सुशासनको रापमा म !

तिमी सेतो–निलो पोसाकमा सुशासन खोज्छौ,
म नाङ्गो खुट्टा हिँडेर पनि सेवा गर्न खोज्छु।
तिमी मिनेट र सेकेन्डको हिसाबमा हाजिरी नाप्छौ,
म बिहान–साँझ नभनी दुःखमा परेकाको साथ दिन दौडिन्छु।
तिमी तथ्याङ्क र प्रतिवेदनमा प्रगति गन्छौ,
म साना–साना मुस्कान र आशाका किरणमा सुशासन देख्छु।
तिमी विलासी गाडी र चिल्ला सडकमा व्यवस्था खोज्छौ,
म दूरदराजका अँध्यारा बस्तीमा बाँचेको मानवता खोज्छु।
तिमी डलर, बजेट र योजनाका चाङले देश उठाउने सपना देख्छौ,
म भोको पेट, नाङ्गो आङ र निराश आँखामा आशा जगाएर देश बचाउन खोज्छु।
तिमी ऐन, कानुन र दफाहरूको लामो व्याख्या सुनाउँछौ,
म एउटा गरिबको ओठमा मुस्कान फुलाउन संघर्ष गरिरहेछु।
तिमी सिंहदरबारको उचाइबाट आदेश जारी गर्छौ,
म जनताको झुपडीभित्र पस्दै उनीहरूको पीडा आफ्नै बनाएर पग्लिन्छु।
तिमी कडा नियम र अनुशासनको रापले मलाई बारम्बार सेक्छौ,
तर म त्यही रापभित्र पसिना, आँसु र समर्पणले भिज्दै,
कागजका अक्षरमा होइन,
मानिसको विश्वासमा सुशासन खोजिरहेछु।
किनकि मेरो विश्वासमा,
सुशासन आदेशले जन्मिँदैन, सेवा र संवेदनाले फक्रिन्छ।
यो दफाको कठोरतामा होइन,
मानिसको जीवनमा आएको सहजता, न्याय र मुस्कानमा जीवित रहन्छ।
त्यसैले म आज पनि राप सहेरै उभिएको छु—
आफ्नो पद बचाउन होइन,
मानवता बचाउन।
इतिहासमा नाम लेखाउन होइन,
जनताको मनमा विश्वास लेखाउन।

प्रकाशित :२०८३ श्रावण १४, बिहीबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry