शिक्षकलाई लागुऔषध दुव्र्यसन पहिचानसम्बन्धी तालिम

झापा। झापामा विद्यालय तहबाट लागुऔषध दुव्र्यसन रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षकलाई दुव्र्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगसम्बन्धी तालिम प्रदान गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत शिक्षकलाई लक्षित गरी उक्त तालिम सञ्चालन गर्न लागिएको हो।
Advertisement 1
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार शिक्षकले विद्यार्थीमा देखिने दुव्र्यसनका प्रारम्भिक सङ्केत समयमा पहिचान गर्न सक्ने, आवश्यक प्रारम्भिक परामर्श दिन सक्ने र सम्बन्धित निकायसम्म समन्वय गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिनेछ। यससँगै युवालाई लक्षित सचेतनामूलक कार्यक्रमसमेत अघि बढाइने उनले बताए।
प्रहरीका अनुसार अभियानका लागि हालसम्म जिल्लाभरका ७१ वटा प्रहरी युनिटका ‘फोकल पर्सन’लाई तालिम दिइसकिएको छ। अभियानअन्तर्गत बिर्तामोड नगरपालिकासँगको सहकार्यमा सामुदायिक तथा संस्थागत विद्यालयमा लागुऔषधविरुद्ध सचेतनामूलक सामग्री र सूचनाका पोस्टर वितरण गरिएको छ।
Advertisement 2
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले लागुऔषधमुक्त समाज निर्माणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र सुरक्षा निकायबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। प्रहरीका अनुसार झापामा हाल थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन्। आर्थिक अपराधपछि जिल्लामा सबैभन्दा बढी दर्ता हुने मुद्दा पनि लागुऔषधसम्बन्धी रहेको प्रहरीले जनाएको छ।








