आफू बदलिएमात्र संसार बदलिन्छ

हामी सबैको चाहना हुन्छ– परिवार सुन्दर बनोस् । समाज सुन्दर बनोस् । संसार सुन्दर बनोस् । अहिलेको यो दुरावस्था सबै बदलियोस् । त्यो बदलिएको सुन्दर संसारमा म र मेरा मान्छेहरु सबै रमाउन पाऊँ । हामी सबै सुखी हुन पाऊँ । यो चाहना राम्रो हो । संसार सुखमय बनोस् भन्ने चाहना राख्नु अत्यन्त राम्रो कुरा हो । सबैको चाहना शान्ति, सुख, आनन्द र अमनचयन हो । यो चाहनाले गर्दा नै मानिसहरुले धेरै कथा लेखे, उपन्यास लेखे, कविता लेखे, सिद्धान्तका ठेलीहरु लेखे । तर संसार सोचे जस्तो बनेन । दुःख, अशाान्ति र कोलाहल छ, मानिसहरुले राम्रो होस् भनेर सोचे पनि । अझ यो संसार बैराग लाग्ने खालको बनेको छ । कतिलाई त एकछिन पनि यो संसारमा जीवन बिताउन धौ भएको छ ।
Advertisement 1
संसार सुखमय बनाउन राजनीतिक सिद्धान्तहरु पनि नयाँ–नयाँ आए । समाजवाद, साम्यवाद, पुजीवाद आदि । त्यसैगरी संसारमा दुःख देखेर त्यसलाई हटाउन धर्महरु पनि निकै स्थापना गरिए । हिन्दू, क्रिश्चियन, मुस्लिम, बौद्ध, शिख, यहुदी आदि । सबै धर्मको चाहना अहिंसा, परोपकारिता, शान्ति, सुख, आनन्द र अमनचयन हो । सबैको चाहना सुन्दर सुखमय संसार हो । सरकारहरु पनि जति गठन हुन्छन्, सबैको नारा शान्ति, सुख, आनन्द र अमनचयन हो । तर पनि कसैले केही गर्न सकेका छैनन् । राम्रा मान्छे नेतृत्वमा पुगेमा हल्का केही सुधार गरेपनि भनेजस्तो संसार भएको छैन ।
सबै कुरा सरकारले गरिदिने हैन रहेछ । कागजका विधि–विधान, नियमकानुनले मात्र पनि पनि गरिदिने रहेनछ । हामी सबै नागरिकले चाहनु पर्ने रहेछ । हामी हरेक व्यक्ति नै जागरुक बन्नु पर्ने रहेछ । आफू बदलिनु पर्ने रहेछ । आफैंले मनन् गर्नुप¥यो कि मबाट कतै कमजोरी भएको त छैन ? मैले गर्दा समाजमा नकारात्मक प्रभाव परेको त छैन ? विकृतिहरु हटाउने मेरो पनि त दायित्व हो भनेर सोच्नुपर्दो रहेछ । राम्रा काममा सरकारलाई पनि घच्घच्याने र सहयोग पनि गर्नुपर्दो रहेछ।
Advertisement 2
अहिलेसम्म हामीले अरु बदलिए हुन्थ्यो, मेरा परिवारका सदस्य बदलिए हुन्थ्यो । मेरो समाज, देश र यो पूरै संसारका मानिस बदलिए हुन्थ्यो भनेर मात्र कल्पना ग¥यौं । तर आफू बदलिनुपर्ने कुरा सोचेनौं । म बदलिए मेरो नजिकका बदलिन्छन् । समाज बदलिन्छ, संसार बदलिन्छ अनि हामी सुखीसम्पन्न बन्न सक्ने रहेछौं भनेर सोच्न नभ्याएर नै यो संसार हामीले भने जस्तो नभएको हो । त्यसै हामीले आफूबाट नै सुरु गर्नु पर्छ । असल कामको थालनी आफैंबाट गर्ने हो । अरुले गरिदेलान् र म गरुँला भनेर बस्यो भने त्यो कसैबाट पनि हुन सक्दैन ।
हामीले आफूमा धारण गर्ने भनेको कुरा हो असल संस्कार । यो बाट नै बदलिन्छ संसार । हामीले हाम्रो जीवनमा दिने र लिने भनेको वस्तु हो असल संस्कार । हामीले केही त हाम्रो जन्मसँगै लिएर आएका हुन्छौं तर हाम्रो व्यवहार र संगतले यो असल संस्कार कम हुँदै जान सक्छ र हाम्रो प्रयासले बढ्न पनि सक्दछ । हाम्रो जीवनको लक्ष्य असल संस्कारलाई बढाउने छ भने बढाउँदै लैजान पनि सकिन्छ । तर बढाउने तर्फ ध्यान दिइएन भने निश्चय नै घट्दै जान्छ । हामीले यो बुझ्नु पर्दछ कि हामीसँग अन्तमा जाने भनेको संस्कार नै हो । हामीले आर्जेको धन, मान, प्रतिष्ठा, डिग्री, इष्टमित्र सबै जीवनसँगै समाप्त हुन्छन् । सँगै जाने त संस्कार नै हो । यो जीवन छँदै असल संस्कार बनाउन सक्यो भने जुनीजुनीभर जीवन सफल हुन्छ । नत्र हाम्रो जीवन सार्थक बन्न सक्दैन ।
Advertisement 3
संस्कार बन्ने भनेकै हामीले गर्ने व्यवहारबाट हो । हामीले खाने खाना, हामीले गर्ने संगत, हामीले गर्ने कार्य, हामीले अपनाउने पेशा, हामीले गर्ने व्यवहारबाटै हामीमा संस्कार बन्ने हो । असल खानपान, असल संगत, असल पेशा, असल काम, असल बोली, असल दृष्टि, असल पढाइ आदिले असल संस्कार बन्ने हो ।
हामीले खाने खानाको असर हाम्रो दैनिक जीवन, व्यवहार र संस्कारमा पर्दछ भन्ने कुरा त धेरैले महसुस गर्ने गर्दछन् । हामीले खाने अन्न (खाना) को प्रभाव पहिले हाम्रो मनमा पर्दछ । मनबाट दृष्टिमा पर्दछ, दृष्टिबाट सृष्टिमा पर्दछ । त्यसैले भनिन्छ, जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तै दृष्टि, जस्तो दृष्टि उस्तै सृष्टि । हामीले निर्माण गर्ने संसार पनि हाम्रो दृष्टि अनुसार सृष्टि हुने हो ।
खाना विभिन्न स्रोतबाट प्राप्त हुन्छन् । विभिन्न खालका कार्यहरुबाट तयार हुन्छन् । समग्रमा भन्दा खाना तामसी, राजसी र सात्विक हुन्छन् । यीमध्ये हामीहरु कसैले के, कसैले के, खाने गरेका छौं । हामीसँग खाना त विभिन्न खालका उपलब्ध हुन सक्छन् । तर हामीले विचार गरौं कि कुनचाहिँ खाना हाम्रा लागि उपयुक्त हुन् ? विवेक लगाएर सोचौं । कुन खानाले हाम्रो जीवनलाई सुन्दर बनाउन मद्दत गर्दछ ।
मांस, मदिरा, सुर्ती, खैनी, चुरोट, तमाखु, र नसालु वस्तुको सेवन गर्नु भनेका तामसी भोजन हुन् । यस्ता खानाले मन र शरीर दुबैमा नराम्रो असर पर्न सक्दछ । गहिरोसँग हेर्ने हो भने मासु आँसुबाट पैदा हुने वस्तु हो । डर, त्रास, आक्रोश, पीडा, यातना, दर्द, रोदन आदिको अवस्थाबाट पैदा हुने वस्तु हो । यदि यसको सेवन हामीले गर्दछौं भने पक्कै पनि हाम्रो मनमा, मनोभावनामा, व्यवहारमा नकारात्मकै असर पर्दछ । नकारात्मक स्रोतबाट पैदा भएको वस्तुको असर नकारात्मक नै रहन्छ । मांस शरीरको स्वास्थ्यका लागि पनि उपयुक्त छैन । जसको कारण स्वास्थ्यमा जटिलता देखिन्छ । दूध र मासुको फरक हेर्ने हो भने दूध खुशीबाट, स्नेह र ममताबाट पैदा हुने वस्तु हो । त्यसैले यसको असर त्यही अनुसारको पर्दछ । मासु त्यसको ठीक विपरीत वस्तु हो ।
सुर्ती, खैनी, चुरोट, तमाखु र नसालु वस्तुहरु त हाम्रो शरीर र मनलाई नै अस्थिर बनाउने मन्दविषहरु हुन् । जसले शारीरिक र मानसिक समस्या पैदा गर्ने र गलत काम, अपराधिक क्रियाकलाप आदि गर्न उत्तेजित गर्ने गर्दछन् । अशान्ति, द्वन्द्व, हिंसाको चपेटामा पारी समाजलाई सधै पिरोली रहन्छन् । यो खानपानका कारण पापाचार, दुराचार, व्यभिचार, बलात्कार, भ्रष्टाचार, तस्करी, चोरी, डकैती आदि बढ्न जान्छ । गलत संस्कारको विकास हुन्छ ।
तेल, घिउ धेरै राखेर वा तेलमा भुटेर, तारेर, धेरै मसला, नून, अमिलो राखेर, सडाएर गलाएर तयार गरिएको चौरासी व्यञ्जन (धेरै परिकार)लाई राजशी खाना भनिन्छ । यो शरीरको लागि गरिष्ट खाना हो । जसलाई सेवन गर्दा आलस्य हुने, पचाउन मुस्किल हुने र यसैको कारण विभिन्न रोगहरु लाग्न सक्ने हुन्छ । यी खानाहरु पठनपाठन, ध्यान, चिन्तनको लागि पनि असर गर्ने खालका हुन्छन् । आफूलाई विशिष्ट ठान्नेहरु, धनी, सम्पन्न मानिसहरु, केही स्वादको पछि लाग्ने र जिब्रोको वशीभूत हुनेहरु यस प्रकारको भोजन ग्रहण गर्ने गर्दछन् ।
चिल्लो, पीरो, अमिलो ज्यादा नभएको सादा दाल, भात, तरकारी, दूध, दही, फलफूल आदि समावेश गरिएको खानालाई सात्विक खाना भनिन्छ । सात्विक खाना तयार गर्दा त्यस खानाको प्राकृतिक स्वाद र त्यसमा भएका लाभदायी खाद्यतत्वहरुलाई नबिगारी तयार पारिन्छ । यसको असर मानसिक स्वास्थ्य र शरीर दुबैमा राम्रो रहन्छ । बौद्धिक विकास, पठनपाठन, ध्यान, चिन्तन, मननको लागिपनि असर नगर्ने खालका हुन्छन् । सादा खानपानले जीवनलाई पनि सादा बनाउँछ, विचारलाई सदा उच्च बनाउन प्रोत्साहित गर्दछ । मानिसलाई शान्त, परोपकारी, सहयोगी, स्नेही, दयावान, कल्याणकारी बन्न सघाइरहन्छ ।
अब हामीले सोचौं कि मैले खाने खाना कसैमाथि गरिएको अन्याय, कसैलाई देखाइएको डर, कसैले महसुस गरेको त्रास, आक्रोस, पीडा, दर्द, कसैले भोगेको यातना, कसैले व्यक्त गर्नु परेको रोदन आदिबाट पैदा भएको नहोस् । शरीरको पोषणको लागि, भोक टार्नको लागि त प्रकृतिमा तमाम वस्तुहरु मिल्दछन् । मैले सोझा प्राणीको हत्या गरेर वा गर्न पे्ररित गरेर नै खानु पर्ने जरुरत नै छैन । आखिर मासु, माछा त हाम्रो प्रकृतिक खाना पनि त हैन । हाम्रो वास्तविक प्राकृतिक खाना त अन्न, सागपात, फलफूल नै हुन् । यी वस्तु पचाउनको लागिमात्र हाम्रो शरीरको संरचना भएको छ भन्ने कुरालाई मनमा राख्ने हो भने खान मनै लाग्दैन ।
आखिर हामी शाकाहारी प्राणी नै हौं । हाम्रो शरीरको दाँत, आन्द्रा शाकाहारीसँग मिल्दछ । हाम्रो पाचन रस मासु पचाउने खालको छैन । धेरै मासु खाएमा हाम्रो पेटले पचाउनै सक्दैन । हामीमा मांसाहारी जनावर बाघ, कुकुर, स्यालको जस्तो मासु लुछ्ने खालको छितरो बलियो दाँत छैन । उनीहरुले मासु सजिलै पचाउँछन् । अजिंगरले त सिंगै मृग निले पनि पचाउँछ । तर हाम्रो पेटमा त्यस खालको मासु पचाउने पाचन रस पैदा हुँदैन ।
मानव भनेको सबै प्राणीको कल्याण गर्ने सचेत प्राणी हो । हाम्रो व्यवहारले नै प्राणी जगतको कल्याण हुने हो । यो उच्च कोटीको प्राणीलाई हिंस्रक जनावरले जस्तो प्राणीको हिंसा गरेर, यातना र पीडा दिएर सिधा प्राणीको मासु खान सुहाउने कुरा पनि हैन । अर्को कुरा मासु खाएर बलियो हुने, स्वस्थ हुने, धेरै बाँच्ने कुरा पनि त हैन । हात्ती शाकाहारी जीव हो । संसारमा ऊ जति बलियो र लामो आयु भएको कुनै जीव नै छैन । मांसाहरी बाघ १२ वर्षसम्म त बाँच्दछ । मानिसले शरीर छोडेमा त्यो मृत शरीरलाई हामी जतिसुकै प्रियजनको भएपनि छिटोछिटो लगेर जलाउने वा पुर्ने गर्दछौं । सदगत गरेर आएपछि पनि शुद्ध हुन नुहाइधुवाई गर्दछौं । मरेको जनावरको शरीर वा सिनोलाई भने भान्सामा लैजान्छौं । यो पक्का पनि मानवको सभ्यता हुन सक्दैन ।
मदिरा, सुर्ती, खैनी, चुरोट, तमाखु र नसालु वस्तुको सेवनलाई त कानुनले पनि निषेध गरेको छ । यी शरीरलाई आवश्यक वस्तु नै हैनन् । यिनीहरुको सेवनले न शरीरलाई, न मनलाई, न समाजलाई कसैलाई पनि फाइदा छैन । यसले त समाजमा अशान्ति, द्वन्द्व, व्यभिचार, बलात्कार, भ्रष्टाचार, तस्करी, चोरी, डकैती, पापाचार, दुराचार आदि बढाइरहेका छन् । यसको लागि त आवाज पनि उठिरहेका छन् तर सरकारको कमजोरीका कारण भएका नियमहरु पनि कार्यान्वयन गरेर नियन्त्रण गर्न सकिएको छैन । यदि कसैमा गलतखालको आदत छ भने छोडेर आफू पनि सुखी बन्ने, परिवार र समाजलाई पनि सुखी राख्न योगदान दिनु प¥यो । समाजका चिन्तकहरु पनि यो कुलतमा फसेको धेरै देखिन्छ । ठूला उच्चपदस्थ कर्मचारीहरु, राजनेताहरु, मन्त्रीहरु, शिक्षक, प्राध्यापक, लेखक, कलाकारहरु यो दुव्र्यसन हो यसको असर के परेको छ भन्ने जानेका छन् तर यो कुलतबाट उम्कन सकेको पाइन्न ।
खानपान मात्र हैन संकल्प तथा विचार पनि सकारात्मक हुनु प¥यो । असल संगत, राम्रा पुस्तक, हेराई र दृष्टि पनि राम्रा हुनु पर्दछ । असल कामको थालनी आफैंबाट गर्ने हो । अरुले गरुन् अनि म गरौंला भनेर त समाज बदलिन्न । शुद्ध आहारबाट उच्च विचार आउँछ । उच्च विचारबाट असल व्यवहार हुन जान्छ । असल व्यवहारबाट असल संस्कार बन्दछ । त्यही असल संस्कारले संसार बदलिन्छ ।