटालाई विराटनगर भन्सार लगेका थिए। चौलागाई विगत १५ वर्षदेखी भन्सार जाँचपाँस सम्बन्धि काम गर्दै आएका छन्।
उनी नेकपा माओवादी निकट रहेका काम गर्दै आएका छन्। अर्थमन्त्री जनार्दन शर्मा रहँदा भन्सार कर्मचारीको सरुवामा उनकै वोलवाला चल्थ्यो।चौलागाई कै बलमा सापकोटाले महानिर्देशक सम्मलाई टेर्न छोडेका थिए। चौलागाईको मिलेमतोमा छाडेको सो गाडीलाई विभागले ४४ लाख रुपैयाँ जरीवाना गरेको छ। यो जरीवाना ५० लाख भन्दा माथि भएको भए सापकोटा पनि अनुसन्धानमा तानिन्थे। सापकोटाले जाँचपास भएको गाडीलाई जरीवाना गरिएको जानकारी पाएपनि पत्र भने नआएको स्वीकारे।